नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले आफ्नो पार्टीभित्र नेपाली कांग्रेसमा जस्तो बोल्ने स्वतन्त्रता पनि नरहेको स्वीकार गरेका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै उपाध्यक्ष पाण्डेले इमानदार भएर समीक्षा गर्दा एमालेभित्रको लोकतान्त्रिक अभ्यास र वाक स्वतन्त्रता कांग्रेसको तुलनामा कम रहेको बताएका हुन्।
अन्तर्वार्ताका क्रममा नेपालमा कुन पार्टी विधि र पद्धतिमा चलेको छ भन्ने प्रश्नमा उनले कुनै पनि पार्टी पूर्ण नभएको बताए। सोही क्रममा कांग्रेस र एमालेको तुलना गर्दै उनले एमालेमा बोल्ने स्पेस कम भएको स्वीकार गरे।
‘कांग्रेसमा बोल्न पाइने, तर अन्त (अरू दलमा) बोल्न पनि नपाउने खालका परिस्थिति बनिराछन्,’ पाण्डेले भने।
नागरिक दैनिकका प्रधानसम्पादक गुणराज लुइँटेलले ‘एमालेमा त बोल्न पाइँदैन हैन ?’ भनेर सोधेको प्रतिप्रश्नमा उपाध्यक्ष पाण्डेले भने, ‘हैन एमालेमा पनि बोली त छ। तर पनि एउटा परिस्थिति के छ भने- कांग्रेसकै जस्तो लेभलको (स्वतन्त्रता) छैन, मैले एकदम अनेस्टली (इमानदार भएर) भन्दाखेरिमा।’
बोल्ने स्वतन्त्रतामा कांग्रेस अगाडि देखिए पनि निर्णय प्रक्रियामा भने सबै दल उस्तै रहेको उनको टिप्पणी थियो। ‘अन्ततः निर्णय गर्ने तरिकाको कुरामा कुनै अन्तर छैन,’ उनले भने, ‘तपाईंले भनेजस्तै यहाँ (एमालेमा) अलि सीमित प्रजातन्त्र छ।’
उनले अबको नेतृत्वमा सामूहिक भावना र लोकतान्त्रिक पद्धतिको विकास हुनुपर्नेमा जोड दिए।
प्रकाशित: १८ मंसिर २०८२ ०७:४० बिहीबार





