१५ चैत्र २०८० बिहीबार
समाज

गाईघाटको पहिचानः चोकमा गाईको मूर्ति

गाईघाट मुख्य चोकमा राखिएको गाईको मूर्ति। तस्विरः महेश्वर

उदयपुर सदरमुकाम गाईघाटको मुख्य चोकमा गाईको प्रतिमा (मूर्ति) प्रतिस्थापन गरिएको छ। त्रियुगा नगरपालिकाले बजारको मुख्य चौरस्तामा बाछोसहितको गाईको प्रतिमा निर्माण गरेको हो।  

पूर्व–पश्चिम मदन भण्डारी लोकमार्ग र उत्तरदक्षिण लाहान–गाईघाट–दिक्तेल सगरमाथा लोकमार्गको संगमस्थलमा गाईको मुर्ति निर्माण गरिएको नगरप्रमुख बसन्त बस्नेतले बताए। गाईघाटको पहिचान झल्काउन तथा स्थानीय चिनारीका लागि यअसघिकै नगर कार्यपालिकाले त्यहाँ गाईको मुर्ति राख्ने प्रक्रिया अघि बढाएको थियो।  

धेरै पहिलेदेखि गाईघाटको चिनारी हुने खालको मूर्ति बजारको कुनै ठाउँमा राख्ने विषयमा बहस हुँदै आएको थियो। तर, कहाँ राख्ने भन्नेबारे टुंगो लागेको थिएन। त्रियुगा नगरपालिकाका संस्थापक नगरप्रमुख लालसेर राईको देहावसान भएपछि भने सो चोकमा उनकै शालिक राख्नुपर्ने आवाज बजारबासीले उठाए। तर, कतिपयबाट विरोध आएपछि सो कुरा विषयान्तर भएर मुख्य चोक रित्तै थियो।  

यसअघिका नगरप्रमुख बलदेव चौधरीले गाईको कि राईको मूर्ति राख्ने भन्ने विषयमा बहस चलाउँदा गाईघाटको चिनारी झल्काउन गाईकै मूर्ति राख्ने निर्णय गराउँदै ठेक्का प्रक्रिया अघि बढाए। चौधरीले आफ्नै कार्यकालमा मूर्ति राख्न चाहे पनि स्थानीय चुनाव नजिकिएकाले संभव भएन। नयाँ मेयर बस्नेतले पहिलाकै निर्णय कार्यान्वयन गर्दै मूर्ति राख्ने काम सम्पन्न गरेका हुन्।

नगरपालिकाले २३ लाख ८ हजार ६ सय ४९ रुपैँयामा लगाएको ठेक्काबाट मूर्ति राख्ने काम भएको तर, अझै काम बाँकी रहेको प्रमुख इनिजनियर निर्मल चौधरीले बताए। सहरी पूर्वाधार शाखा प्रमुख चौधरीका अनुसार सो काम ग्लान इन्फ्राटेक/पिके जेवी उदयपुरले जिम्मा लिएको हो। ५ फिट लामो, ४ फिट उचाईको गाई र आधा सानो आकारको दुध खान खोज्दै गरेको बाछोको मूर्ति १५ फिट उचाईमा राखिएको छ। मूर्ति ४ वटा कङ्क्रिट खम्बा उठाएर ९ मिटर व्यासको ढलानमाथि छ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनले प्रतिमा निर्माण कार्य सकिन बाँकी रहेको बताए। उनले अन्तिम भुक्तानीको प्राविधिक मूल्यांकन पनि आउँन बाँकी रहेको बताउँदै मूर्तिले गाईघाटको चिनारी झल्काउने बताए। हाकिम वनले काम सम्पन्न भएपछि औपचारिक कार्यक्रम गरी मूर्तिको अनावरण गर्ने योजना सुनाए।

प्रकाशित: १५ मंसिर २०७९ ०७:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App