८ वैशाख २०८१ शनिबार
समाज

चाउचाउको तरकारी पाक्ने भान्सामा हरियो तरकारी

घरघरमा निर्माण गरिएका करेशावारी।

अघिल्ला बर्ष सम्म पाहुना आउँदा यहाँका स्थानीयहरूका घरमा चाउचाउको तरकारी पाक्थ्यो। तरकारी उत्पादन नहुनु मुख्य समस्या रहेको थियो। ‘अलिअलि उत्पादन भएको काउली बन्दा बजारमा बेचेर स्वाईबिनको तरकारी ल्याउँथ्यौ।’ रुकुम पश्चिम बाफिकोट गाउँपालिका १ लागिमकी देउसरा गिरीले भनिन् ‘पाहुना आउँदा ढिँडो/रोटी सँग चाउचाउको तरकारी दिन्थ्यौ।’ उनी जस्तै त्रिवेणी ४ छोटेकोडाकी कलि खड्काले गाउँमा केही समय अघिसम्म तरकारीका रुपमा चाउचाउ प्रयोगमा आउने गरेको बत्ताइन्।

मुसिकोट ८ काक्रिबासकि रामकुमारी खड्काले पनि केही समय अघिसम्म गाउँमा तरकारी खेती नहुने भएका कारण सितनका रुपमा स्थानीयको रोजाई चाउचाउ हुने गरेको बत्ताइन्। तर अहिले अहिले यहाँ महिलाहरूको सक्रियतामा घरघरमा करेसाबारी निर्माण भएका छन्। 

अहिले त गाउँमा सिजन अनुसारका सबै खाले तरकारी खेती हुने गरेको छ । घरमा रहेको करेसाबारीले आफूलाई खान मात्र हैन बिक्री गरेर आम्दानी समेत दिने कृषकहरू बताउँछन्। यति बेला त्रिवेणीका कृषकहरूले  समय समयमा तरकारी बिक्री गर्ने बजार समेत नपुग्ने गुनासो गर्ने गरेका छन्।

केही बर्ष देखि महिला पुनर्स्थापना केन्द्र ओरेकले तरकारी खेतीमा आर्थिक सहयोग र प्राविधिक जानकारी दिए सँगै आफुहरु तरकारी खेतीमा लागेको महिला कृषकहरूले बताए। ‘ओरेकका कर्मचारीले तरकारीको महत्त्व बुझाए पछि घरमा खाने मात्र नभएर बिक्री गर्नेसम्मको तरकारी फलाउन थालेका छौ।’ देउसराका अनुसार स्वास्थ्यका लागि सन्तुलित भोजन नै खानुपर्छ भन्ने सिके पछि महिलाहरूको अगुवाइमा घरघरमा करेसाबारी निर्माण सुरु गरिएको हो। ‘बीउ र बिरुवा उत्पादनको काम पनि करेसाबारीबाटै गरिरहेका छौं।’

करेसाबारी थालेका महिलाहरू ब्यबसायिक बन्न थालेपछि तरकारी संकलन केन्द्रको समेत स्थापना गरिएको छ। वडा कार्यालयको सहयोगमा बनेको तरकारी संकलन केन्द्रमा महिला पुनःस्थापना केन्द्र ओरेकले प्राविधिक सहयोग गरेको हो। ओरेकका कामको अनुगमन गर्न गएकी बाफिकोट गाउँपालिकाका उपाध्यक्ष तारा बुढा केसीले पछिल्लो समय महिलाहरू सक्रिय भएर लागेको बत्ताइन्। भान्साको जिम्मा लिएका महिला आफैँ सक्रिय भएपछि हरेकको चुलोमा पौष्टिक युक्त तरकारी पाक्ने गरेको जनप्रतिनिधिहरू बत्ताउँछन्।

महिलाको अगुवाईमा तरकारी खेती फस्टाएको हेर्न गाउँ पुगेका जिल्ला समन्वय समिति रुकुमका प्रमुख लुम्बिनी गौतम, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, गणेश कुमार केसी, बाफिकोट गाउँपालिकाका उपाध्यक्ष तारा बुढा केसी लगायतका जनप्रतिनिधिले स्वरोजगारमा चासो दिने बताए।

जिल्ला समन्वय प्रमुख गौतमले महिलाहरूको व्यवसाय बढाउन पालिकाहरू सँग समन्वय गर्ने बताईन। ‘अरूका भर पर्ने हैन आफ्नो खुट्टामा उभिनु पर्छ। यात्रु सँगै चाउचाउ आएका गाडीमा अब तरकारी भरेर पठाउनु पर्छ।’

गैर सरकारी संस्थाको कार्यक्रम अनुगमन गर्न गाउँ पुगेका जनप्रतिनिधिहरूले महिलाहरू धेरै सक्रिय भएको स्वीकार गर्दै महिलाका क्षेत्रमा काम गर्ने प्रतिबद्धता समेत गरेका थिए। ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले पछिल्लो समय महिलाहरूको जीवनस्तर फेरीएको बताउँदै स्थानीय सरकार सँगको समन्वयमा गरिएका गतिविधिले कार्यक्षेत्रमा सकारात्मक प्रभाव समेत परेको बताईन। ‘हामीले महिलाहरूलाई प्राविधिक सहयोग सँगै बिउ पुजी पनि दिएका छौ।’ धितालले थपिन ‘तरकारी खेतीले मनग्ये आम्दानी हुन थाले पछि यो पेसा महिलाहरूको रोजाई बनेको छ।’

प्रकाशित: ३ पुस २०७९ १३:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App