८ वैशाख २०८१ शनिबार
समाज

पाँच लागुऔषध कारोबारी पक्राउ

धरान–दुई दिनको अवधिमा प्रहरीले लागु औषध कारोबारमा संलग्न ५ जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भुक्तान गरिसकेकासमेत छन्।

प्रहरीले बुधबार धरान ११ मंगलबारेबाट सानो भाइ भन्ने वीरबहादुर भुजेलको घर खानतलासी गर्दा अवैध काठसहित लागुऔषध बरामद गरेको हो। घर अगाडि भान्सा घरभित्र लुकाई राखेको सखुवाको २२ कि.बि.चिरान काठ बरामद गरेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ। यस्तै, पहलेको कलरको डाल्डा (घिउ) हाल्ने ड्रममा लुकाएर माटोमुनि गाडेको अवस्थामा अवैध लागुऔषध फेला परेको डिएसपी ढकेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । ड्रमभित्र नगद ४८ हजार ५ सयसहित डाइजेलाव ६९ एम्पुल, लुपिजैसिक ६९ एम्पुल र एभिल ६९ एम्पुल वरामद भएको उनले बताए । भुजेल लागुऔषध मुद्दामा पक्राउ परी दुई वर्ष जेल सजाय भुक्तान गरेर एक वर्षअघि मात्र छुटेका थिए। उनलाई  अवैध काठ, लागुऔषधसहित म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यसैगरी, सोही दिन धरान १५ स्थित विशाल चौकमा लागुऔषध बिक्री भइरहेको सूचनाको आधारमा लागुऔषधसहित ३ जना पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ। पक्राउ पर्नेमा विराटनगर– ६ मोरङका ३० वर्षीय सन्तोष मण्डल, धरान– ३ का २४ वर्षीय आकाश भन्ने कमल सहनी र २७ वर्षीय मनोज तामाङ रहेका छन्। उनीहरुको साथबाट अवैध १०० एमएलको कोरेक्स ३५ बोतल, स्पास्मोप्रोक्सिन ५ सय ७६ एम्पुल र को ५ प ५३३८ नम्बरको मोटरसाइकल वरामद गरी अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए ।

यस्तै, बिहिबार धरान ८ स्थित बरगाछी चोकबाट धरान ११ का १७ वर्षीय सुरेन गिरीलाई पनि लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ। विशेष सूचना पाएर गएको प्रहरी टोलीले गिरीलाई नियन्त्रणमा लिएर खोजतलाश गर्दा उनले दाँया खुट्टाको तिघ्रामा र दुवै हातको काखीमा लागुऔषध बाधेको अवस्थामा फेला परेको थियो । उनको तीघ्राबाट डाइजेलाव १० एम्पुल, लुपिजैसिक १० एम्पुल र एभिल १० एम्पुल प्रहरीले वरामद गर्यो। यस्तै, दुवै काखीबाट डाइजेलाव २० एम्पुल, लुपिजैसिक २० एम्पुल र एभिल २० एम्पुल वरामद गरेर अनुसन्धान भइरहेको डिएसपी खतिवडाले बताए।

 

प्रकाशित: २५ असार २०७३ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App