७ वैशाख २०८१ शुक्रबार
समाज

रोजगारीका लागि भारत पुगेका युवाहरू भन्छन्: दैनिक २२ घण्टा काम गर्नुपर्थ्यो, खाने/ सुत्नेकाे पनि ठेगान थिएन

धेरै तलब पाउने आशामा कमाउनका लागि भारतको हरियाणा पुगेका मोरङ सुनबर्षी नगरपालिकाका ४ जना युवाको अवस्था अज्ञात रहेको छ।

उनीहरूको अवस्था थाहा नहुँदा गाउँघरमै निराशा छाएको छ। हरियाणा पुगेका सुनबर्षी नगरपालिका–३ बाहुनडोभ टोलका ९ जना युवामध्ये ५ जना भागेर गाउँ आइपुगेको छन् भने अन्य ४ जनाको अवस्था अज्ञात रहेको उनीहरुले बताए। हरियाणा गएका युवाहरू १७ देखि २५ वर्षसम्म उमेर समूहका रहेका छन्।

दसैँ फूलपातीको २/४ दिन अघि अर्थात् ३ महिना अगाडि राम्रो कमाई हुने आशामा गएका युवाहरू हरियाणाको कैथलस्थित मेलाग्न राईस मिलमा राेजगारीका लागि गएका थिए। काखे बच्चादेखि वृद्ध उमेरका बा-आमालाई छाडेर कमाउन गएका युवाहरूको अवस्था अज्ञात हुँदा घरपरिवारका सदस्यहरूमा निराशा छाएकाे छ। उनिहरू भन्ने गर्छन् 'बरू पैसा चाहिएन, जस्तो गएको त्यस्तै आइदिए मात्र हुन्छ'

सुनबर्षीका १७ वर्षका साइला टुडु, २३ वर्षका राजकुमार टुडु, २४ वर्षका विनोदकुमार राजवंशी, २२ वर्षका महेश हेमरन बेपत्ता भएका छन्। ३१ वर्षका बुद्धिमान टुडु र उसको भाइ २३ वर्षका बुद्राई टुडु मिलबाट भागेर गाउँ आइपुगेका थिए।

उनीहरु आएपछि आफ्नो भाइको खोजीमा गएका महेशका दाइ सक्कलले २० वर्षका संजयकुमार टुडु, १६ वर्षका विक्रम सोरेन र २८ वर्षका मोहन वास्कीसहित नजिकै अर्को गाउँका ५ जना युवालाई फर्काएर ल्याए पनि आफ्नो भाइसहित अन्य आफ्नै गाउँका युवाहरूको पत्तो लागेन। 

त्यहाँका प्रहरीमा खबर गरौँ भने मिल साहुले उल्टै फसाइ देलान् भन्ने डरले त्यसै गाउँ फर्कनु परेको पीडा महेशका दाजु सक्कलले सुनाए। 

भागेर गाउँ आएकाहरूका अनुसार बिहान पख बाक्लो हुस्सु लगेको समयमा गेटमा रहेका एक जना सुरक्षाकर्मी शौचालय गएको र अर्काका एक जना सुतेको मौका छोपेरै भाग्न सफल भएको बताए।

उनीहरु ५ जना मंसिर १०/१२ गतेतिर गाउँ फर्केका आएका हुन्। उनीहरूको अनुसार अझै पनि त्यहाँ नेपालका विभिन्न जिल्लाबाट काम गर्न गएकाहरू धेरैको संख्यामा रहेका छन्। 'धन्न हामीहरू त्यहाँबाट भाग्न सफल भयौँ नत्र हाम्रो अवस्था बिजोक हुने बताउँदै बुद्धिमान टुडुले भने, ‘न खाने न सुत्ने वा आराम गर्ने समय नै थियो। दैनिक २२ घण्टा काम गर्नु पर्थ्यो। बिहान ११ बजेतिर खाना खाएपछि राति १२ बजेतिर मात्रै खान पाइन्थ्यो।’

उनलाइ सेलर मिलमा धान सुकाउने र उठाउने कामका लागि भनेर लगिएको थियो। 

'काम त्यही नै गरियो। यहाँबाट लैजाने ठेकेदारहरूले भारतीय रुपैयाँ प्रति बोरा १० रुपैयाँ पाइन्छ भने त्यहाँ काम गर्न थालेको एक हप्तापछि ६ रुपैयाँ दिने कुरा आयो। त्यसपछि हामीहरू काम छाडेर गाउँ फर्कने भनेपछि उनीहरुले कसैलाई पनि आउन दिएनन्।’ उनले भने।

सुनबर्षीका बेपत्ता भएका ४ जना र भारतबाट फर्केका ५ जनासहित नजिकै अर्को गाउँ अमरदहका सुरेन शर्मा र लुखिराम वाक्सी पनि हरियाणा पुगेका थिए। मोरङको सीमावर्ती भारतको सुन्दरीमोठका कुन्दन शर्मा र तनवीरसम्म सुरेन र लुखिरामले ९ जनालाई पुर्‍याएका थिए। 

कुन्दन र तनवीर श्रमिक लैजाने ठेकेदार रहेको पीडितहरूले बताए। सुरेन र लुखिरामको सम्बन्ध कुन्दन र तनवीरसँग रहेको हुँदा यहाँबाट सुन्दरी मोठसम्म उनीहरुले लगेर पीडितहरूलाई उनीहरूको जिम्मा दिएका थिए। जिम्मा दिए पनि सुरेन र लुखिरामा पनि चामल मिल पुगेका थिए।

पीडित परिवारले सुरेन शर्मा र लुखिराम वाक्सीविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा उजुरी दिएका छन्। पीडितहरूका अनुसार उनीहरुविरुद्ध ४ दिनअघि उजुरी दिए पनि कुनै सुनुवाइ गरिएको छैन। गाउँका युवाहरूलाई पैसाको लोभ देखाएर भारत पुर्‍याएर बेपत्ता बनाएको पीडित परिवारले आरोप लगाएका छन्। 

दाइसँगै भागी आएका बुद्राई टुडुका अनुसार राति १२/१ बजेसम्म काम गर्नुपर्थ्यो। बिहान चिया, बिहान ११ बजे खाना र राती ११ बजे मात्रै खाना पाइने बताउँदै, बुद्राईले भने, ‘बिरामी भइहाले दबाइ खाँदै काम गर्नु पर्थ्यो आराम गर्न पाइँदैन थियो। बाहिरका कसैसँग सम्पर्क हुने माध्यम नै थिएन। शौचालय जाँदासमेत सुरक्षा गार्डसँगै जान्थे। अब आफैँ कल्पना गर्नुहोस् कसरी हामीलाई त्यहाँ काम गराउँदो रहेछ। हामीसँगै गएका अन्य साथीलाई भागौंभन्दा डरले अरु भागेनन्। हामी दाजुभाइ मात्रै भागेर आयौँ।’

धान सुकाउने, उठाउने गरी प्रति बोरा भारतीय रुपैयाँ १० दिने भनेर लगे पनि केही दिनपछि ६ रुपैयाँ मात्रै दिइने मिलका ‘मुन्सी’ले बताए बुद्राईले भने। उनले त्यहाँ जानुअघि कुन्दनले एडभान्स बापत नेपाली रुपैयाँ ९–९ हजार दिएका थिए। त्यो रकम ऋण रहेको र तिर्नुपर्ने वा काम गर्नुपर्ने बाध्यात्मक अवस्था रह्यो। काम गरेर त्यस बराबरभन्दा बढी काम गरिए पनि कुनै रकम मिलले दिएन। सँगै गएका सुरेन र लुखिराम एक सातापछि नै फर्केर आएको बुद्राईले बताए।

भाइ महेश नफर्केपछि खोज्न दाइ सक्कल मिलसम्म पुगेको बताउँछन्। हाम्रो भाइहरूलाई मिलसम्म काम दिलाउन लग्ने सुरेन र कुन्दनलाई समेत भेट्यौँ। उनीहरूसँगै मिलसम्म पुग्यौँ। तर, मिलमा महेश र अन्य ३ जनाको अवस्था पत्ता लागेन। उनीहरूको अवस्था बारे मिलवालाले पनि भन्न सकेनन्। केही पत्ता नलागेपछि निराश हुँदै घर फर्किनुको विकल्प भएन, सक्कले भने।

'भाइ खोज्न मिल पुग्दा त्यहाँ रहेका मेरै गाउँका अन्य भाइ र छिमेकी गाउँका युवाहरुले सँगै फर्काएर लैजान आग्रह गरे, मेरो भाइलगायत गाउँका अन्यको अवस्था पत्ता नलागे पनि उनीहरूको आग्रहलाई स्वीकार गर्दै मिलको मुन्सी र ठेकेदारमध्येको तनवीरसँग कुरा गरेँ। उनीहरुले आफूहरूलाई काम गरेको रकम नदिए पनि यहाँबाट बाहिर जसरी भए पनि निकाल्न भने। मिलको मुन्सीले कामदारलाई विना पैसा लैजान दिने भनिए पनि ठेकेदार तनवीर र कुन्दनले मानेनन्। उनीहरुले ३/४ काम गरेपछि मात्रै लैजानु भने पनि पछि कुरा गर्दै जाँदा अझै १ महिना काममा लगाउने थाहा पाएपछि मुन्सीसँग कुरा गरेर मेरो गाउँका र अमरदहका ५ जना युवालाई फर्काउन सफल भएँ।’ उनले भने।

त्यहाँबाट आउँदा उनीहरुले यत्रो समय काम गरेको एक रुपैयाँ पनि पाएनन्। जाने बेलामा तनवीरले उनीहरुलाई पैसा चाहिए मेरो घर सुन्दरीमोठ आउन भनेको सक्कले बताए। उनले ठेगेदारहरुले यहाँबाट मात्रै नभई अन्य जिल्लाका धेरैलाई त्यहाँ लगेको पाइएको छ। घर फर्कन लाग्दा मिलको मुन्सीले अन्य युवाहरू मिलबाट भागेर अन्यत्र काम गर्न गएको बताएका थिए।

बेपत्ता अवस्थाका महेशकी २१ बर्सिया श्रीमती सुमीले २ वर्षे बच्चा बोकेर आफ्नो श्रीमान् जस्तो गएका थिए, त्यस्तै अवस्थामा फर्के अरु केही नचाहिने बताइन्। 'उ गएदेखि नै सम्पर्क गरेका छैनन्' उनले भिनन्। १ महिनामा कामबाट फर्कने गरी श्रीमान् पैसा कमाउन गए पनि अहिलेसम्म अत्तोपत्ता नलाग्दा धेरै चिन्ताले सताएको छ।

यस विषयमा भारतको राज्यसभाका पूर्व सांसद डाक्टर रामचन्द्र खुन्टियाले हरियाणा सरकारलाई बेपत्ता ४ जना युवाबारे ध्यानाकर्षण गराएको बताए। 

इन्डियन नेशनल टेड युनियन काँग्रेसका केन्द्रीय उपाध्यक्ष डा. खुन्टियाले, हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरलाई पत्राचार गर्दै मिलबाट बेपत्ता भएका श्रमिक नेपाल नपुगेको र उनीहरुका बारे सूचनासमेत उपलब्ध गराउन नसकेको जनाएका छन्। उनले भने, ‘यस विषयमा हरियाणाको श्रम मन्त्री, कमिश्नर र सेक्रेटरीसँगै कुरा गरिसकेको छु। सोमबार दिल्ली फर्किएपछि थप यस विषयमा जानकारी लिने छु। हामीले श्रमिककाबारेमा काम गर्ने हो। आशा गरौँ सबैबारे चाडै जानकारी आउने छ।’

इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख प्रहरी निरीक्षक शैलेश न्यौपानेले अमरदह र झापा चन्द्रगढीका व्यक्तिविरुद्ध उजुरी परेको छ। उनले भने, ‘उजुरी परेकाहरूलाई सोमबार बोलाएर छलफल गर्ने र त्यसपछि मात्रै यथार्थ कुरा आउने भएकोले त्यस अनुसार काम कारबाही हुनेछ। भारतमा काम गर्न जाँदा कम तलब दिएको विषयमा मात्रै उजुरी परेको छ।’

प्रकाशित: १७ पुस २०७९ १४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App