coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

१५ वर्ष यताकै कम मत खस्यो !

सुदूरपश्चिम प्रदेशमा २०६२/०६३ को जन आन्दोलनपछि भएका सबै निर्वाचनमध्ये यसपटक कम मत खसेका छन्। घरमै भएका मतदाता पनि भोट हाल्न नजाँदा यसपटक अपेक्षाकृत मत खस्न सकेन।

धनगढी बजार लगायत सुगम क्षेत्रका मतदान केन्द्रमा विगतका निर्वाचनको तुलनामा यसपटक दिनभर मतदाताको उपस्थिति न्युन देखिन्थ्यो। विगतका निर्वाचनमा बिहानैदेखि मतदान केन्द्रमा मतदान गर्नेको घुइँचो लाग्ने गरेको भए पनि यसपटक भने पातलो उपस्थिति देखिएको थियो।

विगतका निर्वाचनमा सुदूरपश्चिममा ६५ प्रतिशत भन्दा माथि मतदान हुने गरेको भए पनि यसपटक भने कम भएको छ। सुदूरपश्चिम प्रदेशमा करिब ६० प्रतिशत मात्र मतदान भएको बताउँदै प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले भने,‘अघिल्ला निर्वाचनमा भन्दा यो निर्वाचनमा मतदान गर्ने प्रतिशत कम देखिएको छ।

’२०७४ सालको प्रतिनिधि तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ६५ प्रतिशत मत खसेको थियो।' जनआन्दोलनपछिका निर्वाचनमा ६५ प्रतिशत भन्दा माथि मत खस्ने गरेको भए पनि यसपटक कम खसेको उनले बताए।

राजनीतिक दलप्रतिको वितृष्णाका कारण पनि यसपटकको निर्वाचनमा यसपटक अपेक्षाकृत मत नखसेको विश्लेषण गरिएको छ। 

घरमै भएका मतदाता गएनन् मतदान केन्द्रमा

धनगढीको पञ्चोदय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मात्रै चार मिनेटको पैदल दूरीमा घर रहेका मतदाता दिनभरी घरमै थिए। तर, उनी मतदान गर्न गएनन्। मतदान गर्न नगएका एक मतदाताले भने,‘हामीले वर्षौदेखि मतदान गरेर जिताएका नेताले के गरे ?, हाम्रो अवस्था अहिलेसम्म उस्तै छ।’ यी प्रतिनिधिमूलक एक पात्रमात्र हुन्। उनीजस्तै आइतबार कयौँ मतदाता घरमै भएर पनि मतदान केन्द्रमा मत खसाल्न गएनन्।

कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्तले मतदातामा यसपटक रुची र उत्साह नै कम भएकाले मत कम खसेको विश्लेषण गरेका छन्। ‘मौसम, समय सबै अनुकुल रहेकाले बढी मत खस्नु पर्नेमा कम खस्नुको कारण राजनीतिक प्रणालीप्रति जनताको विश्वास घट्नु हो,’ उनले भने,‘लोकतन्त्रका लागि यो राम्रो संकेत होइन।’ उही नेता र जनताको अवस्था परिवर्तन गर्ने भिजन पनि नभएकाले जनतामा निर्वाचनप्रति आकर्षण नदेखिएको उनले बताए।

‘गठबन्धनले पनि मतदातालाई आफूले मन नपरेको चिन्हमा मत हाल्नुपर्ने बाध्यकारी भएकाले पनि मतदाता मतकेन्द्रसम्म पुग्न नचाहेको हुनसक्छ,’ उनले भने। जित्नेले पाँच वर्षमै आफ्नो आर्थिक अवस्था कायापलट गर्ने र मतदाताको अवस्था भने उस्तै रहने भएकाले पनि घरमै बसेर मतदाता मतदान गर्न नगएको स्थानीय युवा दीर्घराज जोशी बताउँछन्। ‘नेपालका राजनीतिक दलका नेताप्रतिको वितृष्णा यो मतदानमा देखियो,’ उनले भने।

प्रकाशित: ४ मंसिर २०७९ १७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App