४ वैशाख २०८१ मंगलबार
समाज

धरान उपमहागनरले किन्यो डोजर र रोलर, सडकको मर्मत र निर्माण आफैं गर्ने

धरान उपमहानगरपालिकाले खरिद गरेको डोजर र रोलर मेशिन। तस्बिर: रोहित राई

धरान उपमहागनरपालिकाले एक करोड रुपैयाँ बढी रकम खर्चेर डोजर, रोलर र एउटा ट्याक्टर खरिद गरेको छ।

सडक मर्मत सम्भार गर्न तथा ग्रामिण क्षेत्रमा नयाँ ट्रयाक खोल्न भन्दै उपमहानगरपालिकाले ती मेशिन खरिद गरेको हो। डोजर र ट्याक्टरको लागि गएको नगरसभाले नै बजेट विनियोजन गरेको थियो भने रोलरको पनि आवश्यकता महशुस भएपछि मर्मत कोषको बजेटबाट खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालले जानकारी दिए। मेयर हर्क साम्पाङले एउटा कार्यपालिका बैठकमा आफू चढ्ने गाडी बेचेर रोलर किन्ने घोषणा समेत गरेका थिए। तर, गाडी बेच्न नमिल्ने भएपछि मर्मत कोषको बजेट खर्चेर उपमहानगरपालिकाले रोलर किनेको हो।  

प्रमुख प्रशासकीय अधिकृत रिजालका अनुसार धरानको फोहोरलाई खोला किनारमा डम्पिङ गर्दा, बेला बेला पुर्न र खोला च्यानलिङलगायत काममा सधै डोजर र ट्याक्टर आवश्यक पर्छ। अहिलेसम्म भाडामा चलाइरहँदा धेरै खर्च लाग्ने र समयमा ती मेशिन पनि उपब्ध नहुँदा धेरै समस्या भइरहेको थियो। उनले भने, ‘डोजर र ट्याक्टरको बिषय नगरसभामा नै उठेपछि आवश्यकता छ भन्ने भएर बजेट छुट्टयाइएको थियो। रोलर चै मर्मत कोषबाट खर्च गर्ने गरि खरिद प्रक्रिया अघि बढाएको हो।’

यस्तै, धरानको ग्रामिण क्षेत्रमा बाटो बनाउन र सहरी क्षेत्रमा पनि खाल्डाखुल्डी परेको सडक मर्मत गर्न रोलर आवश्यकता देखिएपछि खरिद गरिएको रिजालले बताए। ‘ठेकेदारको मात्र भर परेर हुँदैन भन्ने नगरप्रमुखको बुझाई भयो। साधन आफ्नै भयो भने खर्च कम हुन्छ, र जनतालाई छिटो काम भएको अनुभूति पनि दिलाउन सकिन्छ, ’उनले भने, ‘बर्खाले अस्तब्यस्त भएको बाटो मेटेरियल हालेपछि आफ्नै साधन हुँदा जतिबेला पनि पेल्न सकियो। खाल्टा टाल्न सकियो।’

उपमहानगरका अनुसार रोलर खरिद गर्न ४८ लाख रुपैयाँको लागत स्टीमेट गरिएको थियो। तर, ई बिडिङमार्फत ४५ लाख ४५ हजार रुपैयाँमा आएको छ। डोजरको लागि ४९ लाख ५० हजार रुपैयाँको लागत स्टीमेट गरिएकोमा ४१ लाख रुपैयाँमा प्राप्त भएको छ भने १९ लाख ५० हजार रुपैयाँ लागत स्टीमेट गरिएको ट्याक्टर १५ लाख १० हजार रुपैयाँमा प्राप्त भएको उपमहानगरपालिकाले जानकारी दिएको छ।  

मेयर हर्कराज राई (साम्पाङ) ले खरिद गरिएको मेशिनहरुलाई अब निर्माण कार्यमा उपयोग गरिने बताए। टेण्डर गरेर ठेकेदरको भर पर्दा विकास निर्माणको काममा धेरै ढिलाई भएकोले आफंै साधनस्रोत सम्पन्न भएर आफैं काम गर्न मेशिन खरिद गरिएको उनले बताए। ‘निर्माण कार्य अब आफैं गछौं। बाटो बनाउने, ट्रयाक खोल्ने, ग्राभेल लगाउने काममा प्रयोग हुन्छ। ठेकका लगाउनै पर्ने भए ठेक्का पनि लगाउछौं’, उनले भने, ‘तर ठेक्का सस्तोमा लाग्ने तर काम गराउन फोन गरेको गरेकै गर्नुपर्ने भएकोले हैरान भइयो। त्यसैले हामी आफैले नै सडक मर्मत, निर्माणको काम गर्ने गरि खरिद गरिएको हो।’

प्रकाशित: १४ मंसिर २०७९ ०५:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App