राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विराजभक्त श्रेष्ठले विवेकशील साझा पार्टीसँगको एकतालाई रवि लामिछाने र उज्ज्वल थापाको सपनाको संगमको रूपमा अर्थ्याएका छन्।
आइतबार काठमाडौंमा आयोजित पार्टी एकता घोषणा कार्यक्रमअघि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
नेता श्रेष्ठले यो एकता ऐतिहासिक क्षणको भएको बताए। उनले भने, ‘स्वर्गीय उज्ज्वल दाइले त्यतिखेर मार्गदर्शन गर्नुभएको २१औँ शताब्दीको नेतृत्व र देश कस्तो हुनुपर्छ भन्ने भिजन तथा रवि दाइले सुरु गर्नुभएको अभियान, यी दुई कुरा एउटा संगममा आएर तालमेल मिलेको छ।’
उनले यो एकतालाई देशको दीर्घकालीन हित र जनताको आत्मसम्मानका लागि बजेको कर्णप्रिय संगीत जस्तै भएको टिप्पणी गरे।
सञ्चारकर्मीको जिज्ञासामा श्रेष्ठले आजको दिन आफ्नो अन्तरात्माले दुई जना व्यक्तिलाई विशेष रूपमा सम्झिरहेको बताए।
‘आज म दुई जना मान्छेलाई सम्झिरहेको छु- एक स्वर्गीय उज्ज्वल थापा र अर्को हिरासतमा रहनुभएका रवि दाइ,’ उनले भने, ‘रवि दाइ भइदिएको भए आजको उत्साह अझ हजार गुणा बढी हुन्थ्यो। उहाँको अनुपस्थिति हामी सबैलाई खड्किएको छ।’
उनले हिरासतमा रहेका सभापति लामिछानेलाई सन्देश दिँदै भने, ‘दाइ, हामी सबैले तपाईंलाई एकदमै सम्झेका छौँ। तपाईंले अन्याय र बेथिति विरुद्ध सुरु गर्नुभएको च्याप्टर जारी छ। तपाईं आउन्जेलसम्म यो शक्ति अझ दिगो र दरिलो भएर तयार भएर बस्नेछ।’
उनले ४० लाख नेपालीको हस्ताक्षर र शुभेच्छुकहरूको प्रार्थनाले काम गर्नेमा आफू आशावादी रहेको बताए। ‘बिहीबार-बिहीबार कुर्दाकुर्दै कहिलेकाहीँ यो बिहीबार त होला कि जस्तो लाग्छ, तर हुँदैन,’ उनले भने, ‘तर ढिलोचाँडो न्याय पाइन्छ भन्नेमा हामी आशावादी छौँ।’
उनले सभापति लामिछाने रिहा नभएसम्मका लागि जनयात्रा लगायतका पूर्वघोषित कार्यक्रमहरू स्थगित गरिएको जानकारी सुनाए।
साथै, रास्वपाले ठूलो छाती बनाएर एकता प्रक्रिया अघि बढाएको भन्दै यसले १०-१२ वर्षअघि देखि सुरु भएको सुसंस्कृत राजनीतिको अभियानलाई नयाँ चरणमा प्रवेश गराएको दाबी गरे।
प्रकाशित: १४ मंसिर २०८२ १६:१६ आइतबार





