नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरुलाई उचित जिम्मेवार दिइने बताएका छन् ।
ललितपुर, च्यालसस्थित एमाले केन्द्रीय कार्यालयमा ‘घर फर्क अभियान’का सन्दर्भमा आयोजित भेटघाट कार्यक्रममा उनले विभिन्न करणले पार्टीबाहिर रहेर फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनु नपर्ने बताए ।
महासचिव पोखरेलले पार्टी छोड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्यो भन्दा तलको व्यवहार नहुने बताए ।
उनले भने, ‘कसलाई काँहा र के जिम्मेवारी दिने भन्नेबारेमा पार्टीमा छलफल गरेर महाधिवेशन अगाडि नै टुङ्गो लगाइने छ। विगतको जिम्मेवारी हेरेर कसलाई के जिम्मेवारी दिन उपयुक्त हुन्छ भन्नेबारे छलफल गछौँ ।’
पार्टीले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि, महाधिवेशन आयोजक कमिटी, विभिन्न विषयगत समिति, उपसमितिमा जिम्मेवारी दिने तयारी गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
प्रकाशित: २६ कार्तिक २०८२ २०:२४ बुधबार





