१६ चैत्र २०८० शुक्रबार
समाज

चार किलोमा फेरि पहिरो, नारायणगढ मुग्लिन सडक अवरुद्ध

चितवन–मुग्लिनदेखिपूर्व नारायणगढतर्फ चार किलो भन्ने ठाउँमासोमबार बिहानै पहिरो जाँदा नारायणगढ मुग्लिन सडक खण्डमा यातायात आवागमन अवरुद्ध भएको छ। बिहान चार बजे पहिरो गएसँगै यातायात रोकिएको नारायणगढ मुग्लिन सडक निर्माण आयोजनाले जनाएको छ। सो सडक खण्ड विस्तारकालागि पहाड काटेको ठाउँमा वर्षा लागेसँगै पहिरो गएर दुख दिन थालेको छ।

 चार किलोमा यसअघि मंगलबार राति र बुधबार रातिपनि पहिरो गएको थियो। मंगलबार राति गएको पहिरो सात घण्टापछि बुधबार बिहान नौ बजे सफा गरेर गाडी खुलाइएको थियो। त्यसको १२ घण्टापछि बुधबार राति नौ बजे फेरि चार किलोमै पहिरो गएर अवरुद्ध भएको सडक १४ घण्टापछि बिहीबार मध्यान्ह ११ बजे मात्रै खुलेको थियो। आज चार किलोका साथै जलबिरे, केराबारी र गाइघाटमा पनि सामान्य पहिरो गएको छ ।

बिहान आठ बजेभित्रै सडक चालु गर्ने उद्देश्यले पहिरो पन्छाउने काम सुरु भएको सडक निर्माण आयोजना कार्यालयले जानकारी दिएको छ। नारायणगढदेखि १७ किलो मिटर परको गाइघाट, २२ किलो मिटर परको घुमाउने, २७ किलो मिटर परको जलबिरे र ३३ किलो मिटर परको कालिखोलासम्मको सडक खण्ड पहिरोको उच्च जोखिममा रहेको सडक निर्माण आयोजनाले जानकारी गराएको छ ।

सो क्षेत्रमा कुनै पनि खालको मानवीय र अन्य भौतिक क्षति नहोस भन्ने चाहनाले सवैलाई सजग भएर यात्रा गर्न अपिलसमेत गरिएको छ । वर्षा भएका बेलामा र रातमा सो सडक खण्ड भएर यात्रा गर्दा पहिरो जाने क्षेत्रमा गाडी रोक्ने र लाइनमा बस्ने काम नगर्न आयोजनाको अनुरोध छ। ससाना ढुंगा खसेको वा केही बग्दै गरेको टाढाबाट देखेपछि गाडी परै रोकेर सुरक्षित भएमा मात्रै अगडाी बढ्न सुझाव दिइएको छ ।

पहिरो गएर बाटो रोकिएमा जानकारी दिनु पर्ने सम्पर्क व्यक्तिहरुको फोन नम्बर पनि आयोना कार्यालयले सार्वजनिक गरेको छ । मुग्लिनदेखि सिमलतालसम्म बाटो रोकिएमा राजन दाहाललाई ९८४२८२५५१४/९८०७७१९३१५ मा शोभाकान्त खनाललाई ९८५११५१७२६ मा सम्पर्क गर्न भनिएको छ । सिमलतालदेखि दासढुंगासम्म बाटो बन्द भएको अवस्थामा वासु पौडेल ९८४९४४९५४३ घर निमा लामा ९८४१९४४९७० मा सम्पर्क गरेर जानकारी लिन दिन आग्रह गरिएको छ ।

 

 

प्रकाशित: १३ असार २०७३ ०४:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App