coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोहम्मद हत्या छानबिनमा ‘आइबी’को अवरोध

फाइल तस्बिर।

काठमाडौंको गोठाटारमा ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्जी) को हत्यासम्बन्धी घटनाको अनुसन्धानमा भारतीय इन्टेलिजेन्स ब्युरो (आइबी)ले चासो देखाएको छ। भारतीय नक्कली नोटको अनुसन्धान तथा आतंकवादी समूहहरूको अनुसन्धानमा क्रियाशील आइबीले मोहम्मद हत्या प्रकरणको अनुसन्धानमा पनि चासो देखाएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएको छ।

हत्याका मुख्य योजनाकार भारतका बब्लु पासवान रहेको खुले पनि नेपाल प्रहरीले उनलाई पक्राउ गर्न नसक्नुको प्रमुख कारण आइबीको चासो र भारतीय प्रहरीको असहयोग रहेको स्रोतको दाबी छ। बिहार रक्सौलका पासवान मोहम्मद हत्याका मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानमा खुलेको छ। तर भारतीय पक्षले पासवानलाई पक्राउ गर्न मात्रै होइन, घटनाको थप अनुसन्धान अघि बढाउन पनि अवरोध गरिरहेको छ। मोहम्मद हत्या घटनाको अनुसन्धानमा आइबीले अनावश्यक चासो दिएपछि नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले अवरोध नगर्न आग्रह गरेको स्रोतले बतायो।

‘लाल मोहम्मद हत्या घटनामा थप अनुसन्धान गर्न भारतीय इन्टेलिजेन्स ब्युरोले अवरोध गरेपछि महानिरीक्षक धिरजप्रताप सिंह आफैंले दिल्लीस्थित ब्युरोका अधिकारीसँग कुरा गरेर अनुसन्धानको घेरामा रहेका बब्लु पासवानलाई नेपाल पठाइदिन आग्रह गरेका छन्,’ प्रहरीका एक उच्च अधिकारीले भने। यसमा भारतको स्थानीय प्रशासन र प्रहरी प्रशासनले असहयोग गरेको स्रोतको दाबी छ। 

मोहम्मद हत्या प्रकरणमा अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको संयोजकत्वमा एउटा समिति गठन भएको थियो। समितिले मंसिर २ मा सरकारी वकिल कार्यालयमा अभियोगपत्र बुझाइसकेको छ। घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका केही व्यक्तिलाई पुर्पक्ष थुनामा राखिएको छ।

समितिको अनुसन्धानले मोहम्मदको हत्या भारतीय बब्लु पासवानकै योजनामा भएको निष्कर्ष निकालेको छ। यस हत्या प्रकरणमा प्रहरीले २५ भन्दा बढी व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरेको छ। निर्वाचनका बेला अनुसन्धान रोकिएको भए पनि समितिले  नियमित काम गरिरहेको छ। भारतीय नक्कली नोटसँगै युरेनियम कारोबारमा संलग्न भएको आशंका र पाकिस्तानको इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आइएसआई) को समर्थनमा आतंकवादी सञ्जालसँग जोडिएको हुन सक्ने भन्दै भारतीय आपराधिक ग्याङले मोहम्मदको हत्या गरेको हुन सक्ने अनुमानसहित नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ।  

सर्लाही हरिवन नगरपालिका–२ स्थायी घर भएका मोहम्मदको गत असोज ३ मा कागेश्वरी–मनोहरा नगरपालिका–८ गोठाटारमा हत्या गरिएको थियो। मोहम्मदको उनकै गार्मेन्ट कम्पनी एडभेन्चर इन्टरप्राइजेजअगाडि गोली हानेर हत्या गरिएको थियो। 

प्रहरीका अनुसार पासवान लागुऔषध  मुद्दामा पर्साको वीरगन्जस्थित कारागारमा पाँच वर्ष कैद सजाय पाएका व्यक्ति हुन्। उनी आफैं ‘सुटर’ भने होइनन्। ‘बब्लु पासवान आफैं सुटर होइनन्, सुटर अरू नै भएकाले उनलाई पक्राउ गरेपछि मात्रै अरू सबै थाहा हुनेछ,’ अनुसन्धान समितिका एक सदस्यले भने। प्रहरीका अनुसार पासवानले हतियार ल्याएर वीरगन्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ र १७ वर्षीय रेहान मियाँलाई दिएका थिए। उनकै निर्देशनमा मोहम्मदलाई मार्न महोरम र रेहानले हतियार काठमाडौंसम्म ल्याई ‘सुटर’लाई दिएका थिए। तर सुटर को हो भन्नेबारे अहिलेसम्म खुलेको छैन।  

‘भारतीय सेना वा प्रहरी तथा तालिमप्राप्त कुनै व्यक्ति हुन सक्छन्,’ प्रहरी स्रोतले भन्यो।मोहम्मद आफैं पनि कुनै बेलाका सुटर भएको प्रहरीको दाबी छ। 

प्रहरीले हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएका वीरगन्ज– १६ का २१ वर्षीय महोरम मियाँ, सोही ठाउँका १७ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका–१ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई पुर्पक्ष थुनामा पठाएको छ। प्रहरीले पासवान, एक नेपाली युवती, भारतका ‘गुड्डु’ भनिने नितिनमोहन खानसहित ६ जनालाई फरार सूचीमा राखेको छ। उनीहरूलाई प्रहरीले पक्राउ गर्न नसकेको हो वा नचाहेको खुल्न सकेको छैन। ‘अनुसन्धानका क्रममा २५ भन्दा बढी व्यक्ति परेका छन्। ती सबैको बयानका आधारमा प्रहरीले बब्लु पासवान मुख्य अभियुक्त भएको ठहर गरेको छ,’ स्रोतले भन्यो। नितिनमोहन खानले काठमाडौंतर्फको व्यवस्थापन गरेको र त्यसका लागि पासवानले सहयोग गरेको बुझिएको छ।  

आइबीले मोहम्मदको हत्या गर्न पासवानलाई प्रयोग गरेको आशंका नेपाल प्रहरीको छ। पाकिस्तानका आतंकवादीसँगको सहयोगमा जाली नोट कारोबारी गरेको आरोप लागेका मोहम्मदको आइबीले निगरानी राखेको थियो। 

नेपाल प्रहरीको विशेष ब्युरोले पनि मोहम्मद हत्या विषयमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा संलग्न विशेष ब्युरोका एक अधिकारीका अनुसार हत्यामा संलग्नहरूको पहिचान भए पनि भारतीय प्रहरीले पासवानको विवरण उपलब्ध गराएको छैन। नेपाल प्रहरीले पासवानलगायतका आरोपित लुकेर बस्ने ठाउँसमेत पहिचान गरेको भए पनि भारतीय प्रहरीले पक्राउ गर्न सहयोग गरेको छैन।

‘हामीले बब्लु पासवानलाई पक्राउ गर्न सहयोग मागेका छौं तर उताको प्रहरीले यस्तो नाम गरेको मानिस फेला नपरेको भन्दै आलटाल गरिरहेको छ,’ विशेष ब्युरोका ती अधिकारीले भने, ‘यसमा भारतीय इन्टेलिजेन्स ब्युरोले पनि असहयोग गरेको हाम्रो बुझाइ छ।’ 

भारतीय प्रहरीले असहयोग गरेपछि नेपाल प्रहरीको अनुसन्धान मुख्य अभियुक्त भनिएका बब्लु पासवानका सम्बन्धमा धेरैअघि बढ्न सकेको छैन। ‘लाल मोहम्मदको हत्या किन भयो भन्नेबारेमा बब्लु पासवान पक्राउपछि मात्रै खुल्छ,’ विशेष ब्युरोका ती अधिकारीले भने। आइबी भारतको आन्तरिक खुफिया एजेन्सी हो। आइबीका अधिकारीहरू बेलाबखत नेपाल आउने गरेका छन्। उनीहरूले कतिपय अपराधका घटनामा नेपाल प्रहरीसँग पनि सहकार्य गरेका छन् तर मोहम्मद हत्या घटनामा भने नेपाल प्रहरीलाई असहयोग गरेको प्रहरीको गुनासो छ। भारतीय प्रहरीले विगतमा पनि बब्लु श्रीवास्तवलगायतका आरोपीलाई पनि पक्राउ गर्न असहयोग गरेको थियो। अहिले त्यसकै निरन्तरता भएको नेपाल प्रहरीका अधिकारीले बताएका छन्। ‘लाल मोहम्मद हत्या प्रकरणमा पनि भारतीय प्रहरीलेअसहयोग गरेको छ तर हामी उसलाई जसरी पनि नेपाल ल्याउने प्रयासमा छौं,’ विशेष ब्युरोका ती अधिकारीले भने।  

प्रहरीका अनुसार गार्मेन्ट व्यवसायको आडमा लाल मोहम्मद, वाहिद खानलगायतको समूहले पाकिस्तान र बंगलादेशबाट नक्कली भारतीय नोट ल्याएर कारोबार गथ्र्यो। उनीहरू विगतमा अदालतबाट दोषी ठहर भई जेल चलान भएका थिए। मोहम्मद करिब नौ वर्ष जेल बसेर २०७४ मा सरकारी आममाफीमा छुटेका थिए। जेलबाट निस्किएपछि मोहम्मदले गार्मेन्ट व्यवसाय सुरु गरेका थिए। उनले एडभेन्चर इन्टरप्राइजेज नामक गार्मेन्ट कम्पनी चलाएका थिए। भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस (रअ) विशेष ब्युरोको एक रिपोर्टअनुसार मोहम्मद नेपालमा नक्कली भारतीय नोट कारोबारमा बिचौलियाको भूमिका निर्वाह गर्थे। सो रिपोर्टपछि नै आइबीले चासो राखेको स्रोतको दाबी छ। आइबी र रअले मोहम्मदलाई लामो समयदेखि खोजी गरिरहेका थिए। ‘अन्तर्राष्ट्रिय आतंकवादी दाउद इब्राहिमसँग जोडिएर भारतविरोधी गतिविधिमा संलग्न रहेको, भारतीय नक्कली नोटको कारोबार गरेको, पाकिस्तानको इन्टर–सर्भिसेस इन्टेलिजेन्स (आइएसआई) सँग सम्बन्ध रहेको भन्दै भारतीय सुरक्षा अधिकारीले मोहम्मदको खोजी गरिरहेको थियो,’ नेपाल प्रहरीको विशेष ब्युरोमा कार्यरत एक अधिकारीले भने, अहिले आइबीले नै मोहम्मदको अनुसन्धानमा अवरोध गरिरहेको छ।’

प्रकाशित: २३ मंसिर २०७९ ०१:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App