७ वैशाख २०८१ शुक्रबार
समाज

नारायणगढ–गोन्द्राङ सडक: एक सय ६० घर भत्काउन सुरु

नारायणगढस्थित सहिद चोकको मुख्य राजमार्गमै प्रेमकुमार श्रेष्ठका पाँचवटा घर छन्। उनले तीन वर्षअघि महानगरपालिकाबाट नक्सा पास सम्पन्न भएको प्रमाणपत्र लिएका थिए, तर शुक्रबार पाँचैवटा घरमा डोजर चल्यो। ‘महानगरपालिकाले भनेअनुसार नै घर बनाएको थिएँ’, डोजरले भत्काइरहेको आफ्नो घर हेर्दै श्रेष्ठले भने, ‘साइडका अरूका घर भत्काएको छैन। इगो राखेर मेरा घर भत्काइयो।’

सडक डिभिजन कार्यालय भरतपुरले सडक सीमाभित्र पर्ने भौतिक संरचना हटाउन सूचना सार्वजनिक गरेको थियो, तर आफ्नो घर नभत्किनेमा उनी ढुक्क थिए। ‘२०७६ सालमा घरको सम्पन्न भएको प्रमाणपत्र लिएको हुँ’, उनले अचम्म मान्दै भने, ‘कसरी मेरो घर पर्‍यो ?’

नारायणगढ बजारमा सडक सीमा खाली गर्ने भन्दै २०७१ सालमा पनि डोजर लगाइएको थियोे। त्यसपछि उनले महानगरपालिकाको निर्देशनअनुसार घर बनाएका थिए। तर महानगरपालिकाले दोस्रोपटक फेरि डोजर चलाएको छ। नौ वर्षअघि बजार क्षेत्रका अधिकांश घर भत्काएको थियो। त्यतिखेर नारायणघाट बजार क्षेत्रका अधिकांश घर भत्किएका थिए। अहिले २०७१ पछि नक्सा पास गरेर बनाइएका संरचना पनि डोजरको निसानामा परेका छन्।

चितवनको नारायणगढ–गोन्द्राङमा ६ लेन सडक विस्तारका लागि घर भत्काउन थालिएको हो। सडक क्षेत्रभित्र परेका घर शुक्रबारदेखि भत्काउन सुरु भएको छ। सडक डिभिजन कार्यालय भरतपुरले नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्मको सडक विस्तारका क्रममा एक सय ६० भन्दा बढी घर भत्काउनका लागि सिमांकन गरेको छ।

‘नारायणगढदेखि गोन्द्राङसम्मको मुख्य राजमार्गमा ५८ वटा घर पिलरभित्रै परेका छन्। सयभन्दा बढी घरका पेटी र बरन्डा सडकमा परेका छन्’, सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर राजीव मानन्धरले भने, ‘ती घर भत्काउन सुरु गरेका हौं।’ कार्यालयले दुई वर्षदेखि नै सडक क्षेत्रमा बनेका भौतिक संरचना हटाउन निर्देशन दिएको थियो। त्यसपछि दुईपटक सूचना निकालेर घरटहरा भत्काउन लागिएको हो। ‘हामीले धेरै वर्षदेखि सडकमा बनेका संरचना हटाउन भनेका हौं। पछिल्लो समय ३५ दिने सूचना र १५ दिने सूचना निकालेर हटाउन अनुरोध गरेका थियौं’, उनले भने, उहाँहरूले हटाउनुभएन। हामीले नै डोजर चलाउनुपर्‍यो।’

मुख्य राजमार्ग ५० मिटरको रहने व्यवस्था छ। सोहीअनुसार राजमार्गको बीच भाग दायाँ २५ बायाँ २५ मिटर छाड्नुपर्ने हुन्छ। सडकभित्र पर्ने संरचना हटाउने सडक डिभिजन कार्यालय चितवनले जानकारी दिएको छ। हाल दुई लेन रहेको ६ किलोमिटर सडक खण्डलाई ६ लेन बनाउन लागिएको हो। सडक सीमा ५० मिटरको चौडाइलाई प्रयोग गरेर सडक निर्माण गरिने छ।

सडक विस्तारका लागि २०७७ असोज २६ गते इन्डो–सगुन–रौताहा जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार आगामी फागुन १० सम्म कम्पनीले सडक विस्तार गरिसक्नुपर्ने छ।

एक अर्ब १३ करोडको लागतमा विस्तार हुने पुल्चोक–गोन्द्राङ सडक ६ लेनको हुँदैछ। सडकको दायाँबायाँ ११.५–११.५ मिटर कालोपत्र हुने छ भने सडकको बीचमा तीनदेखि चार मिटरको मेडियन, मुख्य सडकछेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन रहने छ। साथै तीनदेखि चार मिटरको फुटपाथ हुने छ भने सडकको बीचको मेडियन र सर्भिस लेनको डिजाइन तीन खण्डमा फरक–फरक हुने छ। पुल्चोकबाट लायन्सचोकसम्म, लायन्सचोकबाट क्याम्पस गेट र क्याम्पस गेटबाट गोन्द्राङसम्म फरक–फरक डिजाइन रहने सडक डिभिजन कार्यालयले जानकारी दिएको छ। अहिले गोन्द्राङदेखि हाकिमचोकसम्म कालोपत्रे भइसकेको छ। आयोजनाका अनुसार ६० प्रतिशत काम सम्पन्न भएको छ। बजार क्षेत्रमा घरटहर पर्दा काम गर्न समस्या भएको आयोजनाको दाबी छ।

प्रकाशित: १० पुस २०७९ ०१:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App