२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

‘राष्ट्रियता जल्दा तपाईंका राष्ट्रपति कहाँ थिए ?’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुलुकमा गणतन्त्र स्थापनापछि बनेका राष्ट्रपतिहरूको औचित्यमाथि प्रश्न उठाएका छन्।

मंगलबार काठमाडौंको रत्नपार्कमा आयोजित विरोध सभामा गर्जिँदै मिश्रले देश गम्भीर संकटमा फस्दा र राज्यका संयन्त्रहरू असफल हुँदा समेत गणतन्त्रका राष्ट्रपति ‘गुमनाम’ भएको र सेनापतिले अभिभावकत्व लिनुपर्ने विडम्बनापूर्ण अवस्था सिर्जना भएको टिप्पणी गरे।

मिश्रले राज्यका तीन प्रमुख अंग, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकैपटक धर्मराउँदा पनि शितलनिवास मौन बसेको भन्दै आक्रोश पोखे।

‘राष्ट्रियताका तीनवटै खम्बाहरू हल्लिँदा, सर्वोच्च अदालतदेखि सिंहदरबार र संसद भवनमा मात्र होइन, नेपाली राष्ट्रियतामा आगो लाग्दा तपाईंका राष्ट्रपति कहाँ हुनुहुन्थ्यो ?’ मिश्रले प्रश्न गरे, ‘त्यस्तो संकटको बेला राष्ट्रपतिले राष्ट्रिय टेलिभिजनमा आएर देशबासीका नाममा सम्बोधन गर्न सक्नुभएन, अभिभावकत्व दिन सक्नुभएन।’

मिश्रले दलीय भागबन्डामा चुनिएका राष्ट्रपतिहरूले राष्ट्रको संकट टार्न नसकेपछि सेनाले अभिभावकत्व लिनुपर्ने बाध्यात्मक अवस्था आएको जिकिर गरे।

उनले भने, ‘देशको अभिभावकत्व सेना प्रमुखले लिनुपर्ने अवस्था आयो। के भोलि फेरि राष्ट्रिय संकट पर्दा सेनापतिले नै आएर देश चलाओस् भन्ने तपाईंहरूको चाहना हो ?’

प्रकाशित: २३ मंसिर २०८२ १५:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App