८ वैशाख २०८१ शनिबार
समाज

दुर्गम क्षेत्रको मतपेटिका ल्याउन हेलिकोप्टर नपठाउँदाको समस्या

उत्तरी ताप्लेजुङका ४ दुर्गम मतदान केन्द्रको मतपेटिका सोमवार मध्यराति वा मंगलवार बिहान सम्ममा मात्र सदरमुकाम फुङलिङ ल्याइने भएको छ।

फक्ताङलुङ गाउँपालिका वडा नं ६ र ७ का क्रमशः ओलाङचुङगोला,याङ्मा,ग्याब्ला र घुन्सा मतदान केन्द्रको मतपेटिका आइपुग्न समय लाग्न भएकोले मतगणनासमा समेत ढिलाई हुने भएको हो। ४ हजार २ सय मिटर उचाईमा रहेको याङ्मा यहाँको सबैभन्दा दुर्गम स्थानमा रहेको मतदान स्थल हो।

मतदान गराउन सदरमुकाम फुङलिङबाट हिंडेको टोली याङ्मामा ४ दिनमा मात्र पुगेको थियो। दुर्गम क्षेत्र याङमामा १२ मत खसेको छ। त्यहाँ ६१ मतदाता थिए। यस्तै २ सय ८४ मतदाता रहेको ओलाङचुङगोलामा ९७ मत खसेको छ। १ सय ६९ जना मतदाता रहेको घुन्सामा ६० मत खसेको छ। ६७ मतदाता रहेको ग्याब्ला मतदान केन्द्रमा २२ मत खसेको छ।

यि सबै मतदान केन्द्रको मतपेटिका यसअघि हेलिकोप्टरबाट ल्याउने भनिएपनि अन्तिम समयमा हेलिकोप्टर आउन नसक्ने जनाउ पाए लगत्तै जिल्ला निर्वाचन व्यवस्थापन समितिले पैदलमार्गमार्फत मतपेटिका ल्याउन सम्वन्धित मतदान अधिकृतलाई भनेको थियो।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) कैलाश राईले याङ्मामा खटिएको मतदान अधिकृतको टोली जोंगिन सम्म आइपुग्न लागेको र क्रमशःओलाङचुङगोलाको टोलीले याङ्माको टोलीलाई जोंगिनमा पर्खिरहेको जानकारी दिए। त्यसपछि दुबै टोली इलाडाँडातर्फ लाग्नेछन्। यता घुन्सा र ग्याब्लाको टोली रानीपुलतर्फ अघि बढेको छ।

उनीहरु त्यहाँ आइपुग्न अझै केहि समय लाग्ने राईले जानकारी दिए। याङ्मा र ओलाङचुङगोलाको टोली इलाडाँडा आइपुगेपछि त्यहाँबाट सवारी साधनमार्फत फुङलिङतर्फ आउने प्रवन्ध गरिएको छ। उता घुन्सा र ग्याब्लाको टोलीका लागि रानीपुल आसपासमा मजवुत सुरक्षा सहित सवारी तयारी हालतमा राखिएको छ।

यहाँ रहेका १ सय २३ मतदान केन्द्रमध्ये यि ४ बाहेक अरु १ सय १९ मतदान केन्द्रको मतपेटिका आइतवार मध्यराति मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइ पुर्याई सकिएको छ। यता लिङतेपको लक्ष्मी मावि मतदानस्थलमा पुनःमतदान हुनुपर्ने माग गर्दै नेकपा एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दर्ता गरेको निवेदन उपर कारवाही नभई मतदान प्रकृया अघि बढाउन नसनिके प्रतिक्रिया दिएको छ।

एमाले सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार योगेशकुमार भट्टराईले त्यहाँ पुनःमतदान नभई मतगणना प्रकृया अघि नबढ्ने आफ्नो बटमलाइनमा कुनै परिवर्तन नभएको जानकारी दिए। ताप्लेजुङमा सबैभन्दा बढी मत मेरिङदेनको लिङतेपमा खसेको छ।

जिल्ला निर्वाचन अधिकारी दिनेश खनालका अनुसार १ हजार १ सय ९० मतदाता रहेकोमा १ हजार २० अर्थात् ८५.७१ प्रतिशत मतदान भएको छ। यसबारेमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले कुनै प्रतिक्रिया दिएको छैन।

प्रकाशित: ५ मंसिर २०७९ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App