१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुखि रहने पाठेघरको घाउ !

स्वास्थ्य शिविरमा बिरामी जाच्दै डा.सृजना।

रुकुम पश्चिम बाफिकोटकी ३३ वर्षीया शान्ति (नाम परिवर्तन) लामो समयदेखि पाठेघर खस्ने समस्याबाट ग्रसित थिइन्। बाहिर झुण्डीएको पाठेघरले असजिलो हुदा हुदै पनि नियमित दैनिकी बिताउन बाध्य उनलाई गाउँमा गतिलो उपचार नहुने भएका कारण जिल्ला अस्पतालसम्म पुग्न विभिन्न समस्याका चाङ थिए। १४ वर्षको उमेरमा बिबाह गरेकी शान्तिले लगातार ६ वर्षमा ४ छोरी जन्माइन्। छोरी मात्र जन्मे पछि उनी परिवारको तिरस्कारमा पनि परिन। सानो उमेरमा बच्चा जन्माएकी शान्ति परिवारको अबहेलना संगै शारिरीक र मानसिक रुपमा पनि अस्वस्थ बन्न थालिन्।

‘पाठेघर झर्न थालेको मस्तै वर्ष भयो। औषधि गर्न जानलाई पैसो छैन।’ शान्तिले भनिन् ‘छोरी मात्र जन्मेपछि परिवारले पनि हेला गर्न थाले। पाठेघर अड्याउन आज नर्सले चुरी जस्तो रबर राखिदिनु भएको छ। अब सजिलो हुन्छ कि।’ संसार गतिशिल बनाउने आमाको पाठेघर भित्र १० महिना बसेर निस्केका सन्तानले आफू हुर्किदै जादा आमाको संबेदनशिलता भुलेका कारण धेरै महिलाहरुले उपचार अभावमा दुख पाउने गर्छन। स्वास्थ्यलाई मौलिक हक भनेर संविधानमा लेखिए पनि दुर्गमका गाउँमा आधारभुत सेवा समेत पाउन मुस्किल पर्छ।  

बाफिकोट कै ६७ वर्षीया सिता (नाम परिवर्तन) को पाठेघर झरेर सताउन थालेको धेरै वर्ष भयो। आर्थिक समस्याका कारण अलि परको जिल्ला अस्पतालसम्म पनि उनी पुग्न सकिनन्। बाहिर पाठेघर निस्कन थाले पछि उनका लागी दैनिकि नारकिय बन्न थाल्यो। द्वन्द्वका समयमा माओवादी खोज्दै गाउँ छिरेका सुरक्षाकर्मीबाट सामुहिक बलत्कारको शिकार बनेकी ४७ वर्षीया गिता (नाम परिवर्तन)ले आफ्नो मानसिक पीडा संगै शारिरीक समस्या कसैलाई भन्न सकिनन्।  

पाठेघर खसेको समस्या श्रीमानलाई समेत सुनाउन लाज मानेका कारण लामो समयसम्म उनी पीडा दबाउन बाध्य भइन्। झरेको पाठेघरमा घाउ समेत देखिन थाले पछि उनलाई बाच्न भन्दा मर्न मन लाग्न थाल्यो।

 ‘दोस्रो बच्चा जन्मेदेखि पाठेघर झर्न थालेको हो। त्यहि पनि श्रीमानले अरु तिन बच्चा जन्माउन बाध्य बनाए।’ सिताले भनिन् ‘दुखै पाएर जीबन सकिने भो। मर्ने बेलामा शिविरमा आएका नर्सले रबरको चुरी राखिदिएपछि अब सजिलो होला भन्ने आश जागेको छ।’

गतिलो उपचारको अभावमा झरेको पाठेघरसंगै लामो समय जीबन चलाएका उनीहरुलाई परको गाउँमा संचालन भएको महिला शिबिरमा स्वास्थ्यकर्मीले पाठेघर अड्याउन रिङ्ग राखिदिए पछि धेरै सजिलो भएको छ। त्यो  रिङ्ग  खस्यो वा कुनै कारण फेर्नु पर्ने भयो भने अर्को शिबिर कुर्न नपरोस भन्ने उनीहरुको चाहाना छ।  

शान्ति, सिता र गिता जस्ता धेरै महिलाहरु आज पनि बाहिर पाठेघर झुण्डाएर दैनिकी चलाउन विवश छन्। सामान्य उपचारले सहज हुने महिलाको स्वास्थ्य जटिल बन्दासम्म पनि उपचार अभावमा रहने गर्दछन्। विकास भनेको सडक र भौतिक पुर्वाधार मात्र हो भन्ने जनप्रतिनिधिहरुको बुझाईका कारण स्वास्थ्य जस्तो संबेदनशिल बिषय जहिल्यै ओझेलमा पर्ने गरेको छ।  

महिलाहरुमा स्वास्थ समस्या धेरै रहेको पश्चिम रुकुममा ३ दिने निशुल्क महिला स्वास्थ शिविर तथा स्वास्थ्य मेला सम्पन्न भएको छ। महिला पुनःस्थापना केन्द्र ओरेक रुकुमको आयोजना र स्थानिय तहको सहकार्यमा बाफिकोट वडा न. ९ झुला आधारभुत स्वास्थ्य केन्द्र, वडा न. १० ठाटी र मुसिकोट ८ घोरखानी आधारभुत स्वास्थ्य केन्द्रमा स्त्री रोग विशेषज्ञ डा. सृजना हमालको टोलीले तिन दिनमा ५ सय ५० बिरामिको स्वास्थ जाँच÷उपचार गर्नुका साथै दुई दर्जन बढि महिलाको पाठेघर अड्याउन रिङ राखिदिएका छन्।  

निशुल्क स्वास्थ्य शिविरमा बिरामी जाच गरेकी डा. सृजना हमाल यहाँका महिलाहरुमा सेतोपानी बग्ने र पाठेघर खस्ने समस्या अत्याधिक रहेको बताउँछिन्। 

‘सानो उमेरमा बिहे गर्ने, धेरै बच्चा जन्माउने र सुत्केरीका समयमा गरुङ्गो भारी बोक्ने गरेका कारण यो समस्या धेरै आएको हो। यहाँ २२/२३ वर्षका महिलाले समेत २÷३ बच्चा जन्माएको पाइयो।’ डा. हमाल थप्छिन ‘धेरैमा पहिलो चरणको पाठेघर खस्न सुरु भएको देखियो। अहिले धेरैलाई रिङ राखिएको छ। तिन तिन महिनामा रवरको रिङ फेर्नु पर्छ। तालिम दियो भने हेल्थपोष्टका कर्मचारीले पनि फेर्न सक्छन्।’  

यतिबेला दुर्गममा महिलाहरुका स्वास्थ्यमा अनेकन समस्याहरु छन्। घर छेउका जनप्रतिनिधि जानकार पनि छन् तर समस्या समाधानमा चासो भने दिने गरेको पाइदैन। बेला बेलामा निशुल्क स्वास्थ्य शिविर चलाउने, पाठेघरको निशुल्क अप्रेशनका लागि सुविधा सम्पन्न ठाउँमा पठाउनका लागि छलफल गर्ने कोहि हुदैन। भर्खरैका दुई चुनावका समयमा भोट माग्न गाउँ छिरेका राजनीतिक नेतृत्व र अघिल्लो कार्यकाल सकाएका जनप्रतिनिधिहरु स्वास्थ्य समस्या बुझ्न गाउँ हिड्ने गरेका छैनन्।

राज्यले शिविर संचालन नगरेरै नियमित दिनु पर्ने आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न नसके पनि समय समयमा दुर्गम गाउँहरुमा यस्ता खालका स्वास्थ्य शिविर संचालन गर्नु पर्ने पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी बताउछन्। ‘सामान्य खर्चमा ठूलो सुविधा दिन सकिने स्वास्थ्य शिविरहरु स्थानीय सरकारले संचालन गर्नु पर्छ। केन्द्र र प्रदेश सरकारले गरेन भन्नु भन्दा पनि आफ्ना मतदातालाई कसरी सजिलो बनाउन सकिन्छ त्यता तिर ध्यान दिनु जरुरी छ।’ केसी भन्छन् ‘घर छेउका स्थानिय सरकारले जनताका आधारभुत आवश्यकता पहिचान गरि समाधान तर्फ कार्यक्रम संचालन गर्नु पर्छ।’

तिन दिन चलेको शिविरमा महिलाहरुको पाठेघर खस्ने समस्या, फिस्टुला, यौन रोग, पाठेघरको मुखको क्यान्सर जाच लगाएतको परिक्षण तथा उपचार गरिएको थियो। पाठेघर झरेर जटिल अवस्थामा पुगेका र फिस्टुलाको समस्यामा रहेका महिलाहरुलाई सरकारी निकाय संगको सहकार्यमा सुविधा सम्पन्न अस्पतालमा लगेर अप्रेसन सेवा प्रदान गरिने ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालले बताइन्। उक्त अवसरमा स्वास्थ्य मेला समेत संचालन गरिएको थियो। मेलामा आएका करिब ७ सय बढि सहभागीले महिला स्वास्थ्य सम्बन्धि जानकारी पाएका थिए।  

प्रकाशित: १५ मंसिर २०७९ १०:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App