भक्तपुरमा बलात्कारको घटना बढेको पाइएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले बुधबार गरेको एक वर्षे घटना सार्वजनिक एवं नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को वार्षिक पूर्व समीक्षा कार्यक्रममा इन्सेक भक्तपुर प्रतिनिधि रमेश गिरीले उक्त तथ्याङ्क सार्वजनिक गरेका हुन्।
इन्सेकले सङ्कलन गरेको तथ्याङ्क अनुसार सन् २०२२ जनवरीदेखि डिसेम्बर २१ सम्मको एक वर्षको अवधिमा यो तथ्याङ्क बढेको हो। यस अवधिमा महिला तथा बालिका गरी ५१ जना बलात्कारबाट पीडित भएका छन्। चार जना बलात्कार प्रयासबाट र तीन जना बालिका बाल यौन दुर्व्यवहारबाट पीडित भएका छन्।
भक्तपुरमा एक वर्षको अवधिमा हत्या, बलात्कार तथा बलात्कार प्रयास, बाल यौन शोषण तथा दुर्व्यवहार, बहुविवाहलगायतका एक सय ७९ वटा मानव अधिकार हनन एवं ज्यादतीका घटना भएको तथ्याङ्क सार्वजनिक भयो। यस अवधिमा आठ जनाको हत्या भएको छ। १५ जनाको हत्या प्रयास भएको छ। ७० जनामाथि अभद्र व्यवहार, एक जनामा जातीय छुवाछुतबाट पीडित भएका छन्। त्यस्तै बहुविवाहबाट १५ जना महिला पीडित भए। मानव बेचबिखनबाट पाँच जना, घरेलु हिंसाबाट चार जना, आत्महत्या दुरुत्साहनमा चार जना पीडित भए।
भक्तपुरमा यो वर्ष एक सय ५३ जनाले आत्महत्या गरेका छन्। आत्महत्याको अवस्था विकराल बन्दै गएको छ। एक सय ६८ जनाको यो वर्ष सम्बन्ध विच्छेद भएको छ। त्यस्तै महिला, पुरुष र बालबालिका गरी यो वर्ष चार सय ४४ जना हराएकोमा चार सय २४ जना फेला परेका छन्।
यस अवधिमा गत वर्ष हत्या ८ जनाको हत्या, ३२ जना बलात्कारबाट, घरेलु हिंसाबाट ४८ जना पीडित भएका थिए। भक्तपुरमा बलात्कार, हत्या र आत्महत्या डरलाग्दो रुपमा वृद्धि भएको इन्सेकले जनाएको छ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले ७५ प्रतिशत हिंसा घरभित्र, आफन्त र चिने जानेका बाटै हुने गरेको बताइन्। १८ वर्ष मुनिको बालिकाहरू बढी पीडित हुने गरेको उनले बताइन्।
बहुबिवाह र बालविवाह लगायत महिला हिंसाबाट जन्मिएका धेरै बालबालिका जोखिममा परेको बताउँदै उनले मानव अधिकार संरक्षणका लागि घरघरबाटै सचेत हुनु पर्नेमा जोड दिइन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक प्रजित केसीले बालश्रमका घटना भने प्रहरीसम्म नआउने गरेको बताए। त्यस कारण स्थानीय तहले त्यसमा निगरानी गर्नुपर्नेमा उनले जोड दिए।
प्रकाशित: ६ पुस २०७९ १३:५९ बुधबार