७ वैशाख २०८१ शुक्रबार
समाज

किराँत समुदायको ऐतिहासिकस्थल ‘प्रिमाकोटगढी’ ओझेलमा

खोटाङ ,रावाबेंसी गाउँपालिका-६ हौंचुरस्थित किराँत समुदायको ऐतिहासिकस्थल प्रिमाकोटगढी ओझेलमा परेको छ। किराँती राजा कुम्राहाङले शासन गरेको किराँत समुदायको ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको प्रिमाकोटगढी प्रचारप्रसार र संरक्षण अभावमा ओझेलमा परेको हो।

घोप्ट्याएको पाथी आकारको डाँडामा रहेको प्रिमाकोटगढी देउरालीडाँडाबाट जंगल र झाडी पार गर्दै पुगिन्छ। जंगल बिचमा दुईतिर बंकरको अवशेष छ।

अग्लो डाँडामा रहेको दुई बंकरका बिचमा अवशेषको रूपमा रहेको दरबारको चरको ढुंगा यत्रतत्र छरिएका छन्। गढी आसपासमा रातो माटो झिक्ने क्रममा कहिलेकाहीं खिया लागेका तीर भेटिने गरेको स्थानीय सुरेन्द्र राई बताउँछन्।

प्रिमाकोटगढीमा हाल घुमफिर र अवलोकनका लागि स्थानीय बासिन्दा पुग्ने गरेका छन्। प्रिमाकोट गढीबाट रावाफाँट, हिमाली शृंखला, लामिडाँडा विमानस्थल लगायतका ठाउँ अवलोकन गर्न सकिन्छ।

स्थानीय अगुवाका अनुसार प्रिमाकोटगढी र डुम्रेकोटगढीका राजा बिचमा भएको युद्धमा चतुर प्रिमाकोटगढीका राजा कुम्राहाङले युद्धको अघिल्लो दिन छाला जुत्ता व्यापारी (सार्की)को भेषमा सुराकी पठाएका थिए।

व्यापारीको रूपमा डुम्रेकोटगढी पुगेका सुराकीले त्यहाँका सेनाले लडाइँका लागि तयार गरेका बन्दुकमा राति पानी हालेर भागेको थिए।

अर्को दिन लडाइँमा डुम्रेकोटगढीतर्फका सेनाको एउटा पनि बन्दुक नपड्केको र धनुष वाणको भरमा लड्दा प्रिमाकोटगढीका सेनासँग पराजित भएको इतिहास छ।

किराँतको बसोबास रहेको प्रिमाकोटगढी आसपासमा क्रमशः खस क्षेत्री समुदायको बस्ती बढ्दै गएपछि यो गढीलाई देउरालीडाँडा भनेर पनि चिनाइएको छ। किराँत समुदायले नै देउराली भन्न थालेपछि प्रिमाकोटगढीको ऐतिहासिकता झनै ओझेलमा पर्दै गएको स्थानीय तुलबहादुर राईले बताए।

‘प्रिमाकोटगढीलाई देउरालीडाँडा भनेर चिन्न थालियो’, उनले भने, ‘किराँत समुदाय आफैले पनि गढीबारे विस्तृत बुझ्न चाहेनन्। यसको संरक्षण गर्न पहल गरेनन्। यही कारण पनि ऐतिहासिक गढी ओझेलमा पर्दै गएको हो।’

ऐतिहासिक पहिचानसँग जोडिएको गढीको उत्थान र संरक्षणमा हालसम्म औपचारिक रूपमा कुनै योजना बनेको छैन। गढीको प्रवर्द्धन गर्दै गाउँपालिकाकै पर्यटन प्रवर्द्धन गर्न सकिने सम्भावना छ। तर, यसतर्फ कसैको ध्यान पुगेको छैन।

ओझेलमा परेको प्रिमाकोटगढी, भूमेथान र ऐतिहासिक सुरुङ कुलोलाई समेटेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना बनाइएको वडाध्यक्ष चिरञ्जिवी कार्की बताउँछन्। ‘यो किराँत समुदायको ऐतिहासिक ठाउँ हो। यहाँ किराँत सँस्कृति झल्काउने संरचना बनाउने योजनामा छौं’, उनले भने, ‘दूधकोसी जलाशययुक्त आयोजना बनेपछि जमेको ताल हेर्नसमेत यो ठाउँ उपयुक्त बन्नेछ।’

हौंचुरमा रहेको प्रिमाकोटगढी, भूमेथान, जुडी महादेव मन्दिर र ऐतिहासिक सुरुङ कुलो लगायत पर्यटकीयस्थलको प्रवर्द्धन गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गर्ने तयारी गरिएको वडाध्यक्ष कार्कीले बताए। पर्यटकीयस्थलको डिपिआर गरेर प्रवर्द्धनको काम सुरु गरिने वडाध्यक्ष कार्कीको भनाइ छ। रासस

प्रकाशित: २३ मंसिर २०७९ ०८:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App