८ वैशाख २०८१ शनिबार
समाज

चेतन माथिको अवचेतन मानवीयता, जस्लाई खाटमुनिबाट तानेर कुटीकुटी मारे

चेतन अयडी। दोस्रो तस्बिर: पटक घाइते पछि उद्दार गरिएका चेतन। तेस्रो तस्बिर: बयालपाटा अस्पतालमा मृत्यु घोषणा पछिको शव। फोटो:परिवारको सहयोगमा

मंसिर ४ मा भएको संघ र प्रदेश सभाको चुनावमा बाजुराका २ जना युवा ज्यान गुमाउन बाध्य भए। एउटै गाउँ, निकटको नाता चेतन अयडी र सन्जीव अयडी दुवै जनाले एउटै दिन संसार छोड्नु पर्यो। चुनावकै कारण चुनावकै दिन दुवै जनाको मृत्यु भयो। सन्जीव अयडी प्रहरीको गोली लागेर मरे। चेतन अयडीलाई स्थानीय आफ्नै आफन्तहरुको समूहले कुटीकुटी मारे।  

त्रिवेणी नगरपालिका ७ स्थित नाटेश्वरी आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान प्रक्रिया बिहान देखिनै विवादीत रह्यो। नेपाली काँग्रेसका कार्यकर्ता बिहानै देखि बुथ कब्जाको रणनीतिमा लागे। नेकपा एमाले निकट कार्यकर्ता चेतन अयडी लगायत त्यसको प्रतिवाद गरिरहे।  

यो पार्टी राजनीतिको श्रृखला मंसिर ४ गतेकै मात्र भने होइन। २०७० सालको दोस्रो संविधान सभाको चुनाव देखि नै चेतन अयडी काँग्रेस कार्यकर्ताको नजरमा थिए। एक अर्का प्रतिको दुश्मनी र आरोप प्रत्यारोपको क्रम २०७४ र २०७९ बैशाख ३० को स्थानीय तह निर्वाचनसम्म आइपुग्दा पनि चलिरह्यो। र अन्तिममा आएर जीवन गुमाउनु पर्यो।  

सन्जीव अयडी प्रहरीको गोली लागेर बुथ केन्द्रमै मारिए। सिंगो सुरक्षा फोर्स र मतपेटीका माथि नै आक्रमण भएपछि प्रहरीले ज्यान सुरक्षाका लागि गोली चलाएको बताएको छ। हतियार समेत खोसेर उल्टै आक्रमण गर्ने अवस्था आएपछि सुरक्षाका लागि चलाएको गोलीबाट सन्जीव अयडीको मृत्यु भएको प्रहरीको दाबी छ।  

तर चेतन अयडीको मृत्यु पृथक र दर्दनाक रह्यो। उनलाई नेपाली काँग्रेसका नेता कार्यकर्ताले लखेटि लेखेटि सुरुमा कुटपीट गरे। पछि ज्यान बचाउन घर भित्रको खाट मुनि लुकेर बसेको अवस्थाबाट बाहिर निकालेर निर्मम तरिकाले कुटपीट गरेर हत्या गरियो।

बिहान देखि नै विवाद थियो, चेतन अयडी लगायतका एमाले नेता युवाहरु काँग्रेसका नेता कार्यकर्ताको नजरमा थिए। उनीहरुले बुथ कब्जा गर्ने नभए सबै फर्जि मत खसाउनेमा बल गरे, तर चेतन अयडीले सुरुमा त्यो हुन दिएनन्। पछि आफू अनुकुल गर्न काँग्रेस समर्थकले अयडी माथि आक्रमण नै गरे।  

मतदान केन्द्रबाटै धपाए र बीच बाटोसम्म पुगेर मरणासन्न हुने गरे कुटपीट गरे। गम्भीर घाइते बनाएर त्रिवेणी ७ को कैलाशमाडौं डाँडा नजिकै रहेको अयडी छेउको खोलामा फाले। यो घटना करिब ५ देखि साढे ५ बजेको बीचमा भएको फोटो तस्वीरको समयले देखाएको छ। लगत्तै मतदान केन्द्रमा प्रहरी र त्यही कुटपीट गर्ने समूहबीचको झडपमा सन्जीव अयडीको प्रहरीको गोली लागेर मृत्यु भएपछि थप आक्रोशित बनेको समूह चेतन अयडीलाई खोज्दै आयो।  

गम्भीर घाइते बनेका अयडी घरमा लुकेका थिए। फेरि आक्रमण गर्न आउने त्रास परिवारसँग थियो। मतदान केन्द्रमै चेतन अयडी, उसका बुबाआम र भाइ मार्न पर्छ, बहिनी, श्रीमती र छोरालाई अलपत्र पार्नु पर्छ भन्ने गरेको आवाज अयडीकै बहिनी सुजाता अयडीले सुनिसकेकी थिइन्।  

तर पनि अन्यन्त्र भाग्ने ठाउँ नै थिए। घर नै सुरक्षित ठानेर उनलाई धान राख्ने कारी कुरु भित्र राखियो, त्यहाँ बस्न असहज भएपछि फेरि खाट मुनी लुकाइयो। चेतन अयडीका भाइ मिलन अयडी समेत घर भित्रै अर्को कोठाको खाटमुनी लुकी बसे।  

बाहिर ताला लगाइयो। त्योबेलासम्म चेतन अयडी खै भन्दै मार्ने उदेश्य सहीत करिब ८ जनाको टिम घरमै पुग्यो। करिब १५ मिनेट सम्म गाली सहीत घर बाहिर आउन भन्यो, नआएपछि घर नजिकै रहेका केही महिलाहरुले भित्र लुकाएर राखेको सूचना दिए र ढोका फोडेर भित्र पसे।  

धेरै बेर खोजे, आफ्नै मान्छे हुन्, किन यस्तो गर्नु हुन्छ भन्दै बहिनी सुजाताले हात जोडिन् र त्यो  समूह बाहिर निस्कीयो, बाहिर निस्के लगत्तै फेरि माथिबाट किन बाहिर नल्याएको जसरी नि बाहिर ल्याउ भनेको आवाज सुनियो र उनीहरु भित्र पसेर खाटमुनिबाट घिसारेर बाहिर ल्याए।  ७२ वर्षकी हजुर आमाले रुदँै कराउँदै केही नगर्न अपिल गरिरहिन्, तर उनीहरुले न हजुरआमाको, न आफन्तको नत बहिनीको कसैको गुहार सुनेनन्। गम्भीर घाइते शरीरमाथि ढुंगा, लाठी, बुट बजारीरहे। बचाउन सुजाताले प्रयास गरिन् झन उनै माथि प्रहार भो र सकिनन्। सँगै रहेका भाइ मिनल अयडीलाई अर्को समूहले खोजीरह्यो, तर उनी भागेर गइसकेको सूचना पछि चेतन अयडी माथि नै प्रहार गरिरहे।  

चेतनलाई बोल्न समेत चेत थिएनन्, निर्जिव बस्तु जस्तै गरि कुटिरहे, जब श्वास फेर्न बन्द भयो, उनको शरीर हलचल हुन रोकियो, अब मर्यो साला एमालेको कुत्ता भन्दै छोडेर गए। त्यो समयसम्म चेतनले पुरै होस् गुमाइसकेका थिए।  

यो करिब साढे ७ बजेभित्रको घटना हो। जुन आक्रमणको भिडियो समेत सुरक्षित छ। प्रहरी प्रशासन र नेताहरुलाई बचाउन फोन गरिन्, तर कतैबाट समयमै पहल भएन। गाउँमै हेलिकप्टर पुग्यो, पहिला नै घाइते भएको बेला उपचारका लागि समेत लिन सुरक्षा निकाय तयार भएन। दोस्रो पटकको कुटाइबाट त ज्यानै गयो।  

दर्जनौंको संख्यामा महिला पुरुष युवाहरु आक्रमण गरिरहेका थिए। कुनै मानवीयता र मानव संवेदना केही भेटिएनन्। पछि ११ बजे केही हुन्छ की भनेर मन बुझाउन गाडी मार्फत बयलगडा अस्पताल लगियो, त्यहाँ डाक्टरले कुटाइबाट पहिला नै मृत्यु भइसकेको भनेर मृत्यु घोषणा गरे।  

प्रहरी प्रशासनको नै असहयोग

सिंगो बुथ कब्जा हुने र नेकपा एमाले कार्यकर्ता माथि आक्रमण हुने कुरा प्रहरी प्रशासनलाई दिउँसो नै खबर गरिएको थियो। मतदान केन्द्रमा रहेका पत्रकार गगन अयडीले समेत प्रमुख जिल्ला अधिकारी र प्रहरी नायव उपरिक्षक दुबै जनालाई विवाद बढ्ने अवस्था छ। थप फोर्स पठाइ दिनु पर्यो, आपसमै झगडा हुने निश्चन भयो, भनेर खबर गरे, तर उनीहरु दुवै जनाले हुन्छ भने तर काम गरेनन्।  

न सुरक्षा फोर्स थप गरे, न मतदान अधिकृतलाई मतदान रोक्न निर्देशन दिए। मतदान रोक्ने विषय आफ्नो क्षेत्रधिकार भित्र पर्दैन भनेर उल्टो आफ्नै बचाउ गरे। यतिसम्मकी घाइते लिन घटना स्थल पुगेको हेलिकप्टरमा समेत गम्भीर अवस्थामा पुगेका चेतन अयडी र प्रहरीको हवल्दार दुवै जनालाई लिन प्रमुख जिल्ला अधिकारी सहीत सुरक्षा निकायबाट भएनन्।  

दाइमाथि आक्रमण गरे घाइते भएपछि उद्दार र उपचारका लागि बहिनी सुजाताले दुई पटक प्रहरीलाई र चिनेका नेताहरुलाई फोन गरिन्। प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीको तर्फबाट कुनै संरक्षण र सुरक्षा दिइएन। भएको सुरक्षा फोर्स मतपेटकी बचाउन लागे, तर मान्छेको ज्यानको सुरक्षा दिन सकेन।  

दोस्रो पटकको आक्रमण लगत्तै रोएरै सुजाताले फेरि फोन गरिन्, गाडी पठाउने कुरा हुन्छ भने तर समयमै पठाएनन्, नेताहरुले समेत फोन गरे, प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीको कार्य कक्षमा बसेको सुरक्षा प्रमुखको टोलीले फोनमा भइहाल्छ भने तर काम समयमै गरेनन्। यतिसम्मकी सुरक्षा टोली समेत घटना स्थल जान नसक्ने भयो, भनेर उल्टै समस्या सुनाए।  

सबैतिरबाट फोन भयो, प्रदेश सभा (ख) का उम्मेदवार एवं एमाले केन्द्रीय सदस्य लालबहादुर थापाको टोली प्रशासन कार्यालयमै २ घण्टा बस्यो, तत्काल गाडी पठाउन गरिएको अनुरोध २ घण्टा पछि मात्रै सम्भव भयो, त्यो बेला रातीको १० बजिसकेको थियो। समयले मात्रै १० बजाएको थिएन, चेतन अयडीको ज्यान बचाउने समयको सुइ पनि बन्द भइसकेको थियो। आफन्तले मृत्युको जिम्मा प्रहरी प्रशासनले लिनु पर्ने माग गरिरहेको छ।  

चेतनको राजनीतिक सफलता माथि प्रहार  

काँग्रेसको गढ मानिएको क्षेत्रमा जन्मिएर अनेरास्ववियुको राजनीति रोजे। राजनीति क्षेत्र रोजेकै समयमा अनेरास्ववियुमा आवद्ध भए र जिल्ला कमिटीको कोषाध्यक्ष हुँदै, राष्ट्रिय परिषद् सदस्यको चुनाव जिते। लगत्तै बाजुरा क्याम्पसको स्ववियु सभापति समेत चुनाव जितेर बने।  

लगत्तै अनेरास्वियुको केन्द्रीय सदस्य र सुदूरपश्चिम विश्व विद्यालय कमिटीको अध्यक्ष समेत बने। उनले छोटो अवधीमै प्राप्त गरेको यही सफलता आफन्त भनिएका काँग्रेसजनलाई सह्यै थिएन, र चेतन अयडी हत्याको जग बनेको आफन्तको दाबी छ।  

कलिलो उमेरमै प्राप्त सफलता धेरैका लागि सह्यै थिएन। उनीहरुले बलियो प्रतिस्पर्धीको रुपमा व्यवहार गरिरहे। तर अयडीले राजनीतिक यात्रा रोकेनन् र रोक्नु पर्ने कारण नै थिएन। बहसमा लागिरहे। नेपाली काँग्रेसको आधार क्षेत्र जस्तै रहेको वडामा संगठन विस्तारलाई तीब्र पारे। त्यही रिस र प्रतिसोधले प्रगति रोक्न नसकेपछि छोराको हत्या गरिएको बुबा गगन अयडीको भनाई छ।

जिल्ला बाहिर बनेको थियो हत्याको पूर्व योजना  

विद्यार्थी नेता चेतन अयडीको हत्या जिल्ला बाहिर बनेको पूर्व योजनाकै कारण भएको परिवारको दाबी छ। २०७० सालकै चुनाव पछि अयडीलाई काँग्रेस निकट स्थानीय अगुवा नेता कार्यकर्ताले सिध्याउनु पर्ने मानसिकता बनाइसकेका आरोप परिवारको छ।  

काठमाडौं, धनगढी जहाँ भएपनि चेतनलाई सिध्याउनु पर्छ भन्ने कुरा परिवारले पहिला पनि सुनेका थिए। धेरै ठुलो हुन पर्दैन, गाउँ समाज एक भएको ठाउँमा अर्को दलको कार्यकर्ता बन्दा राम्रो हुदैन, पहिला देखिनै अयडीलाई धम्कीपूर्ण भाषा चेतन अयडीले नै धेरैपटक सहेर बसेका थिए।  

त्रिवेणी नगरपालिका नेपाली काँग्रेसको पकड क्षेत्र हो। जनयुद्धमा माओवादीबाट प्रभावित क्षेत्र भएपनि सिंगो पालिकामा काँग्रेसकै पकड छ। नौ वटा वडा मध्ये नेकपा एमालेले १ वटा मात्रै जितेको छ। यही अवस्थालाई कायम गर्ने दाउमा काँग्रेस लागिरह्यो। तर चेतन अयडीले संगठनमा पछिल्लो समय केही सुधार गर्ने र जनमत बटुल्ने युवाहरुलाई गोलवद्ध गर्ने कार्यमा सफल भएका थिए।

काँग्रेसको पकड क्षेत्रमा नेकपा एमालेको संगठन बलियो बनाउने र एकाएक प्रगति गर्ने कुरा आफन्त भएपनि उनीहरुलाई स्वीकार्य थिएन। त्यस कारण पनि चेतन अयडीको अन्त्य नै अन्तिम विकल्प ठानेको आरोप आफन्तको छ। २०७९ को स्थानीय चुनावमा समेत त्रिवेणी ७ को साही बुथ काँग्रेस कार्यकर्ताबाट अघोषित कब्जा गरियो। त्यो बेला पनि चेतन अयडीले प्रतिवाद गरे, तर अयडी माथि सामुहीक आक्रमण गर्न सकेनन्।  

उनीहरु अर्को पालो पर्खि बसे। संघ र प्रदेशको चुनावमा पनि जसरी पनि काँग्रेस जिताउनु पर्ने रणनीतिमा लागेका स्थानीय वुद्धिजिवी तथा शिक्षक कर्मचारीहरुकै विरुद्धमा चेतन बुथ कब्जा हुनबाट रोक्न लागे। ढिलो चाडो सिध्याउने पूर्व योजना बनाएका उनीहरुले अन्तिममा मंसिर ४ गतेको चुनावको विवादलाई बाहना बनाए अन्ततः हत्या गरे।  

आश गरिएका युवा नेता  

चेतन अयडी धेरैको आशा भरोसा थिए। विद्यार्थी राजनीतिमा मात्र उचाई थिएन, चेतनको। उनले व्यापार व्यवसाय समेत सञ्चालन गरेका थिए। जिल्लामा पहिलो पटक चलचित्र हल सञ्चालन गरेका अयडी राजनीतिसँगै व्यापारलाई अघि बढाएका थिए।  

घरको जेठो छोरा, आमाबुबा र पछिका बहिनी भाइको अयडीलाई राम्रै साथ थियो। घर परिवारको साथ सहयोगबाट मार्तडीमा स्टार होटलकै झल्को दिने सुविधा सहीतको ग्राण्डीज होटल एण्ड रेष्टुरेन्ट सञ्चालन गरे। भाइलाई पनि व्यापार व्यवसायमा जोडेका अयडी आर्थिक रुपमा पनि समकालिन मध्ये राम्रो प्रगति गर्नेमा पर्दछन्।  

केही नयाँ गरौ, र फरक सोचौ भन्ने मानसिकता बोकेक अयडी वौद्धिक क्षमताका व्यक्तित्व हुन्। हरेक विषयमा बहस गर्न सक्ने, तर्क दिन सक्ने क्षमता अयडीले राख्ने गरेका थिए। विशेष गरि युवाहरुलाई साथमा राख्ने स्वभावका अयडीलाई धेरै युवा पंक्तिको साथ थियो।  

बहुदल पछिको बाजुरामा जन्मिएको नेतृत्व पंक्ति मध्ये तेस्रो युवा अयडीहरुकै उमेर समूहको थियो। ती मध्ये नेकपा एमाले भित्र सिंगो त्रिवेणीको संगठन माथि उठाउन सक्ने र जिल्लाको नेतृत्व हाँक्न सक्ने क्षमता उनमा थियो। जिल्ला तहका शिर्ष नेताहरुले नै उनलाई भविष्यको नेता भन्न थालिसकेका थिए।  

समस्या पर्दा साथ सहयोग गर्न पछि नपर्ने, जोखिम उठाउन सक्ने र लगानी समेत लगाउने सक्ने सामथ्र्य राख्ने अयडीलाई साथ दिने पक्ति नै थियो। धेरैले तेस्रो पुस्ता हाँक्ने नेताहरुको सूचीमै राखेर सम्मान गथ्र्ये। चेतनबाट धेरैले धेरै कुरा र भविष्यको आश गरेका थिए।  

श्रीमती र नाबालक छोराको साहरा गुम्यो  

परिवारका तीन बहिनी र १ भाइ मध्येका जेठा हुन्, चेतन अयडी। उमेरले ३० कटेका उनका एउटा छोरा छ। हत्या गरेर संसार छोडेका अयडीले आफ्नो मृत्युसँगै नाबालक छोरा र श्रीमतिको साहरा गुम्यो।

छोरा र श्रीमतिका लागि मात्र चेतन साहरा होइनन्, सिंगो परिवारका लागि नै अभिभावक थिए। श्रीमती बैंकको जागिर, आफू पेशाले व्यापारी, सेवाले राजनीति सिंगो परिवार नै जमेको देखिन्थे। अरुले समेत मिलेको परिवार र श्रीमती, छोरा प्रति गर्ने माया अनुकरण गर्न लायक थियो, तर त्यो सबै कुरा लुटिसकेको छ।  

चेतन अयडीकी श्रीमती मेनुका भण्डारीले आफ्नो श्रीमान मात्र गुमाएकी छैनन्, छोराले सदाका लागि असल अभिभावक, युवाहरुले आशा भरोसाको भोलिको भविष्य गुमाएको छ। सिंगो जिल्लाले राजनीतिक भविष्य बोकेको सक्षम र योग्य नागरिक अनि नेकपा एमालेले वैचारिक र राजनीतिक रुपमा सफल योद्धा गुमाएको छ।  

हत्यामा संलग्न २२ जनाको नाममा किटानी जाहेरी

चेतन अयडीको हत्यामा सलंग्न २२ जनाको नाममा किटानी जाहेरी दर्ता गरिएको छ। विभत्स हत्या भएको गरेको भन्दै २२ जनाको नाममा जिल्ला प्रहरी कार्यालय बाजुरामा किटानी दिएको आफन्तहरुले बताएका छन्।

त्रिबेणी ७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले चेतन अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको बुझिएको छ। अयडि घर भित्र रहेको बेला घर भित्र बाट तानेर उनलाइ निर्घात कुटपिट गरि हत्या गरिएको छ।

किटानी जोहरी स्थायी शिक्षक देखि काँग्रेसका सक्रिय कार्यकर्ताको नाममा दिइएको छ। संलग्नहरुलाई प्रहरीले नियन्त्रणमा लिन सकेको छैन। त्यसको विरोधमा अनेरास्ववियुले बाजुरा तीनदिन देखि ठप्प पारेको छ।  

यता घटनामा जोडिएका आफन्तहरु दोहोरो झडपमा घाइते भएर उपचारका लागि बाटोमा लैजाँदै गर्दा मृत्यु भएको बताएका छन्। नहुनु पर्ने घटना भयो, दुवै पक्षले आफन्त गुमायौं, तर पूर्व योजनाले नगरेको बताएको छ।

प्रकाशित: ७ मंसिर २०७९ ०८:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App