१३ माघ २०७९ शुक्रबार
समाज

ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि धनगढी तनाव ग्रस्त: प्रशासनद्वारा २४ घण्टे निषेधाज्ञा जारी

पंचोदय मा.वि.मा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय छात्रा चेतना साउदको शुक्रवार बिहान विद्यालय जाने क्रममा ग्रेडरको ठक्करबाट ज्यान गयो। 

साइकिल डोर्‍याएर विद्यालय जाने क्रममा ग्रिडेर ठक्कर दिँदा ढलेकी वालिका उठ्न खोज्दा ग्रिडेर चालकले ब्याक गरेर किचेको प्रत्यक्षदर्शीले बताएपछि स्थानीय र विद्यार्थीले विरोधमा प्रदर्शन गरेका थिए। 

विद्यार्थीहरुले धनगढीका विद्यालय, यातायात र पसल बन्द समेत गराएका थिए। विद्यार्थीको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी गरेको छ।

बिहीबार साँझ ७ बजेदेखि शुक्रवार साँझ ७ बजेसम्म २४ घण्टा धनगढीमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ।

पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक) पश्चिममा धनगढी उपमहानगरपालिका–४ रातो पुल उत्तरमा धनगढी उपमहानगरपालिका–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन, दक्षिणमा धनगढी उपमहानगरपालिका–१ र २ स्थित हुलाकी राजमार्ग सम्म निषेधाज्ञा जारी गरिएको उल्लेख छ। ५ जना भन्दा बढी हिँडडुल गर्न नपाइने, भेला, प्रदर्शन गर्न र सवारीसाधन चलाउन नपाइने आदेशमा उल्लेख छ।

विद्यार्थीहरुले बजारमा टायर बालेर र पसल बन्द गरेर प्रदर्शन गरेका थिए। ग्रिडेरले किचेर सहपाठीको ज्यान गएपछि विरोध प्रदर्शनमा उत्रेका विद्यार्थिलाई प्रहरीले धरपकड गरेका थिए। विद्यार्थी पोसाकमै रहेका विद्यार्थीलाई पक्राउ गरेपछि विद्यार्थी थप आक्रोशित भएर प्रहरी विरुद्ध प्रदर्शनमा उत्रेका थिए। आफूले कुनै गल्ती नगरेको भनिरहेका विद्यार्थिलाई प्रहरीले जबरजस्ती भ्यानमा हालेर लगेपछि सहपाठी गुमाएर न्यायको लागि प्रदर्शन गरिरहेका विद्यार्थीले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए। 

प्रहरीले २  विद्यार्थीलाई पक्राउ गरेको थियो।  विद्यार्थी पक्राउ पछि विद्यार्थीले प्रहरी विरुद्ध चर्का नाराबाजी लगाएका थिए। विद्यार्थी माथि प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेको थियो।

 प्रहरीको व्यवहारले थप आक्रोशित भएका विद्यार्थीको आन्दोलनले धनगढी दिउँसो भरी तनावग्रस्त बनेको थियो। प्रहरीले पीडामा रहेका विद्यार्थीमाथी दमन गरेको भन्दै स्थानीयले प्रहरीको ब्यबहारको आलोचना गरेका छन्। 

विद्यार्थीहरुले 'विद्यार्थी पक्राउ गर्न पाइँदैन, हामीलाई न्याय दे, प्रहरी चोर हुन् ' जस्ता प्रहरी विरुद्धका नारा लगाएका थिए। धनगढी ऐश्वर्य विद्या निकेतन, ग्यालेक्सी उच्च मा.वि, पंचोदय मा.वि. लगायतका धनगढीका विद्यालय बन्द भएका थिए। धनगढीमा पसल र बजार क्षेत्रमा पसल र यातायात बन्द गरिएको थियो। मृत्यु भएका छात्राको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रकाशित: १५ मंसिर २०७९ २१:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App