१६ चैत्र २०८० शुक्रबार
समाज

जबरजस्ती होर्डिङ बोर्ड राख्दा स्थानीय विरोधमा

काठमाडौं-विज्ञापन कम्पनी एपेक्स नेपालले जावलाखेल चोक छेउको बालवृद्ध पार्कमा ५ सय वर्गफिटको एलइडी डिजिटल स्क्रिन राख्न जबरजस्ती गरिरहेको निर्माणको स्थानीयले विरोध गरेका छन्। पार्कमा डिजिटल होर्डिङ स्क्रिन राख्न नमिल्ने भन्दै स्थानीयले विरोध गरे पनि ललितपुर उपमहानगरपालिकाको आडमा एपेक्सले स्थानीयको बेवास्ता गर्दै निर्माण अघि बढाएको हो।
रातो मछिन्द्रनाथको रथ राख्ने ठाउँ ललितमण्डप अगाडि डिजिटल बोर्ड राख्ने प्रयास गरेको एपेक्सले स्थानीयको कडा विरोधका कारण रोकेको थियो । त्यसपछि उपमहानगरपालिकाले स्थानीयको सहमति भन्दै केही व्यक्तिको सहमति लिएर ललितमण्डपकै छेउस्थित बालवृद्ध पार्कका बोटविरुवा फाँडेर एपेक्सद्वारा जबरजस्ती डिजिटल बोर्ड राख्ने प्रयास गरिएको स्थानीयले दाबी गरेका छन् ।
‘मछिन्द्रनाथ जात्रामा नै असर पर्ने गरी बोर्ड निर्माण हुन लागेकाले विरोध गरेपछि रोकेको थियो,’ स्थानीय तथा जावलाखेल संरक्षण समूहका संयोजक क्षितिज खड्काले भने, ‘अहिले पार्कमा जबरजस्ती बोर्ड राख्ने प्रयास भैरहेको छ, जहाँ भोटो देखाउने जात्राकै दिन मिननाथको रथ राख्न असर पर्छ ।’ उनका अनुसार आर्थिक चलखेल गरेर राख्न नमिल्ने ठाउँमा उपनगरपालिकाले बोर्ड राख्न एपेक्सलाई अनुमति दिएको हो ।
बोर्ड उपनगरपालिकाको सहमतिमा एपेक्स नेपालले राख्न लागेको हो । एपेक्सले बोर्डमा राख्ने डिजिटल विज्ञापनबाट वार्षिक एक वर्गमिटर बराबर ५ सय रुपैयाँ राजस्व लिने सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ । ५ सय वर्गफिटको बोर्डबाट उपमहानगरले वार्षिक २ लाख ५० हजार राजस्व पाउँछ ।
‘बोर्ड राख्न नदिने नियत होइन,’ स्थानीय तथा संरक्षण समूहका सदस्य मानव सेवकले भने, ‘हाम्रो ऐतिहासिक ठाउँ, जात्रा र चाडपर्वलाई असर पर्ने गरी नराखियोस् मात्र भनेका हौं ।’ समूह बोर्ड नराख्न दबाब दिँदै उपमहानगर, जिल्ला प्रशासन लगायतका निकायमा समेत पुगिसकेको छ । तर सम्बन्धित निकायले चासो नदिएपछि अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग जाने तयारी भइरहेको संयोजक खड्काले बताए ।
उपमहानगरपालिकाले भने स्थानीयको सहमति जुटाएर बोर्ड निर्माण थालेको दाबी गरेको छ । ‘प्रक्रिया पु¥याएरै स्थानीयको सहमतिपछि बोर्ड निर्माण थालेका हौं,’ उपमहानगरका कार्यकारी अधिकृत भरतमणि पाण्डेले भने, ‘केही स्थानीयले विरोध गरेका छन् । तर सबै प्रक्रिया पूरा गरी निर्माण थालिएकाले विरोध गर्नुको कुनै अर्थ छैन ।’
पाण्डेकानुसार स्थानीय टोलसुधार समितिकै सहमतिमा बोर्ड निर्माण थालिएको हो । स्थानीय टोल सुधार समिति जावलाखेल संरक्षण तथा सुधार समितिले पनि बोर्डको आवश्यकता देखेरै सहमति दिएको जनाएको छ । ‘ललितमण्डप अगाडि राख्न खोज्दा रोक्यौं । तर पार्कछेउ राख्न भने सहमति जनाएका हौंं,’ समिति अध्यक्ष रक्षाबहादुर क्षत्रीले भने, ‘समिति बाहिरका केही साथीले हामीलाई पैसा खाएर सहमति दिएको आरोप लगाइरहेका छन तर त्यस्तो आर्थिक चलखेल भएको छैन ।’ उनका अनुसार सार्वजनिक ठाउँमा बोर्ड राख्दा कसैले टाउको दुखाउन आवश्यक छैन । ‘जात्रामा र रथ राख्न बोर्डले कुनै असर गर्दैन,’ उनले भने ‘जात्राका बेला विज्ञापन रोक्न लगाउछौं ।’
तर संरक्षण समूहले चाड पर्व र जात्रा नै अवरोध हुने गरी सार्वजनिक ठाउँमा जबरजस्ती बोर्ड निर्माण थालिएको बताउँछ । ‘टोल सुधार समितिका सीमित र नामै नसुनेका व्यक्तिको सहमतिले कसरी प्रक्रिया पुग्छ ?,’ खड्काले भने, ‘सबै स्थानीय विरोधमा उत्रेका छन् । यसमा ठूलै आर्थिक चलखेल छ ।’ स्थानीय जावलाखेल युवा क्लबसँग पनि सहमति नलिएको क्लबका उपाध्यक्ष श्याम भण्डारीले जानकारी दिए । स्थानीयसँग छलफल गरेर राख्नुपर्नेमा स्थानीय, संस्था तथा सरोकारवालासँग छलफल नगरी एकलौटी बोर्ड राख्ने प्रयास भइरहेको भण्डारीको भनाइ छ ।
होर्डिङ बोर्डले राजधानी कुरुप भएको र दुघर्टना बढाएको भन्दै केही वर्ष पहिले सरकारले होर्डिङ बोर्ड हटाउन निर्देशन दिएको थियो । ‘सरकारकै निर्देशन अनुरुप होडिङ बोर्ड हटाउँदै जाने र डिजिटल बोर्ड थप्दै जाने उपमहानगरपालिकाका कार्यकारी अधिकृत पाण्डेको योजना छ ।

 

प्रकाशित: १९ असार २०७३ ०२:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App