coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

प्रहरीको डर देखाएर बालबालिकाका नर्तसाउन डिआईजी गिरीको आग्रह

प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) सुदिप गिरीले प्रहरीको डर देखाएर बालबालिकाका नर्तसाउन अभिभावकहरुलाई आग्रह गरेका छन्। यस्तो अभ्यासले बालबालिकामा प्रहरीप्रति नकारात्मक भावना प्रेरित हुने समेत उनले बताए। ताप्लेजुङका तीनवटा नवनिर्मित प्रहरी कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रहरी–नागरिक सहकार्यले शान्त र सभ्य समाज निर्माणमा मार्गप्रसस्त गर्ने बताए। नागरिकलाई बर्दी बिनाको प्रहरी र प्रहरीलाई बर्दी सहितको नागरिक पनि भन्ने गरिन्छ। नागरिकसँगको उच्चतम् सहकार्यबाट समाजमा अमनचयन र शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले कुनै कसर बाँकी नराख्नेको उनको भनाई थियो। 

उनले शान्ति सुव्यवस्था कायम गर्दै समाजलाई थप रचनात्मक अभियानमा प्रेरित गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन पनि दिएका छन्। मर्यादित बनेर पेशागत व्यवसायिकता र असल आचारण सहितको सेवा प्रवाहले नागरिकसंगको सहकार्यमा बृद्धि गर्ने गिरीले बताए। डिआईजी गिरीले बिकेन्द्रित प्रहरी कार्यालय र प्रहरी कर्मचारीका लागि स्थानीय तहसंगको सम्वन्ध अझ बढी प्रभावग्राही हुने समेत दावी गरे। उनले भने‘कहाँ बस्ने,कहाँ खाने भन्ने पिरलोले मानसिक रुपमा शान्ति सुव्यवस्था कायम गर्न प्रहरी तयार भएन भने त्यसको गम्भिर असर समुदायमा पर्ने भएकोले त्यो समस्या हटाउन प्रहरीलाई न्यूनतम् पूर्वाधारयुक्त बनाउनु अनिवार्य छ’। नवनिर्मित प्रहरी कार्यालय भवनले कहाँ बस्ने र कहाँ खाने भन्ने समस्या निवारण हुने उनको भनाई थियो। उनले प्रहरी समुदायको सुरक्षाको गहन जिम्मेवारी लिएर बसेको संगठन भएको नाताले प्रहरीका स्थानीय रुपबाटै हल गर्न सकिने आधारभूत आवश्यकताको सम्बोधनमा स्थानीय सरकारसंग सहयोगको याचना समेत गरेका छन्। 

पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनमा बनेको प्रहरी चौकी उद्घाटनका समयमा गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,आठराई त्रिबेणी गाउँपालिकामा पर्ने इलाका प्रहरी कार्यालय दोभानको उद्घाटनका समयमा पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन) र सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङको प्रहरी कार्यालयको उद्घाटनका समयमा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहानले प्रहरीका आधारभूत आवश्यकताको सम्बोधनका लागि पालिका तयार रहेको प्रतिबद्धता जनाए। प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले समाजले खोजी गर्ने सबैभन्दा नजिकको संगठन नै प्रहरी भएकोले यो संगठनलाई मानसिक हिसावले बलियो बनाउन आवश्यक रहेको बताए। न्यूनतम् पूर्वाधार प्राप्त भएका प्रहरी संगठन मात्र शान्ति सुव्यवस्था र अमनचयनका लागि सबै हिसावले तयारी अवस्थामा रहने भएकोले सक्ने सम्मको सहयोगका लागि उनले स्थानीय तहलाई आग्रह गरेका छन्। प्रदेश १ नं प्रहरी कार्यालय बिराटनगरका प्राविधिक शाखा प्रमुख प्रहरी उपरीक्षक९एसपी०अनिल रानाका अनुसार ताप्लेजुङमा एकसाथ तीनवटा नवनिर्मित प्रहरी कार्यालय सञ्चालनमा आएका छन्। जिल्लाको आठराई त्रिबेणी गाउँपालिका–५ चाँगेस्थित इलाका प्रहरी कार्यालय दोभान, सिरिजङ्घा गाउँपालिका–७ खेबाङ प्रहरीचौकी र पाथीभरा याङ्वरक गाउँपालिका–६ थुम्बेदिनमा रहेको प्रहरीचौकीको नयाँ कार्यालय भवन उद्घाटन पछि एकसाथ सञ्चालनमा आएका हुन्। 

एसपी रानाका अनुसार इलाका प्रहरी कार्यालय दोभानको नयाँ भवन ३ करोड ५९ लाख ३० हजार ६२७ रुपैंयाँको लागतमा निर्माण गरिएको हो। यस्तै खेबाङ प्रहरी चौकी भवन एक करोड ८५ लाख ७२ हजार १ सय ५० रुपैंयाँ र थुम्बेदिन प्रहरीचौकी भवन एक करोड ६५ लाख २२ हजार ६ सय ३४ रुपैंयाँको लागतमा निर्माण भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। इलाका प्रहरी कार्यालय दोभानको नवनिर्मित भवनको १५ वटा कोठालाई कार्यालय प्रमुख, प्रशासनिक, सूचना तथा सञ्चार कक्ष, पुरुष तथा महिला हिरासत लगायतमा प्रयोजन गरिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलास राईले जानकारी दिए। यता साना ठूला गरी ११ वटा कोठा रहेको थुम्बेदिन प्रहरी कार्यालय र खेवाङ प्रहरी कार्यालय समान अढाइ तल्ले रहेका छन्। 

उक्त कार्यालयहरु करिव ३ सय ८ वर्गमिटर क्षेत्रफलमा फैलिएको छ भने करिव ११ वर्गमिटरमा तीनकोठे शौचालय र स्नानगृह समेत निर्माण भएको छ। ताप्लेजुङमा जिल्ला प्रहरी कार्यालयबाहेक दोभान, सिरिजङ्गा गाउँपालिका–४ तेल्लोक, फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको याङ्मा र वडा–७ ओलाङ्चुङगोलासमेत गरी चारवटा इलाका प्रहरी कार्यालय रहेका छन्। कारागार कार्यालय, सुकेटार विमानस्थल सुरक्षा गार्ड, जिल्ला प्रशासन कार्यालय सुरक्षा, जिल्ला अदालत सुरक्षा कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय एक–एकवटा रहेका छन्। त्यस्तै १६ वटा प्रहरी चौकी,७ वटा अस्थायी प्रहरी चौकी र ४ वटा अस्थायी प्रहरी पोष्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १६ पुस २०७९ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App