राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टी बीचको एकता घोषणा सभामा रास्वपा नेतृ डा. तोसिमा कार्कीले विवेकशील अभियानका संस्थापक स्व. उज्ज्वल थापालाई भावुक हुँदै स्मरण गरिन्।
आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा वैकल्पिक राजनीतिको जग बसाल्ने श्रेय उज्ज्वल थापालाई दिइन्। उनले भनिन्, ‘उज्ज्वल दाइ, तपाईंको सपना, साहस र सुसंस्कृत राजनीतिले आज देशलाई नयाँ कोल्टे फेर्न सिकाएको छ।’
विवेकशील साझा दलका संस्थापक नेता उज्ज्वल थापाको २०७८ सालमा ४४ वर्षको अल्पायुमै कोरोना संक्रमणका कारण निधन भएको थियो।
उनै थापाले स्थापना गरेको र हुर्काएको राजनीतिक विचार बोकेको समूहसँग आज रास्वपाको एकीकरण भएको हो।
यस क्षणमा डा. कार्कीले थापाको अभाव खड्किएको महसुस गर्दै यो एकतालाई उनको सपना साकार पार्ने दिशामा अघि बढेको कदमको रूपमा चित्रण गरिन्।
‘आज देशलाई नयाँ राजनीतिक ध्रुवीकरणमा एकत्रित हुन विवेकशील साझा र राष्ट्रिय स्वतन्त्र पार्टीलाई एउटै मञ्चमा उभ्याएको छ,’ कार्कीले भनिन्, ‘तपाईंले सुरु गर्नुभएको सुसंस्कृत राजनीतिले आज देशलाई नयाँ मार्ग देखाइरहेको छ।’
उनले नेपालमा विरोधको शैली बदल्न थापाले खेलेको भूमिकाको प्रशंसा गरिन्।
‘विरोध गर्नका लागि नेपाल बन्द गर्नु पर्दैन, टायर बाल्नु पर्दैन र सार्वजनिक सम्पत्ति तोडफोड गर्नु पर्दैन भनेर उहाँले नै सिकाउनुभयो,’ उनले भनिन्, ‘नेपाल खुला राखेरै पनि आन्दोलन गर्न सकिन्छ भन्ने संस्कारको सुरुवात उहाँबाटै भयो।’
प्रकाशित: १४ मंसिर २०८२ १५:५५ आइतबार





