coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

नगर प्रमुखकै मिलेमतोमा नगरपालिकाको लाखौँ रुपैयाँ स्वाहा

रौतहटको माधव नारायण नगरपालिकामा तजबिजमै पौने दुई करोड रुपैयाँ स्वाहा भएको देखिएको छ।

नगरपालिकामा सामान खरिदका लागि लाखौँको बिल भुक्तानी भइसकेको देखिए पनि सो अनुसारको सामान आपूति भने नभएको पाइएको छ। नगरपालिकाले विभिन्न कार्यक्रमको तयारी भन्दै होटलमा लाखौँ रुपैयाँ खर्च गरेको भेटिएको छ।

कार्यक्रमको नाममा विभिन्न होटलमा लाखाैँ खर्च भएको बिल (भुक्तानी रसिद) भएता पनि होटलमा भने कार्यक्रम संचालन नभएको भेटिदा माधव नारायण नगरपालिकामा करोडौँ रकम हिनामिना भएको आरोप लागेको छ।

रौतहटको गौरमा रहेको राज होटलको ४ लाख ९ हजार तिन सय, चन्द्रनिगाहपुरमा रहेको एन प्लाजाको २ लाख ४३ हजार र चन्द्रनिगाहपुरकै पशुपति होटलको ४६ हजार रुपैयाँ भुक्तानी भएको छ।

होटलमा कुनै कार्यक्रम नै नभएको तर कार्यक्रमको तयारीको लागि नगर प्रमुखको आदेशमा होटलहरुको भुक्तानी दिइएको लेखा प्रमुख रामबलम यादवले बताए। नगर प्रमुखले दिएको आदेश मान्नुपर्ने बाध्यता भएको लेखा प्रमुख यादवको भनाइ छ।

लेखा प्रमुख यादवले आफू निर्दोष रहेकाे आशय व्यक्त गरेता पनि नगरपालिकामा नगर प्रमुख बैजुनाथ यादव, प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी तथा लेखा प्रमुख रामबलम यादवको मिलेमतोमा नै नगरपालिकाको करोडौँ रुपैयाँ तजबिजमै स्वाहा भएको स्थानीयको आरोप छ।

लेखा प्रमुखले योजना शाखाका कर्मचारीलाई नमिलाई नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर नगरपालिकाको सबै कमिसन खान थालेपछि विवाद बाहिर आएको बुझिएकाे छ।

नगरपालिकामा लेखा शाखा र योजना शाखाबिच व्यापक विवाद रहेको छ। लेखा शाखाको केही महत्त्वपूर्ण कागजपत्र हराएको भन्दै प्रहरीको सहयोगमा खोजतलास गरिएपछि उक्त कागजपत्र योजना शाखाबाटै बरामद भएको थियो। यस विषयलाई लिएर नगरपालिकामा विवाद चुलिए सँगै लाखौँ रकम पेस्कीमा गएको पनि खुलासा भएको छ।

नगरको योजना शाखा प्रमुख कृष्ण नन्दन यादव र लेखा शाखा प्रमुख रामबलम यादवबिच चुलिएको विवादले नगरपालिकामा भइरहेको अनियमितताको पोल खुल्न थालेको स्थानीयहरूको भनाइ छ।

कार्यक्रमको अत्तोपत्तो नभए पनि नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको मिलेमतोमा ३५ लाख रुपैयाँभन्दा बढी कर्मचारीहरूले पेस्की लिएको पाइएको छ।

प्रशासन शाखा प्रमुख पृथ्वी नारायण यादवको नाममा १२ लाख, निमित्त प्रमुख प्रशासकीय अधिकृत मिश्रीलाल साहको नाममा ८ लाख ५० हजार, करारका कार्यालय सहयोगी अर्जुन साहको नाममा ८ लाख र करारकै अर्का कर्मचारी राजेश पण्डितको नाममा ७ लाख रुपैयाँ पेस्की भुक्तानी दिइएको छ।

नगरपालिकामा फर्निचर, कपडा, सोफाजस्ता सामग्री नआए पनि लाखौँ रुपैयाँको भुक्तानी दिइएको देखिएको छ। नगरपालिकाले चन्द्रनिगाहपुर तथा गौरमा रहेको विभिन्न सप्लायर्सको नाममा लाखौँ भुक्तानी दिइएको देखिएको हो।

नगर प्रमुखमा यादव आएदेखि नगरपालिकाको एक करोड छ्यहत्तर लाख रुपैयाँ तजबिजमै खर्च भइसकेको कर्मचारीहरुकै भनाइ रहेको छ।

नगरपालिकाको एक कर्मचारी भन्छन् – सबै कुरा कागजमै मिलाएर बिल भर्पाई पेश गरी नगरपालिकाको लाखौँ रकम स्वाहा भएको छ। नगर प्रमुख बैजुनाथ यादवले भने नगरपालिकामा भएको अनियमितताको विषयमा भेटेर कुरा गर्ने भनी टालेका छन्।

प्रकाशित: २ पुस २०७९ १४:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App