७ वैशाख २०८१ शुक्रबार
समाज

उषा राई मृत्यु प्रकरण: ईलाका प्रहरी कार्यालय घेराउ र नाराबाजी

ईलाका प्रहरी कार्यालयअघि घेराउ र नाराबाजी गर्दै महिलाहरु। तस्बिर: रोहित राई

कुटपिटबाट घाईते भएको एक महिनापछि धरान १३ की उषा राईको मृत्यु भएको घटनामा महिलाहरुको समूहले ईलाका प्रहरी कार्यालय धरानमा घेराउ र नारबाजी गरिरहेका छन्।  

कुटपिटमा संलग्नहरु सबैलाई पक्राउ गर्नुपर्ने माग गर्दै महिलाहरुले प्रहरी कार्यालय घेराउ गर्दै नाराबाजी गरेका हुन्। मृतकका छरछिमेक तथा विभिन्न वडाका महिलाहरु भेला भएर नाराबाजी गरिरहेका छन्। मृतकको पोष्टमार्टम गर्ने बिषयमा पनि सहमति जुटेको छैन। उनीहरुले मुख्य आरोपी उर्मिला राईको श्रीमान्लाई पनि पक्राउ गर्नुपर्ने माग राखेका छन्। उषा राईको उपचारको क्रममा मंगलबार मृत्यु भएपछि घटनामा संलग्न भनिएका महिलाहरु फरार थिए। ती मध्ये मुख्य आरोपी उर्मिला राईलाई प्रहरीले पक्राउ गरिसकेको छ। तर, घटनामा संलग्न अरुलाई पनि पक्राउ गर्नुपर्ने माग आन्दोलनमा उत्रिएका महिलाहरुको छ।  

गत कार्तिक ३ गते उषा राईमाथि उर्मिला राईको नेतृत्वमा पुगेका महिलाहरुको समूहले कुटपिट गरेको थियो। आफ्नो श्रीमान्सँग नजिकिएको आरोपमा उर्मिलाले आफन्त र महिलाहरु लगेर उषामाथि कुटपिट गरेका थिए। त्यसबेला विभिन्न केमिकल, खोर्सानीको धुलोसमेत मिसाएको झोल पदार्थ उषालाई पिलाएको र उनको स्वास्थ्यमा गम्भीर असर पुगेको परिवारजनले बताएका छन्।

मृतक उषा २ छोरीको साथ डेरामा बस्थिन्। उनको श्रीमान्को करिब २ बर्षअघि नै मृत्यु भइसकेको थियो। उनले कपडा सिलाएर घर खर्च जुटाइरहेका थिए। शुरुमा उनी मुख्य आरोपी उर्मिलाकै घरमा डेरामा बस्थिन्। करिब ५ महिना अघि मात्र उनी धरान १३ सुर्य मार्गमा डेरा सरेकी थिइन्। उनलाई कुटपिट भएपछि उपचारको लागि वीपी प्रतिष्ठान लगिएको थियो। उपचार पश्चात डिस्चार्ज भएकी उषासँग कुटपिट गर्ने पक्षले कार्तिक ८ गते उपचार खर्च दिएर मिलापत्रसमेत गरेको थियो।  

गत साता उनको स्वास्थ्य बिग्रिएपछि उपचारको लागि वीपी प्रतिष्ठान भर्ना गरिएको थियो। आइसियुमा उपचारको क्रममा नै उनको मृत्यु भएपछि परिवारजनले उर्मिला राईसहित कुटपिटमा संलग्नहरुविरुद्ध किटानी जाहेरी दिएको थियो।  

नाराबाजी र घेराउले ईलाका प्रहरी कार्यालयको मुख्य प्रवेशद्धार अघि तनावको स्थिति बनेको छ। आफ्नो श्रीमानसँग नजिकिएको भन्दै उर्मिला राईले आफन्त र केही महिलाहरुसहित गएर कार्तिक ३ गते उषा राईलाई कुटपिट गरेका थिए। 

प्रकाशित: १६ मंसिर २०७९ ०८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App