coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आँखा उपचारका लागि भारतीय नागरिक नेपालमा

रौतहट सदरमुकाम गौर आँखा उपचारको लागि हब बन्दै गएको छ। नेपाल र भारतका सयौँ आँखा रोगीहरू हरेक दिन गौरका विभिन्न आँखा अस्पतालमा आउने गरेसँगै भरपर्दो आँखा उपचारको हब बन्दै गएको पुष्टि हुन्छ।

केही दशक पहिले गौरको पुरेनवामा खुलेको गौर आँखा अस्पतालले प्रारम्भदेखि नै गुणस्तरीय सेवा दिन थालेपछि नेपालीका साथै भारतीय आँखा रोगीहरू पनि आकर्षित हुन थालेका हुन्। गौर आँखा अस्पतालका साथै सदरमुकाममा निजी तथा अर्ध सरकारी मोडेलमा आधा दर्जनभन्दा बढी आँखा अस्पताल तथा उपचार केन्द्रहरू रहेका छन्।

आँखा उपचारको क्षेत्रमा प्रतिस्पर्धा भएपछि सदरमुकाम गौरमा गुणस्तरीय सेवा सस्तो मूल्यमा हुन थालेको हो। सेवाको गुणस्तर तथा मूल्य दुवैमा प्रतिस्पर्धा हुँदा दैनिक सयौँ आँखा रोगीहरू उपचारका लागि यहाँ आउने गरेका छन्। गौरका आँखा अस्पतालहरू यतिखेर भरिभराउ हुने गरेका छन्।

भारत उत्तर प्रदेशको गोरखपुरबाट आँखा उपचार गर्न गौर आइपुगेका शेख दाउद भन्छन् – भरपर्दो र गुणस्तरीय आँखा उपचार हुने सुनेर साढे तिन सय किलोमिटर भन्दा टाढाबाट आएको छु।

गौर आँखा अस्पतालका अध्यक्ष विजय कुमार सिंहले बहिरङ्गतर्फ ६० प्रतिशत र शल्यक्रियातर्फ ८० प्रतिशत सेवाग्राही भारतीय नागरिक हुने गरेको बताउँछन्। उनले भारतको बिहारबाट बढी आँखाका रोगी आउने गरेको बताए। उनका अनुसार भारतको उत्तर प्रदेश तथा झारखन्ड प्रान्तबाट पनि आँखा रोगीहरू उपचारका लागि आउने गरेका छन्।

भारतको सीमावर्ती क्षेत्रमा रहेको आँखा उपचार केन्द्रहरूभन्दा तेब्बरसम्म सस्तो उपचार तथा शल्यक्रिया गौरमा हुने गरेको भारतीयहरुनै बताउँछन्। आँखाको उपचार, औषधि, शल्यक्रिया तथा चस्मा सबै भारतको भन्दा धेरै सस्तोमा पाइने गरेकाले भारतीयहरू आँखा उपचारको लागि गौर आइपुग्ने गरेको सेवाग्राहीहरू बताउँछन्।

गौरका आँखा अस्पताल तथा उपचार केन्द्रहरूमा नेपाली र भारतीय बिरामीमा खासै भेदभाव गरिने गरिएको छैन। गौरको आँखा अस्पतालहरूमा भारतीय नागरिकको भिडभाड भइरहनुमा विश्वास नै सबैभन्दा ठुलो कुरो भएको बताइएको छ। एक पटक उपचार गरेर गएपछि पुनः परीक्षण गर्न आउँदा भारतीयहरूले अरु बिरामीलाई पनि लिएर आउने गरेका तथा आफन्त र नातागोतालाई पनि आँखाको समस्या हुँदा गौरलाई सम्झने गरेको कारण भारततिर गौरका आँखा अस्पतालहरूको बारेमा सकारात्मक सन्देश गएको सम्बद्ध व्यावसायीहरुको भनाइ छ।

प्रकाशित: २ पुस २०७९ १३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App