७ वैशाख २०८१ शुक्रबार
समाज

‘रित्तै’ वन मन्त्रालय

वन मन्त्रालयमा अहिले विभागीय मन्त्री तथा वन सचिव दुवै छैनन्। यसैगरी यतिबेला मन्त्रालयका ३ वटा महाशाखाका महाशाखा प्रमुख (सहसचिव) नै विदेश भ्रमणमा छन्। त्यसैले अहिले वन मन्त्रालय रित्तै झै छ।  

अन्तिम समयमा जनता समाजवादी पार्टी (जसपा)ले सत्तारुढ गठबन्धनबाट अलग भई नेकपा (एमाले)सँग चुनावी तालमेल गरेपछि जसपाबाट प्रतिनिधित्व गरेका ४ मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत असोज २७ गते सरकारबाट हटाएका थिए। त्यसबेला जसपाका नेता प्रदीप यादव वनमन्त्री थिए। २७ गतेयता वन मन्त्रालयमा मन्त्री छैनन्। वन मन्त्रालयको जिम्मा प्रधानमन्त्री आफैंले हेर्ने गरेका छन्।  

यसैगरी गत मंसिर १३ देखि वन सचिव पेमनारायण कँडेलले अनिवार्य अवकाश लिएपछि वन सचिव पद पनि रिक्त छ। वरिष्ठ सहसचिव भएको हैसियतले शिव वाग्लेले निमित्त सचिव भई काम चलाएका छन्।  

यसैगरी गत मंसिर १४ गतेदेखि मन्त्रालयका ३ जना सहसचिव क्यानडा भ्रमणमा छन्। सहभागितामूलक वन महाशाखाका महाशाखा प्रमुख धनञ्जय पौडेल, जैविक विविधता महाशाखाका महाशाखा प्रमुख मेघनाथ काफ्ले तथा प्रशासन महाशाखा प्रमुख शिव रेग्मी हाल विदेश भ्रमणमा छन्। त्यसैले ती महाशाखामा प्रमुख पद रिक्त रहेको हो। वनमा सहसचिव सरहको दरबन्दी ६ जनाको छ। तर ३ जना सहसचिव विदेशमा भएकोले हाल वनमा ३ जना सहसचिव शिव वाग्ले, बुद्ध पौडेल र धीरेन्द्र प्रधान मात्र छन्।  

निमित्त सचिव वाग्लेले मन्त्रालयले नीतिगत निर्णय गर्नुनपर्ने भएकाले मन्त्री र सचिव नहुँदा पनि काम गर्न खासै अप्ठ्यारो नभएको बताए। ‘निर्वाचन आचारसंहिता लागु भएकाले मन्त्रालयले नीतिगत निर्णय गर्नु परेको छैन,’ वाग्लेले भने, ‘अहिले हाम्रो काम दैनिक कामचलाउ मात्र रहेको छ। त्यसैले मन्त्री र सचिव नहुँदा पनि काम गर्न खासै अप्ठ्यारो परेको छैन।’  

यसैगरी, सहरी विकास मन्त्रालयमा पनि गत मंसिर ५ गतेदेखि सचिव पद रिक्त रहेको छ। मंसिर ५ गते तत्कालीन सहरी सचिव डा. रमेश सिंहले अनिवार्य अवकाश पाएयता सचिव पद रिक्त रहेको हो। वरिष्ठ सहसचिवको हैसियतबाट पदम मैनालीले निमित्त सचिवको काम चलाएका छन्। 

एक वर्षदेखि रक्षा पनि खाली रक्षा मन्त्रालय गत एक वर्षदेखि मन्त्रीविहीन भएको छ। मन्त्री रिक्त रहेपछि रक्षाको जिम्मा प्रधानमन्त्री देउवाले हेर्ने गरेका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका डा. मिनेन्द्र रिजालले महामन्त्री पदमा पराजित भएपछि २०७८ पुस १ गते पदबाट राजिनामा दिएका थिए। मत परिणाम आएलगत्तै रिजालले प्रधानमन्त्री देउवालाई आफ्नो राजीनामा पत्र बुझाएका थिए। त्यतिबेला रक्षाको जिम्मा प्रधानमन्त्रीले लिएका थिए तर अहिलेसम्म देउवाले रक्षामन्त्री नियुक्त गरेका छैनन्। जसबाट झन्डै एक वर्षदेखि रक्षा मन्त्रालय मन्त्रीविहीन भएको छ।

प्रकाशित: २४ मंसिर २०७९ ०१:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App