७ वैशाख २०८१ शुक्रबार
समाज

बैतडी जिप दुर्घटना: मृतक ४ जनाकै सनाखत

मतपेटिका पुर्‍याएर फर्कने क्रममा बैतडीको पाटन नगरपालिका–४ थुममा जिप दुर्घटनामा मृत्यु भएका ४ जनाको सनाखत भएको छ। प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, सोही स्थानमा कार्यरत प्रहरी जवान लोकबहादुर बाठामगर, बिर्खबहादुर बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।  

यस्तै जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रमेश साउदको पनि दुर्घटनामा परी मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। जिपमा सवार जिप चालक बाहेक सबै नेपाल प्रहरी हुन्। ३ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख कमलप्रसाद चौधरीले बताए। दुर्घटनामा परी घाइते ९ जना भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते ५ जनालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी पन्थीले बताए। गम्भिर घाइते प्रहरी हवलदार गणेश खड्का, प्रहरी जवान पुतली खड्का प्रहरी जवान आशा धामी, भानु बिष्ट र जिप चालक देवराम महरलाई हेलिकोप्टर मार्फत नेपालगञ्ज पठाइएको हो।

सोमबार बिहान पाटन नगरपालिका–४ थुममा मतपेटिका सदरमुकाम पु¥याएर फर्कने क्रममा प्रहरी चढेको से१ज ८५४ नम्बरको जिप दुर्घटनामा परेको थियो। प्रहरी जवान भानु बिष्ट, प्रहरी नरेश कठरीया, प्रहरी जवान टिकेन्द्रसिंह ऐरी, सहायक हवलदार गोपालबहादुर पाल, प्रहरी जवान चन्द्रसिंह ठगुन्ना घाइते भएका छन्। उनीहरुको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रकाशित: ५ मंसिर २०७९ ०७:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App