coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मेलम्ची सुरुङमा चौथोपटक पानी हालियो

फाइल तस्बिर।

मेलम्ची खानेपानी आयोजनाले सोमबारदेखि हेलम्बुको अम्बाथानस्थित हेडवक्र्स (मुहानस्थल) बाट सोमबारदेखि सुरुङमा पानी पठाउन थालेको छ।

अघिल्लो वर्षामा क्षतिग्रस्त हेडवक्र्सबाटै अस्थायी रूपमा सुरुङमा पानी हालिएको हो। सम्भावित बाढीले थप क्षति पुर्‍याउन सक्ने आकलन गर्दै गत जेठ दोस्रो सातातिर सुरुङको मुख बन्द गरेर पानी मेलम्ची खोलामा छाडिएको थियो।

वर्षा सकिएको लामो समयपछि सुरुङको मुखमा थुप्रिएका गेग्रान पन्छाएर साढे २६ किलोमिटर लामो सुरुङ मार्गमा पानी भर्न थालिएको आयोजना साइड डिभिजिनल इन्जिनियर पदमबहादुर कुँवरले बताए। ‘गत बर्खामा बाढीले बिगारेका पहुँच सडक मर्मत र हेडवक्र्समा थुप्रिएका गेग्रान हटाउन १०–१२ दिन लाग्यो। त्यो काम सकिनासाथ सुरुमा पानी भर्ने काम सुरु गरेका हौं’, उनले नागरिकसँग भने।

उनका अनुसार गत असार–साउनको वर्षाले सामान्य गेग्रान थुपार्नेबाहेक हेडवक्र्स र सुरुङमा कुनै क्षति पु¥याएन। हेडवक्र्समा अघिल्लो वर्षाले धेरै क्षति पुर्‍याइसकेको थियो। सम्भावित क्षति रोक्न वर्षा सुरु हुनुअघि नै हेडवक्र्सस्थित सुरुङको मुखमा फलामे पाता ठोकिएको उनले जानकारी दिए।

डिभिजिनल इन्जिनियर कुँवरले प्रतिसेकेन्ड २–३ सय लिटरका दरले मेलम्ची पानी सुरुङमा छाडिएको बताए। उनका अनुसार साढे २६ किमी सुरुङ भरिन १२–१५ दिन लाग्ने अनुमान गरिएको छ। आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले सुरुङमा पानी भरिनासाथ उपत्यकामा मेलम्ची पानी वितरण सुरु हुने बताए। ‘अहिलेका लागि अस्थायी संरचनाबाटै पानी पठाइएको हो’, उनले भने। २०७८ असार १ र साउन मा मेलम्ची खोलामा आएको विनाशकारी बाढीले आयोजनाको मुहानस्थल पुरिएको थियो। बाढीले मुहानस्थलमा ठूलाठुला ढुंगा र बालुवाको लेदोसहित एक लाख ३० हजार घनमिटर गेग्रान थुपारेको थियो। त्यही गेग्रान तीन महिना लगाएर पन्छाएपछि चैत २९ मा सुरुङमा पानी हालिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

अस्थायी संरचना काम लाग्ने भएकैले त्यहींबाट पानी पठान्तरण गरिएको त्यतिबेला आयोजनाले जनाएको थियो। मेलम्ची सुरुङमा पानी हालिएको यो तेस्रोपटक थियो। यसअघि दोस्रोपटक २०७७ फागुन १० गते मेलम्ची पानी सुरुङमा हालिएको थियो। सुरुङ भरिएपछि चैत १७ बाट उपत्यकाबासीले मेलम्ची पानी उपभोग गर्न थालेका थिए। साढे दुई महिना पानी नपिउँदै २०७८ बर्खाको बाढीले आयोजनामा क्षति पुर्‍यायो। त्यसअघि सुरुङमा पानी हालेर परीक्षण भइरहेका बेला मुख्य सुरुङ अडिटको गेट खुलेर दुर्घटना भएको थियो। सो क्रममा चार कर्मचारीले ज्यान गुमाएका थिए।

२०७८ को बाढीको अघिल्लो दिन मात्र सुरुङ परीक्षण गर्न मुहानस्थलको गेट बन्द गरेर पानी मेलम्चीमै छाडिएको थियो। बाढीले थुपारेको गेग्रान हटाउन र हेडवक्र्स सामान्य मर्मत गर्न मात्रै आयोजनाले त्यतिबेला ३६ करोड रूपैयाँ खर्चेको थियो। मेलम्ची बाढी आउँदा स्थायी हेडवक्र्स संरचना निर्माणाधीन नै थियो। छुट्टै अस्थायी संरचनामार्फत पानी पठाइएको थियो।

स्थायी हेडवक्र्स संरचना नबनेकाले यो वर्ष पनि मेलम्ची पानी बर्खाअघि मात्र वितरण हुन सक्ने अवस्था छ। आयोजनाले अहिलेसम्म हेडवक्र्स संरक्षणको काम थालेको छैन। ‘मुहानस्थलमा पहिरै–पहिरो छ’, मुहानस्थलमा रहेका साइड डिभिजनल इन्जिनियर कुँवरले भने। उनका अनुसार आयोजनाले गत जेठदेखि भदौमा सुरुङभित्रको मर्मत–सम्भार भने गरेको छ। हरेक वर्ष यस्तो मर्मत–सम्भार गर्नुपर्ने हुन्छ। स्थायी हेडवक्र्स बनाउनेबारे आयोजना अझै निक्र्योलमा पुग्न सकेको छैन। आयोजनाले स्थायी हेडवक्र्सबारे अध्ययन गर्ने जिम्मेवारी एसियाली विकास बैंक (एडिबी) लाई दिएको छ। एडिबी आयोजनाको मुख्य दाता हो।  

बर्सेनि बाढी–पहिरोले अम्बाथानस्थित हालको हेडवक्र्स जोखिमयुक्त देखिएकाले यसको पुनर्संरचना गर्नुपर्ने बहस नीति निर्माण तहमा उठिरहेको छ।

आयोजनाका प्रवक्ता पन्तले एडिबी टोलीले संरक्षणका उपायद्वारा अम्बाथानस्थित हेडवक्र्स नै सञ्चालनमा ल्याउन सकिने वा अन्यत्रै सार्नुपर्ने विषयमा अध्ययन गरिएको छ। टोलीले गत जुनमा प्रारम्भिक प्रतिवेदन आयोजनालाई पेस गरे पनि विस्तृत प्रतिवेदन दिइसकेको छैन। ‘आयोजनाले एडिबी टोलीबाट डिसेम्बरभित्र अन्तिम प्रतिवेदन प्राप्त गर्ने डेडलाइन पाएको छ’, उनले भने, ‘प्रतिवेदनको सुझावका आधारमा स्थायी हेडवक्र्सबारे निर्णय लिन्छौं।’

हाइलाइट स्थायी हेडवक्र्स संरचना नबनेकाले यो वर्ष पनि मेलम्ची पानी बर्खाअघि मात्र वितरण हुन सक्ने अवस्था छ। आयोजनाले अहिलेसम्म हेडवक्र्स संरक्षणको काम थालेको छैन।  

प्रकाशित: १३ मंसिर २०७९ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App