८ वैशाख २०८१ शनिबार
समाज

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा कोहलपुरस्थित एक संस्थागत विद्यालयका शिक्षक पक्राउ परेका छन्। 

कोहलपुर–८ बाबानगरमा रहेको  नमुना विद्या सदन माध्यमिक विद्यालयका शिक्षक प्रकाशसिंह ठकुरी पक्राउ परेका हुन्।

पीडित बालिकाले दिएको उजुरीका आधारमा शिक्षक ठकुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। उनले ती छात्रालाई एक वर्षदेखि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।

जबरजस्ती करणी उद्योग गरेको मुद्दा दर्ता भएपछि शिक्षकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले पुष्टि गरे। ‘बुधबार नै कार्यालयमा शिक्षकविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी परेको थियो,’ उनले भने, ‘उजुरीलाई संवेदनशील रुपमा लिँदै तत्कालै प्रहरी परिचालन गरेका थियौँ। आरोपित शिक्षक पक्राउ परिसकेका छन्।’

शिक्षकविरुद्ध जबरजस्ती करणी उद्योगको उजुरी दिन बुधबार अभिभावकसहित विद्यार्थीहरू विद्यालय पोसाकमै इलाका प्रहरी कार्यालय कोहलपुर पुगेका थिए। १७ वर्षीया छात्रालाई शिक्षक ठकुरीले एक वर्षदेखि यौन दुर्व्यवहार गर्ने गरेको भन्दै उजुरी परेको डिएसपी मल्लले बताए। 

‘पीडितले दिएको उजुरी अनुसार एक वर्षयता आरोपित शिक्षकले यौन दुर्व्यवहार गर्ने देखिन्छ,’ उनले भने, ‘उहाँहरूले उजुरी दिनुभएको छ। यसमा अनुसन्धान भइरहेको छ। नयाँ केही कुरा भए केही दिनमा खुल्न सक्छ।’ पछिल्लो पटक शिक्षकले छात्रालाई कोहलपुरमा रहेको एक कार्यक्रमबाट घर फर्किने क्रममा यौन दुर्व्यवहार गरेका थिए।

एक वर्षयता निरन्तर यौन दुर्व्यवहार र मानसिक तनाव दिन थालेपछि छात्राले अभिभावक र केही आफ्ना साथीहरूलाई जानकारी दिएकी थिइन्। ‘पक्राउ परेका शिक्षकले छात्रालाई गलत तरिकाले छुने (ब्याड टच), संवेदनशील अङ्गमा छुने लगायतका क्रियाकलाप गरेको देखिन्छ,’ एक अनुसन्धान अधिकारीले भने, ‘छात्राले अति नै भएपछि अभिभावक तथा साथीलाई भनेको देखिन्छ।’ इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले पीडित छात्राको मेडिकल गरिएको जानकारी दिए। ‘उजुरी परेपछि आरोपितलाई पक्राउ गर्नुका साथै पीडित छात्राको मेडिकल गरेका छौं,’ उनले भने, ‘मेडिकल रिपोर्ट भने अझै आइसकेको छैन।’

छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका शिक्षक ठकुरीलाई बाँके जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने प्रहरी निरीक्षक मल्लले बताए। पक्राउ परेका शिक्षकले अन्य छात्रामाथि समेत यौन दुर्व्यवहार गरेको हुनसक्ने आंशकामा अनुसन्धानसमेत अगाडि बढाएको प्रहरीले जनाएको छ। ‘विद्यालयका अन्य छात्रामाथि समेत यौन दुर्व्यवहार भएको हुनसक्छ,’ एक प्रहरीले भने, ‘गोप्य रुपमा हामीले त्यसतर्फ समेत अनुसन्धान अगाडि बढाएका छौं।’

विद्यार्थी संगठनहरुद्वारा कारबाहीको माग

विद्यार्थी संगठनहरुले समेत छात्रालाई यौन दुर्व्यवहार गर्ने शिक्षकलाई कानुन अनुसार कारबाही गर्न माग गरेको छ। बिहीबार नेविसंघ, अनेरास्ववियू र अखिल (क्रान्तिकारी) बाँकेले संयुक्त विज्ञप्ति जारी गरेर घटनाको निन्दा गर्दै दोषीलाई कारबाहीको माग गरेका हुन्।

‘संयुक्त विद्यार्थी संगठन शैक्षिक संस्थालाई पूर्णरुपमा शान्ति क्षेत्र, शैक्षिक क्षेत्र बनाउन प्रतिबद्ध छ। तसर्थ शैक्षिक संस्थामा हुने हिंसा तथा आपराधिक गतिविधिको घोर विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘विगत लामो समयदेखि कोहलपुर–८ मा अवस्थित नमुना विद्या सदनमा अध्ययनरत छात्रामाथि उक्त विद्यालयका शिक्षकले निरन्तर बाल यौन शोषण गर्दै आएको कुरा जानकारीमा आएकाले संयुक्त विद्यार्थी संगठनको ध्यानाकर्षण भएको छ।’ शैक्षिक संस्था जस्तो पवित्र स्थलमा यस्ता घृणित कार्यले सिङ्गो शैक्षिक क्षेत्रलाई आघात पुगेको संयुक्त विद्यार्थी संगठनहरुले बताएका छन्।

‘यस्ता आपराधिक घटनामा संग्लन जो कोहीलाई पनि कानुनबमोजिम कारबाही गर्न संयुक्त विद्यार्थी संगठन जोडदार माग गर्दछ। यदि प्रशासनले कारबाही गतिलाई ढिलाइ गरेमा संयुक्त विद्यार्थी संगठनले आन्दोलन गर्ने कुरा जानकारी गराउन चाहान्छौं। त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षले लिनु पर्ने छ,’ विज्ञप्तिमा भनिएको छ। 

प्रकाशित: १८ पुस २०७९ ११:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App