coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरखाको ११ केन्द्रमा पुन: मतदानको माग, सुरु भएन मतगणना

गोरखाको ११ वटा मतदान केन्द्रमा पुन मतदानको माग गरिएको छ। सत्ता गठबन्धनले गोरखा क्षेत्र नम्बर १ को चार र २ को सात वटा केन्द्रमा आईतवार भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा धाँदली गरेको आरोप गठबन्धन इतरका दलहरुको छ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपाल लगायतले पुन निर्वाचन हुनुपर्ने माग राखेका हुन्।

गोरखा २ मा पालुङटार १ को स्थानिका आधारभुत विद्यालय, सिरानचोक ८ को परोपकार मावि जौवारी, बारपाक सुलिकोट गाउँपालिकाको सूर्यज्योती मावि, पालुङटार ७ को जीवनज्योती मावि, बारपाक सुलिकोट ४ को हिमालय मावि, दुर्गा मावि रञ्चोक, अजिरकोट ३ को ज्ञानज्योती माविमा धाँदली भएको एमालेका जिल्ला अध्यक्ष प्रेम गुरुङले बताए।

यस्तै निर्वाचन क्षेत्र नम्बर १ को भिमसेन थापा १ को बालकल्याण आधारभुत विद्यालय, बिन्द्रवती मावि मसेल, भिमसेन थापा ८ को भिमसेन आधारभुत विद्यालय र धार्चे ३ को पार्वती आधारभुत विद्यालयमा धाँदलीपूर्ण मतदान भएको एमाले सहितका दलहरुले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ। सोमवार पत्रकार सम्मेलन गर्दै एमाले सहितका दलहरुले यी ठाउँमा उनीहरुले पुन निर्वाचनको माग गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा २ का उम्मेदवार कबिन्द्र बुर्लाकोटीले दलका प्रतिनिधिलाई बोल्न नदिने, मतदाता नआईपुग्दै मत खसालिदिने, नाम रुजु गर्ने नाममा काउन्टर राखेर मतदाता प्रभावित पार्ने काम भएको बताए। ‘निर्वाचनमा जसको शक्ति छ उसले बलमिच्याँई गर्ने गरेको अहिले पनि देखियो’ उनले भने ‘नागरिकलाई स्वच्छ रुपमा भोट हाल्न दिइएन, एकै जनाले १०÷१२ पटक भोट हाले।’ धाँदली भएको बारे थप प्रमाण जुटाएर सार्वजनीक गर्ने उनले बताए।

गोरखा १ मा एमालेका तर्फबाट उम्मेदवार रामशरण बस्नेतले सत्तापक्षबाट निर्वाचनमा अवान्छित गतिविधी भएको बताए। एकलौटी रुपमा केही ठाउँमा गठबन्धनले कब्जा गरेको उनको आरोप छ। ‘ज्यादती पूर्ण निर्वाचन भयो’ उनले भने ‘जसरीपनि परिणाम ल्याउने गरी संविधान र निर्वाचन आचारसंहिता बिपरित चुनाव भयो।’

गोरखामा मत गणना सुरु भएको छैन। उत्तरी गोरखाको मत पेटिका हेलिकप्टरबाट ल्याउँदा केही ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। गोरखा २ मा मत गणना गर्ने ठाउँ तयार नभएकाले ढिला भएको र केहीबेरमा गणना गर्ने गरी सर्वदलीय बैठक डाकिएको निर्वाचन अधिकृत नारद प्रसाद भट्टराईले बताए। एमाले सहितका केही दलले पुन मतदानको माग गरिरहेकाले मतगणना सुरु हुन केही समय लाग्ने संभावना छ।

प्रकाशित: ५ मंसिर २०७९ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App