७ वैशाख २०८१ शुक्रबार
समाज

बाँकेमा बढ्दै मानवअधिकार उल्लंघन

बाँकेको राप्तीसोनारी-७ की अपसरुल खानको झुन्डिएको अवस्थामा शव फेला पर्‍यो। माइती पक्षले अपसरुलका पति र जेठाजुसहित परिवारका अन्य सदस्यविरुद्ध दिएको कर्तव्य ज्यानको उजुरी बदल्न लगाएर आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गर्न बाध्य पारिएको अपसरुलका पिताले बताउँदै आएका छन्।

केही महिनाअघि बाँकेको जानकी गाउँपालिकाकी गोडी वर्मा झुन्डिएको अवस्थामा फेला परिन्। उनको हत्या भएको माइती पक्षले बताइरहेको छ। गोल्डीका पतिविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दायर भएको छ। दाइजोका कारण दिइएको मानसिक यातना, तनाव र कुटपिट गरी हत्या गरिएको माइती पक्षको दाबी छ।

यी बाँकेमा घरेलु हिंसा भएको छैन र न्याय प्राप्तिमा सरकारी पक्षबाट सहज वातावरण छैन भन्ने केही उदाहरण मात्रै हुन्। बाँके प्रहरीमा घरेलु हिंसासम्बन्धीका उजुरी हरेक वर्ष बढिरहेका छन्। आर्थिक वर्ष २०७६/७७ मा पाँच सय १८ वटा घरेलु हिंसासम्बन्धी उजुरी परेकोमा आर्थिक वर्ष २०७७/७८ मा सात सय ३८ र २०७८/७९ मा आठ सय ४४ वटा उजुरी परेका छन्। प्रहरीको तथ्यांकमा भएका सबै उजुरी महिलाबाट आएको पाइएको छ। आएका उजुरीमध्ये अधिकांश उजुरी मिलापत्रमै टुंगिने गरेको पाइएको छ।

विगत तीन आर्थिक वर्षमा क्रमशः तीन सय ६३, पाँच सय १० र चार सय पाँच उजुरी मिलापत्रमा टुंगिएका छन्। यसैगरी क्रमशः ५८, ६१ र एक सय तीन उजुरी भने अदालतसम्मै पुगेका छन्।

इन्सेकको मानवअधिकार वर्ष पुस्तक २०२२ मा उल्लेख भएअनुसार गत वर्ष बाँकेमा चारवटा हत्याका घटना भए। नौवटा कुटपिटका घटना भए। १६ वटा बालअधिकार उल्लघनका घटना भए। यसमा १२ वटा बलात्कारका घटना छन्। यौन दुव्र्यवहारका घटना तीनवटा छन्। गत वर्ष ९४ वटा महिला अधिकार उल्लंघनका घटना भए। जसमा ११ वटा बलात्कार र बाँकी घरेलु हिंसाका घटना छन्। बलात्कार र घरेलु हिंसाका ११ वटा घटना कानुनी दायरामा ल्याइएका छन्। बालअधिकार उल्लंघनका १२ वटा घटना कानुनी दायरामा ल्याइएका छन्।

बाँके प्रहरीका अनुसार जिल्लामा गत आर्थिक वर्षमा दुई सय ३४ जना हराएका उजुरी परे। तीमध्ये एक सय ३९ महिला छन् भने ६३ बालिका, ३० जना बालक चारजना ज्येष्ठ नागरिक छन्। तीमध्ये एक ४७ जना अझै फेला नपरेको प्रहरीको तथ्यांक छ।

बाँके जिल्ला कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी कोचिएर बस्नुपरेको छ। जाडो र गर्मीयाममा कैदीबन्दी सुत्नसमेत नसक्ने अवस्था छ। बालसुधार गृहमा पनि यस्तै अवस्था थियो तर अहिले नयाँ भवन बनेपछि केही सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २४ मंसिर २०७९ ००:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App