देशमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले अनावश्यक भिडभाडको वातावरण बने पनि कोरोना संक्रमण दर लगभग शून्यमा झरेको छ। कोरोनाको जोखिमसमेत कम हुँदै गएका बेला हातमा लगाउने स्यानिटाइजर मतदानस्थल र मतदान केन्द्रमा पुर्याउने भन्दै निर्वाचन आयोगबाट ठुलै परिणाममा खरिद गरियो। आयोगले देशभरका साढे २२ हजार मतदान केन्द्रमा निर्वाचन सामग्रीका साथ स्यानिटाइजर पठायो तर कुनै पनि जिल्लामा प्रयोग भएन। कोराना जोखिम नै नभएका बेला स्यानिटाइजर खरिद गरेर लाखौं कमिसन खाने दाउमा यस्तो काम भएको पाइएको छ।
ग्लोबल हेल्थ केयर भारतको उत्पादन रहेको उक्त स्यानिटाइजर डब्लुएचओबाट प्रमाणित उल्लेख भए पनि औषधि व्यवस्था विभागको परीक्षणमा कम गुणस्तरको प्रमाणित भयो। विभागले निर्वाचनमा मतदान हुन जम्मा पाँच दिनअगाडि मात्रै सबै स्यानिटाइजर प्रयोग नगरी फिर्ता गर्न सूचना जारी गरेको छ।
कात्तिक ३० मा जारी सूचनामा ग्लोबल हेल्थ केयर काञ्जपुर कर्नाल भारतबाट उत्पादित जिएचसी हेन्ड स्यानिटाइजर बजारबाट तुरुन्त फिर्ता गर्न भनिएको हो। उक्त स्यानिटाइजरको नमुना परीक्षण गर्दा न्यून गुणस्तरको भएको उल्लेख गर्दै औषधि ऐन २०५५ को दफा १४ बमोजिम बिक्रीवितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न वितरक तथा आयोगलाई विभागले सार्वजनिक सूचनामार्फत निर्देशन दिएको हो। बिक्री र प्रयोग नगर्न विभागले सूचित गरेपछि निर्वाचन आयोगले सबै जिल्लाका निर्वाचन कार्यालयलाई सोहीबमोजिम निर्देशन दियो। त्यसपछि मतदान केन्द्रमा पुगेको स्यानिटाइजर प्रयोगमा आएन।
निर्वाचन आयोगका अनुसार ३ करोडको लागतमा टेन्डर गरी उक्त कम्पनीको स्यानिटाइजर खरिद गरिएको हो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सामानको भुक्तानी भएको छैन। ‘परीक्षण गर्दा त्रुटि भेटिएपछि रकम भुक्तानी गर्ने अवस्था रहन्न। हानिकारक देखिएकाले जिल्लामा पठाइए पनि प्रयोगमा आएन। भुक्तानी नभएकाले आयोगको रकम खेर जान पाएन,’ उनले भने।
परीक्षण गरेपछि मात्रै खरिद गर्नुपर्नेमा उल्टो काम गरे पनि आयोगले आफ्नो गल्ती ढाकछोप गरिरहेको छ। जिल्ला पठाइएको स्यानिटाइजर आयोगले फिर्ता गर्ने र औषधि व्यवस्था विभागले उक्त कम्पनी तथा वितरकलाई आवश्यक कानुनी कारबाही अगाडि बढाउने शर्माले बताए। ‘संक्रमणको जोखिम नभएकाले स्यानिटाइजर नहुँदा पनि निर्वाचन सञ्चालन र व्यवस्थापनमा समस्या भएन। तर कमसल सामान प्रयोग गरी रकम भुक्तानी गर्नबाट आयोग धन्न रोकियो,’ शर्माले भने।
हरेक मतदान केन्द्रमा १० वटाका दरले ५ सय एमएल स्यानिटाइजर पठाइएको थियो। ‘अन्तिम समयमा आएर त्यसको गुणस्तर परीक्षण गर्नु र कम गुणस्तरको खरिद गर्ने दुवैको बदमासी देखियो, राज्यलाई नोक्सान बनाउने नियतले काम गरेको देखियो,’ आयोगका एक कर्मचारीले भने। आर्थिक रूपमा मितव्ययी बनाउने भनेर निर्वाचन आयोगका पदाधिकारीले भनिरहँदा स्यानिटाइजर खरिद कमिसनको चक्करमा भएकाले गम्भीर प्रश्न तेर्सिएको छ।
चुनावी मौकाको फाइदा उठाउँदै कमसल स्यानिटाइजर खरिद गरी लाखौं कमिसन खाने खेलमा यस्तो काम भएको देखिएको छ। कोरोना संक्रमणबाट बच्न भन्दै किनिए पनि त्यसमा कमिसन खाने बदनियत देखिएको हो। कमसल स्यानिटाइजर आयातकर्ता र उत्पादकको मिलेमतो मात्रै होइन, आयोगका कर्मचारीको समेतमा यसमा हात रहेको आशंका छ। यस्तो गम्भीर गल्तीमा आयोग भने चुपचाप छ।
‘निर्वाचन हुनुभन्दा पाँच दिनअगाडि मात्रै कम गुणस्तर भएको थाहा पाइएको भन्दै सामान प्रयोग नगर्न भनियो। बजारबाट अरू स्यानिटाइजर खरिद गर्ने समय नै भएन। कोरोना संक्रमण रोक्ने भनेर सामान किनिए पनि उपयोग नहुनु र रकम मात्रै खर्च हुनुमा आयोगको कमजोरी देखिएको छ,’ आयोगका उच्च अधिकारीले भने।
समयमै परीक्षण नगर्नु औषधि व्यवस्था विभागको पनि बदमासी देखिएको छ। उक्त विभागका महानिर्देशक भरत भट्टराईले आयोगले नै ढिलो गरी नमुना पठाएकाले विभागले पनि परीक्षणमा विभिन्न कारणले तदारुकता देखाउन नसकेको स्वीकार गरे। विभागका प्रवक्ता सन्तोष केसी आयोगले परीक्षण गरेर मात्रै किन्नुपर्नेमा उसकै गल्ती भएको बताए। सन् २०२२ जनवरीमा उत्पादित मिति राखेको उक्त सेनिटाइजरको डिसेम्बर २०२४ मा म्याद सकिने उल्लेख छ।
‘७० प्रतिशत इथानल अल्कोहल हुनुपर्नेमा ६७ प्रतिशत मेथानल देखियो। २ प्रतिशत मात्रै इथानल पाइयो। स्यानिटाइजर न्यून गुणस्तरको र विषालु देखियो। यो प्रयोग गर्दा हातको छाला मोटो बन्दै जाने र क्यान्सर समेत हुने खतरा देखियो। विषालु भएकाले झुकिएर खाए मृत्युसमेत हुन सक्छ,’ प्रवक्ता केसीले भने।
उक्त कमसल स्यानिटाइजर बजारबाट फिर्ता गरी सोको विवरण विभागलाई पेस गर्न सम्बन्धित उद्योग र आयातकर्ताका प्रतिनिधिलाई विभागले भनेको छ। ‘औषधि ऐनअनुरूप ती सामान फिर्ता गरी नष्ट गर्नुपर्ने हुन्छ। प्रयोग गर्दा हानिनोक्सानी भए क्षतिपूर्ति पनि भराइन्छ। कम्पनी र वितरकलाई ऐनअनुरूप मुद्दा पनि चल्नेछ,’ प्रवक्ता केसीले भने।
ढुवानी खर्चमै निर्वाचन सामग्रीका साथमा जिल्ला पुर्याइएको स्यानिटाइजर त्यसै थन्किएको छ। गोरखाका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा कम गुणस्तरको भएको भन्दै निर्वाचन आयोगले नै प्रयोग नगर्न निर्देशन दिएपछि जिल्लामै थन्किएको बताए। ‘निर्वाचनका दिन हरेक मतदान केन्द्र र मतदानस्थलमा प्रयोग गर्ने योजना थियो। एक थोपा पनि प्रयोग भएन,’ उनले भने, ‘कम गुणस्तरको भनेपछि कसैले प्रयोग गर्ने कुरा भएन। कार्यालयमै त्यसै थन्काइराखेका छौं।’
तनहुँ जिल्ला निर्वाचन कार्यालयले पनि यसैगरी स्यानिटाइजर थन्काएको छ। तनहुँ जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले पनि स्यानिटाइजर फिल्डमा नै नपठाएको बताए। ‘आयोगको निर्देशन आएपछि फिल्डमा पठाएनौं, कार्यालयमा पनि हामीले प्रयोग गरेनौं,’ उनले भने। थन्किएका स्यानिटाइजर आयोगलाई नै फिर्ता पठाउन लागिएको उनले बताए।
प्रकाशित: ८ मंसिर २०७९ ०२:४४ बिहीबार