coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गहनाको लोभमा ६० बर्षीया राधाको हत्या, भारतीय नागरिक पक्राउ

अर्घाखाँँचीको शितगंगा नगरपालिका १० बहखोरकी राधा थापा स्कुले विद्यार्थीलाई चाउचाउ समोसा खुवाउने, विद्यालयकाका स्टाफहरुलाई खाजाका परिकार बनाईदिने र पसलमा आएका ग्राहकलाई मिठो चिया पकाएर खुवाउने गर्थिन्।

बहखोरमा सानो होटल व्यवसाय गर्दै आएकी उनी मिजासिली र हँसिलो स्वभावकी थिइन्। वरिपरीका सबैसँग घुलमिल हुने र हाँसोठट्टा गरेर बसिरहने उनलाई शत्रु लाग्न सक्छन् भन्ने कसैले कल्पना सम्म गर्न सक्दैनथ्यो। कहिल्यै कसैसँग नराम्रो व्यवहार नगर्ने राधाको हत्या भयो भन्दा शायदै पत्याउने कोही थिए। उनका सात गाउँसम्म पनि नराम्रो चाहने कोई थिएनन्। कसलाई पत्तो थियो र सात गाउँ पारीबाट आएर उनको हत्या हुँदैछ। हत्या त परैको कुरा उनीसँग ठुलो स्वरमा सम्म कसैले कुरा गर्नुपर्ने स्थिती नै हुँदैनथ्यो। उनको हत्याले पुरै सिद्धारावासी शोकमग्न छन्।

घरमा दुहुनो नभएकाले उनी दुध लिन अर्को गाउँ जाने गर्थिन्। दैनिक बिहानै उठेर डुम्रीपाटा गाउँमा दुध लिन जाने राधा आइतबार (हत्याको दिन) बिहान पनि सदा जस्तै बिहानै उठेर दुध लिन गइन्। ६० वर्षिय थापा बिहान ९ बजे सम्म पनि दुध लिएर आइनन्। अबेर सम्म दुध लिएर नआएपछि उनीसँगै बसेका साईला छोराले फोन गरे। उनको फोन उठेन। दुध लिन जाने घरमा फोन गर्दा उनी त्यहाँ नगएको थाहा भयो। धेरै बेरको पर्खाइपछी घरपरिवार र आफन्तले खोजी गर्न थाले। खोज्दै जाँदा बाटो मुनी खोल्सीमा राधा फेला परिन्। रगतले लतपत उनको शरीर आफन्तले फेला पार्दा उनको सास गईसकेको थियो।  

स्थानीयले तुरुन्तै प्रहरीलाई खबर गरे। प्रहरी आएर घटना हेर्दा हत्या भएको हुन सक्ने आशंका गरेपछि प्रहरी र स्थानीयले सम्भावित हत्याराको खोजी गर्न थाले। खोजी गर्दै जाँदा शितगंगा नगरपालिका वडा नम्बर ११ को मुन्द्रीबासको जंगलमा (गाउँमा ज्वाँई पर्ने) भारतीय नागरिक २३ वर्षिय सुसान्त सिंहलाई प्रहरीले रगतले कपडा लतपत भएको र गरगहनाको कुटुरो सहित फेला पार्‍यो।  

भारतको हरियाणा घर भएका सिंहले स्थानीय शिवकला परियारसँग बिहे गरेका थिए। बिहेपछी कपिलवस्तुमा डेरा गरी कहिले भारत त कहिले कपिलवस्तु बस्दै आएका उनले ससुराली आउँदा राधाका गरगहना देखेका थिए। गरगहना देखेपछी लोभमा परेका सिंह हत्यासम्मको योजना बनाएर कसैले थाहा नपाउने गरी अघिल्लो दिन राती नै गाउँमा आएर बसेका थिए। हत्या गर्ने दिन बिहान उनी राधा आउने बाटो एकान्त जंगलमा कुरेर बसे। उनलाई देख्नासाथ हँसिया र ढुंगा प्रहार गरेर हत्या गरे र राधाले लगाएका गरगहना लुटेर भागेका थिए।  

गहना लिएर उनी भारत फरार हुने सोचमा थिए। तर, प्रहरी र स्थानीयको सक्रियताले सिंहलाई मुन्द्रीबासको जंगलबाट गरगहना सहित नै पक्राउ भए। सिंहले थापाको शरीरबाट कानमा लगाउने मडहरी, सिक्रि लगायतका सुनका गहना लुटेर लगेको स्थानीय सुधन पौडेलले बताए।

पक्राउ परेका सिंहले राधाको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मुकुन्द रिजालले बताए। उनलाई जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनको भनाई छ। ‘गरगहना लुट्ने उद्देश्यले हत्या भएको पुष्टी भएको छ। अभियुक्तले घटना घटाएको स्विकारेका छन्,डिएसपी रिजालले भने, ‘थप अनुसन्धान जारी छ। अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेका छौं।’

प्रकाशित: १९ पुस २०७९ ०५:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App