१ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

सभापतिले अधिवेशन गर्न निर्देशन दिनुभएको छ, उहाँलाई अनावश्यक रूपमा नमुछौं: पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी सभापति शेरबहादुर देउवाले विदेशबाट महाधिवेशन रोक्न निर्देशन दिएको भन्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन्।

उनले सभापति देउवाले विदेश जानुअघि नै अधिवेशनको तयारी गर्न र मिलेर सम्पन्न गर्न स्पष्ट निर्देशन दिएको सुनाए।

बुधबार नागरिक न्युजको डिजिटल कार्यक्रम ‘फ्रन्टलाइन’ मा बोल्दै पौडेलले सभापतिलाई अनावश्यक रूपमा विवादमा तान्ने प्रयास भइरहेको आरोप लगाए।

‘मेरो विचारमा सभापतिज्यूले त्यो ढंगबाट केन्द्रीय कार्यसमितिका गतिविधिहरूलाई हेरिरहनुभएको, रुचि राखिरहनुभएको जस्तो मलाई लाग्दैन,’ पौडेलले भने, ‘उहाँ आफैँ स्वास्थ्य उपचारका निम्ति जानुभएको हो। यदि उहाँलाई रुचि राख्न चाहेको भए त यहीँ बस्नुहुन्थ्यो होला, कार्यवाहक पनि दिनुहुन्नथ्यो होला।’

पौडेलले केही व्यक्तिहरूले ‘सभापतिले भनेर गरेको हो’ भन्दै अनावश्यक दाबी गरेको तर त्यसमा विश्वास गर्न नसकिने बताए। उनका अनुसार, सभापतिले कार्यवाहक तोकेर गइसकेको अवस्थामा उहाँलाई हरेक विषयमा मुछ्नु जरुरी छैन।

‘उहाँले प्रष्ट भन्नुभएको छ, अधिवेशन गर्नुहोला, अधिवेशनको तयारी गर्नुहोला, साथीहरू मिलेर राम्रोसँग अधिवेशन सम्पन्न गर्नुहोला,’ सभापति देउवाको निर्देशन उद्धृत गर्दै पौडेलले भने, ‘त्यसैले उहाँको निर्देशन मानेर हामीले अधिवेशन गरौँ। उहाँलाई पर्खनुपर्ने स्थिति पनि छैन, उहाँले मलाई पर्ख भनेर भन्नुभएको पनि छैन।’

उनले सभापतिलाई ‘ग्रेसफुल एक्जिट’ दिनका लागि पनि निर्वाचनअघि नै नियमित महाधिवेशन गर्नु उपयुक्त हुने तर्क गरे।

पौडेलका अनुसार, निर्वाचनअघि महाधिवेशन गरेमा विशेष महाधिवेशनको माग गरिरहेका पक्षलाई पनि ‘सेफ ल्यान्डिङ’ हुने र पार्टी एकजुट भएर चुनावमा जान सकिने वातावरण बन्नेछ।

उनले सभापतिलाई मुछेर राजनीति नगर्न सबैलाई आग्रह गरे।

प्रकाशित: १९ कार्तिक २०८२ १९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App