८ वैशाख २०८१ शनिबार
समाज

निकुञ्जले भत्कायो कुसुम खोलामा बनाइएका टहरा

चितवनको माडीस्थित कुसुम खोलामा बनाइएका टहराहरू चितवन राष्ट्रिय निकुञ्जले भत्काइदिएको छ। माडी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने कुसुम खोलामा बनाइएका १० वटा साना टहराहरू निकुञ्जका कर्मचारी र सुरक्षाकर्मीले आगो लगाएर भत्काइदिएका हुन्।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले निकुञ्जको क्षेत्रमा छाप्रो बनाएर बस्ने क्रम बढेपछि भत्काइएको बताए। उनले नियमितरुपमा घर, टहराहरू निकुञ्जले हटाइरहेको बताए। उनले भने, ‘त्यहाँ काजिमान प्रजाको मात्र एउटा घर छ। त्यो भत्काएका छैनौँ। विभिन्न ठाउँबाट गएर टहरा बनाउँछन्। हामीले प्रत्येक महिना नै टहरा भत्काउँदै आएका छौँ। बुधबार १० वटा टहरा भत्काएका छौँ।’  

निकुञ्जको जमिनमा मानिसहरू गएर अतिक्रमण गर्दै आएका छन्। पछिल्लो समय १० जनाले टहरो हालेका थिए। आउने घर टहरा हटाउने क्रम चलिरहेको छ। यही ठाउँमा २०७७ सालको साउन र २०७८ सालको चैत्र महिनामा पनि हात्तीसहित पुगेको चितवन निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले भत्काइदिएका थिए। स्थानान्तरण भइसकेकादेखि नयाँ मान्छेहरू पनि जग्गाको आशामा कुसुम खोला पुगेर छाप्रो बनाउँदै आएका छन्।

चितवन निकुञ्जको क्षेत्रमा रहेको कुसुम खोलामा २०४८ सालतिर बस्ती बसेको हो। चितवनको पहाडी क्षेत्र, मकवानपुर, तनहुँ लगायतका ठाउँबाट आएका सुकुमबासी परिवार यो ठाउँमा बस्दै आएका थिए। दिउँसो पैदलै हिँडेर कुसुम खोला पुगेका सेना र निकुञ्जका कर्मचारीहरूले भत्काइने घरबाटै बन्चरो र खुर्पा लिएर घरहरू भत्काएको कुसुम खोलाका स्थानीय काजीमान चेपाङले बताए।

बस्तीका अधिकांश परिवारलाई माडी नगरपालिकाले राइडाँडा, परुवीलगायतका विभिन्न ठाउँमा स्थानान्तरण गरेको छ। १६० परिवार मध्ये १५९ वटा परिवारलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेर नगरपालिकाले घर बनाइदिएको छ। कुसुम खोलाबाट एक परिवार भने तल झरेको छैन। उचित व्यवस्थापन नहुँदासम्म उनीहरूलाई नहटाउन सर्वोच्च अदालतले निर्देशन दिएपछि काजिमान प्रजाको परिवार त्यहाँ नै बस्दै आएको छ।

प्रकाशित: २२ मंसिर २०७९ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App