१५ चैत्र २०८० बिहीबार
समाज

खानेपानीको पाइपमाथि नाला निर्माण

खानेपानी पाइप माथि निर्माणाधीन नाला। तस्बिर: योगेश रावल

टीकापुर नगरपालिका–१ खड्ग चोक नजिकै खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण भइरहेको छ। वर्षायाममा हुने डुबानको व्यवस्थापनका लागि निर्माण भइरहेको नाला खानेपानीको मुख्य पाइपमाथि निर्माण हुन लागेपछि स्थानीयले आपत्ती जनाएका छन्।

स्थानीय व्यापारी तपेन्द्र क्षेत्रीले खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण हुनु दुःखद भएको बताए। ‘खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण भइरहेको छ, भोलि पाइप मर्मत गर्नुपर्ने अवस्थामा नाला नै भत्काउनु पर्ने हुनसक्छ’ उनले भने ‘पाइपको दायाँबायाँ नाला निर्माण गर्नुको साटो पाइपमाथि नै निर्माण हुनुले बनाउने र बिगार्ने काम मात्रै हुने भयो।’

स्थानीय युवा प्रकाश खत्रीले खानेपानीको पाइप विस्तारका क्रममा अन्दाजका भरमा पाइप बिछ्याएका कारण निर्माणमा समस्या आइरहेको बताए। 

‘अन्दाजका भरमा पाइप राखिएको छ, निर्माण हुँदा कयौंपटक पाइप फुट्छ’ उनले भने –‘हुँदा हुँदा मुख्य पाइपमाथि नै नाला बन्ने भएछ।’

टीकापुर नगरपालिकाका इन्जिनियर नवराज जोशीले खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण गर्न नहुने बताए। ‘हामी अहिले नै यसबारेमा बुझ्छौँ, पाइपमाथि नाला निर्माण गर्न मिल्दैन’ उनले भने –‘निर्माण कम्पनीले पाइप सारेर नाला बनाउनु पर्छ।’

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सहरी खानेपानी आयोजना व्यवस्थापन कार्यालयले निर्माणको अनुगमन गरिरहेको छ। खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण गर्न नमिल्ने बताउँदै टीकापुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नरेशकुमार खत्रीले उक्त पाइप दायाँबायाँ सारेर मात्रै नाला निर्माण गर्नुपर्ने बताए।

‘निर्माण कम्पनीसँग हामी कुरा गर्दैछौं’ उनले भने –‘खानेपानीको मुख्य पाइपमाथि नाला निर्माण गर्न मिल्दैन, पाइप सार्नुको विकल्प छैन।’

बर्साते पानी व्यवस्थापनका लागि तुँदी कन्स्ट्रक्सनले नाला निर्माण गरिरहेको छ। निर्माण कम्पनीका इन्जिनियर उदय पोखरेलले खानेपानीको मुख्य पाइप (डिआइ) भएकोले नाला निर्माण हुँदा कुनै समस्या नहुने बताए। ‘यो पाइपको आयु लामो हुन्छ, यसबाट पानी वितरण नहुने भएकाले समस्या हुँदैन’ उनले भने –‘हामीलाई नगरपालिकाले दिएको मापदण्ड अनुसार सडकको ३८ मिटर चौडाइमा नाला निर्माण गरिरहेका छौँ, यसले खासै समस्या हुँदैन।’

निर्माण कम्पनीले खानेपानीको पाइप सार्ने दायित्व र जिम्मा आफूहरूको नभएको जिकिर गरेको छ। तर स्थानीयले भने खानेपानीको पाइप माथि नाला निर्माण कार्य तत्काल रोक्न आग्रह गरिरहेका छन्। उनीहरूले नगरपालिकाले हस्तक्षेप गरेर भए पनि मानव स्वास्थ्यसँग जोडिएको कुरामा लापरबाही गर्न दिन नहुने बताएका छन्।

प्रकाशित: १७ मंसिर २०७९ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App