१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पालुङटार सिँचाइः नहरको योजना हट्यो, डेढ अर्ब लागतमा ३५ ठाउँमा लिफ्ट सिँचाइ गर्ने

गोरखाको पालुङटार नगरपालिका भित्र रहेको करिब १८ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने गरी ३५ ठाउँबाट पानी लिफ्ट गर्ने योजना अघि बढेको छ। पालुङटारमा सिँचाइ सुविधा पुर्‍याउने गरी सरकारले २०७५ साल मंसिर १६ गते गोरखामा कार्यालय स्थापना गरेर काम थालेको थियो।  

कार्यालयले चेपेदेखि पालुङटार सिँचाइ गर्न करिब ५० किलोमिटरको नहर आवश्यक पर्ने प्रतिवेदन तयार गर्‍यो। चेपेदेखि ५० किलोमिटर नहर बनाउन वर्षौँ समय लाग्ने, धेरै लामो नहर हुँदा पानी चुहावट हुन सक्ने भन्दै २०७७ मा १५ किलोमिटर घटाएर नहर ३५ किलोमिटरमा झारियो।  त्यसयतापनि सिँचाइ आयोजनाको काम अघि बढ्न सकेन।  ३५ किलोमिटर नहर लामो हुने हुँदा निर्माण सम्पन्न गर्न धेरै खर्च लाग्ने, किसानले प्रतिफल तत्काल पाउन नसक्ने र काम गर्न समस्या हुने भन्दै कार्यालयले उक्त योजना पनि परिवर्तन गरेको छ।  

‘नहरबाट पानी पुग्ने सबै ठाउँमा पानी पुर्‍याउन ३५ ठाउँमा लिफ्ट सिँचाइ गर्ने गरी योजना प्रस्ताव गरेका छौँ’ पालुङटार कुन्दुरटार सिँचाइ आयोजनाका प्रमुख दिनेश आचार्यले भने।  कार्यालयले यो प्रस्ताव जलस्रोत तथा सिँचाइ विभागमा पेश गरिसकेको छ।  ‘यो स्वीकृतको चरणमा छ’ उनले भने ‘अध्ययनकालागि विज्ञ समूह विभागबाट गठन भएको छ, उहाँहरू आएर स्थलगत अध्ययन गरेपछि प्रक्रिया अघि बढ्छ। ’  

३५ किलोमिटर नहर भन्दा लिफ्ट सिँचाइ निकै प्रभावकारी हुने उनले दाबी गरे।  १८ सय हेक्टर जमिन सिँचाइ गर्न करिब २५ वटा लिफ्ट मर्स्याङ्दी नदीबाट लिफ्ट गरिनेछ।  बाँकी १० वटा भने ठुला फाँट वरपर रहेको खोलाखाल्सी र खोला नभएको ठाउँमा बोरिङ सम्मको योजना रहेको उनले बताए।  ‘लिफ्टकालागि करिब डेढ अर्ब रुपैयाँ अनुमान गरेका छौँ’ उनले भने ‘समयमै निर्माण सुरु गरिएन भने लागत थपिनेछ। ’

नहर निर्माण गर्दा यो भन्दा धेरै लागत लाग्छ।  निर्माण सम्पन्न गर्न समय लाग्ने, मर्मत खर्चिलो हुने, एक ठाउँमा नहर भत्किँदा सबै बन्द हुने, पानीको चुहावट हुँदा पर्याप्त पानी नपुग्ने समस्या हुने हुँदा लिफ्ट प्रभावकारी हुने प्राविधिकहरू बताउँछन्।  

लिफ्ट गर्दा छिटो निर्माण सकिनेछ।  एउटा लिफ्ट सकेपछि तत्काल किसानले सिँचाइ सुविधा पाउनेछन्।  एक वर्षमा पाँच वटा निर्माण भयो भने त्यो तत्काल सुचारु गर्न सकिने कार्यालय प्रमुख आचार्यले बताए।  ‘एउटा योजना पुरा भयो भने त्यहाँबाट निरन्तर सिँचाइ सुविधा गरेर लाभ लिन सकिन्छ’ उनले भने ‘चार वर्षदेखि रोकिएको आयोजनाले गति लिन्छ, पानीको स्रोत पनि सहज रुपमा जुटाउन सकिन्छ। ’ विद्युतीय लिफ्टबाट सिँचाइ गर्ने प्रस्ताव  गरिएको छ।  ‘सिँचाइमा विद्युत् महशुल छुट दिने सरकारको योजना छ, यसले किसानलाईपनि फाइदा पुग्छ’ आचार्यले भने।  

लिफ्ट योजनाबनेपछि उपभोक्तालाई हस्तान्तरण गरिनेछ।  हस्तान्तरण भएको योजना उपभोक्ताको स्वामित्वमा भएपछि रेखदेख गर्ने र संरक्षणमापनि चासो हुन्छ।  एउटै नहर हुँदा उपभोक्ता धेरै हुने र रेखदेखमापनि समस्या हुन सक्ने पालुङटार कुन्दुरटार आयोजनाका प्रमुख आचार्यले बताउँछन्।  

पालुङटार नगरपालिकाका उपप्रमुख बन्दना पाण्डेले सिँचाइ आयोजना लामो समयदेखि रोकिँदा किसानलाई समस्या भएको बताईन।  ‘आयोजना तत्काल बन्नुपर्छ, यहाँका किसान लाभान्वित हुनुपर्छ हामीले भनिरहेका छौँ, तर लिफ्ट वा नहर कसरी गर्ने भन्ने प्राविधिक पाटो हो, छिटो र सहज हुनुपर्छ भनेका छौँ। ’ मोडालिटीको बारेमा आयोजनाले जानकारी गराउन बाँकी रहेको उनले बताईन।  

विभागबाट स्वीकृत भएलगत्तै चालु वर्षदेखि नै काम थाल्ने योजना सहित प्रस्ताव गरिएको आयोजना कार्यालयले जनाएको छ।  

प्रकाशित: १८ पुस २०७९ ०९:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App