१६ चैत्र २०८० शुक्रबार
समाज

मेलम्चीको पानी पुनः वितरण

खानेपानीमन्त्री उमाकान्त चौधरी मेलम्ची खानेपानी पुनः वितरणको उद्घाटन गर्दै। तस्बिर: रासस <div><br></div>

बाढीपहिरोको कारण क्षतिग्रस्त ‘मेलम्ची हेडवक्र्स क्षेत्र’ को अस्थायी मर्मतसम्भार गरेर मेलम्चीको पानी काठमाडौं उपत्यकामा पुनः वितरण थालिएको छ। गत जेठ दोस्रो सातादेखि बन्द गरिएको पानी शुक्रबारदेखि पुनः घरघरमा वितरण गर्न थालिएको हो। मेलम्चीमा आउनसक्ने बाढीपहिरोलाई ध्यानमा राखेर बर्खायाममा पानी वितरण बन्द गरिएको थियो।

मेलम्ची खानेपानी विकास समितिले बाढीपहिरोबाट क्षतिग्रस्त मेलम्ची हेडवक्र्स क्षेत्रमा करिब ५ करोड रूपैयाँको अस्थायी संरचना तयार पारी त्यहाँको पानी उपत्यकामा ल्याइएको जनाएको छ। केयुकेएलका प्रवक्ता प्रकाश राईले मेलम्ची नदीबाट आएको पानी शुक्रबारदेखि घरघरमा वितरण गर्न सुरु गरिएको बताए। ‘मेलम्चीको पानी उपत्यकावासीलाई शुक्रबारदेखि वितरण गर्न थालिएको छ,’ उनले भने, ‘नयाँ र पुरानो वितरण लाइनबाट मेलम्चीको पानी वितरण गरिनेछ।’ केयुकेएलले दुई दिनभित्रै कार्यतालिका निर्माण गरेर मेलम्चीको पानी वितरण गर्ने जनाएको छ।

‘सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र भरिएर पानी वितरण शुभारम्भ गरेका छौं,’ उनले भने, ‘विभिन्न चोकमा रहेका वितरण केन्द्रमा पानी भरिएसँगै वितरण कार्यले गति पाउनेछ।’ केयुकेएलका अनुसार उपत्यकावासीलाई मेलम्ची आयोजनाबाट आउने दैनिक १७ करोड लिटर पानी समानुपतिक ढंगले वितरण गरिनेछ।  

केयुकेएलका प्रवक्ता राईले शुक्रबारदेखि मेलम्चीको पानी कपन, चाबहिल, जगबागेश्वरी र न्युरोड क्षेत्रका बासिन्दालाई वितरण गरिएको बताए।

‘केयुकेएलले साताभित्र मेलम्चीको नयाँ वितरण लाइन र केयुकेएलको पुरानै वितरण लाइनबाट पानी वितरण गर्नेछ,’ उनले भने, ‘पानी सबै स्थानमा भने एकैपटक पठाइने छैन।’ सुन्दरीजलमा प्रशोधित पानी दुई करोड १० लाख लिटर स्टोर गर्ने क्षमता छ। ‘उपत्यकाका विभिन्न १० स्थानमा रहेका रिजर्भ ट्यांकीमा पानी पठाएर वितरण गर्नुपर्छ। प्रवक्ता राईले सबै ठाउँमा समानुपातिक ढंगले पानी वितरण गर्दै जाने बताए। ‘पाइपलाइन विस्तार गरेका ठाउँमा अब पानी वितरण परीक्षण अघि बढाउनेछौं,’ उनले भने।  

उपत्यकाका आरुबारी, जगडोल, बासबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर र भक्तपुरको कटुन्जेलगायत स्थानमा पानीको रिजर्भ गरी वितरण गर्ने संरचना छ। केयुकेएलका अनुसार उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग छ। मेलम्चीको पानीले मागको करिब ४० प्रतिशत पुरा हुन्छ।  

केयुकेएल आयोजना कार्यान्वयन निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटा मेलम्चीको ७७ किलोमिटर बल्कलाइन तयार भइसकेको जनाउँदै १ हजार १० किलोमिटरमध्ये ६५० किलोमिटर क्षेत्रमा मेलम्चीको पानी परीक्षण गरिसकिएको बताए।  

‘अहिलेसम्म ६५० किलोमिटर पाइपलाइनको परीक्षण गरिसक्यौं,’ उनले भने, ‘मेलम्चीको पानी वितरणका साथै पानी परीक्षणको कामलाई पनि तीव्रता दिनेछौं।’ मेलम्चीको पानी वितरण गर्न काठमाडौं उपत्यकामा १० वटा पानी ट्यांकी तयार पारिएका छन्। तिनै १० वटा टयांकीबाट उपत्यकाभर खानेपानी वितरण गरिनेछ। काठमाडौं उपत्यकामा खानेपानी वितरणलाइन निर्माण गर्न करिब २१ अर्ब रूपैयाँ खर्च भइसकेको छ।  

खानेपानीमन्त्री उमाकान्त चौधरीले शुक्रबार आयोजित एक कार्यक्रमबीच चाबहिलस्थित महाँकालचौरको पानी ट्यांकीबाट उपभोक्ताको घरमा जाने पानी वितरणको शुभारम्भ  

गरेका हुन्। कात्तिक २८ गतेदेखि मेलम्चीको अम्बाथानस्थित हेडवक्र्समा पुगेर वर्षाले थुपारेको गेग्य्रान हटाउने काम सुरु गरिएको थियो। समितिले आवश्यक गेग्य्रान हटाउने काम सम्पन्न गरेसँगै मंसिर १२ गते मेलम्चीको पानी सुरुङमा पठाउन थालेको थियो।

प्रकाशित: २४ मंसिर २०७९ ०१:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App