महोत्तरीको औरही नगरपालिका–१ की २१ वर्षीय नेहा चौधरीले श्रीमान् विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएकी छन्। उनी सोमबार जिल्ला अदालतमा श्रीमान् डा।पंकज चौधरीविरुद्ध घरेलु हिंसा र दाइजोविरुद्ध मुद्दा दर्ता गराएकी श्रेस्तेदार मदन प्रसाद जैसवालले जानकारी दिए।
महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ घर भएका ३१ वर्षीय श्रीमान् पंकजबाट दाइजोका कारण घरेलु हिंसामा परेकी नेहाले श्रीमान्विरुद्ध मुद्दा दर्ता गराएकी हुन्। विवाहको दुई महिनापछि देखिनै दाइजो नल्याएको भन्दै श्रीमान्बाट यातना भोग्दै आएकी थिइन्।
विवाहको केही महिनापछि देखिनै श्रीमान् पंकजले शारीरिक र मानसिक यातना दिँदै आए पनि सहेर पनि बसेका थिए। तर पिडा सहन नसकेर श्रीमान्को कुटाइपछि शरीरमा नीलडाम परेको फोटो सामाजिक संजालमा राख्न बाध्य भएको नेहा बताउँछिन्। नेहाले सामाजिक संजालमा फोटो राखेपछि उनको घटनाले चर्चा पाएको थियो।
दसैँको टीकाको दुई दिनपछि श्रीमान्को कुटाइबाट मुर्छित भएकी नेहालाई ससुरालीबाट माइतीले उद्धार गरी अस्पताल पु¥याएका थिए। नेहाको स्वास्थ्यमा सुधार आएपछि उनले श्रीमान् विरुद्ध मुद्दा दायर गरेकी हुन्। नेहा र पंकजको तीन वर्षको प्रेम सम्बन्धपछि दुवै पक्षको पारिवारिक सहमतिमा विवाह भएको थियो। पारिवारिक सहमतिपछि उनीहरूको ०७७ साल फाल्गुन ५ गते इन्गेजमेन्ट भएको थियो। इन्गेजमेन्ट एक वर्षपछि नेहा र पंकजको ०७८ फाल्गुन २५ गते जनकपुरको होटेल राजदरबारमा विवाह भएको थियो।
नेहाकी इच्छा पूरा गर्न परिवारले औरही बजारमा रहेको घरजग्गा बेचेर धूमधामका साथ पंकजसँग विवाह गरेका थिए। नेहाका परिवार अनुसार विवाहमा ५१ लाखको चेक र ५०–६० लाखको गरगहना दाइजो दिएको थियो। तर बिहेपछि काठमाडौँमा घरसमेत किन्दिनुपर्ने डिमाण्ड राख्न थालेको नेहा बताउँछिन्। उनले भनिन् ‘ दाइजो कारण विवाहको केहिमहिनापछि श्रीमान् र सासूले आफूलाई यातना दिन थालेको थियो।’ यता, नेहाकी श्रीमान् पंकजले उनी विरुद्ध जिल्ला अदालतमा डाइभोर्सको मुद्दा दर्ता गराइसकेका छन्। श्रीमती झगडालु स्वभावको भएको र मानसिक अवस्थासमेत ठिक नभएको श्रीमान् पंकजको आरोप छ। तर नेहाले आफूमा त्यस्तो कुनै समस्या नरहेको बताउँछिन्। उनले भनिन् ‘ मानसिक समस्या भएको भए सुसाइड गर्थिए होला या चुपचाप यातना सहेर बस्थे तर मैले कानुनी लडाइ लडेर पनि घर बसाउन चाहन्छु त्यही घरमा बस्न चाहन्छु।’
नेहाले श्रीमान् विरुद्ध कानुनी लडाइ सुरुगरेपछि पंकज कार्यरत अस्पतालले उनलाई जागिरबाट निकालिसकेका छन्। उनी जनरल फिजिसियनको रूपमा काठमाडौँको टोखास्थित ग्राण्डी अस्पतालमा काम गरिरहेका थिए। उनको समाचार आएपछि अस्पतालले पंकजलाई जागिरबाट बर्खास्त गरेका छन्।
सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता गराएपछि मंगलबार नेहा कुमारी आमा भनेर चिनिने नेहारीका राजपुतसंँग रामगोपालपुर नगरपालिकाको न्यायिक समितिमा पुगेका थिइन्। तर न्यायिक समितिमा कोही नभेटिएपछि निवेदन दर्ता गराउन पाएन्। घरेलु हिंसाका पीडित नेहा आज रामगोपालपुर नगरपालिकाको कार्यालय पुगेकी थिइन्। तर मेयर रामदुलास साह, न्यायिक समितिका संयोजक एव उपमेयर रीनादवी यादव, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार मण्डल कार्यालयमा नभेटेपछि उनी मुद्दा नगराइकन फर्किन बाध्य भइन्।
प्रकाशित: २० मंसिर २०७९ १३:३० मंगलबार