राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)मा समाहित भएको विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनाले मिल्न धेरै गाह्रो नहुने कुराको सन्देश प्रवाह भएको दाबी गरेकी छन्। आइतबार दुई पार्टीको एकीकरण घोषणा सभालाई सम्बोधन गर्दै दर्शनले यस्तो दाबी गरेकी हुन्।
‘जेनजी विद्रोहपछि फुटेर, छुट्टाछुट्टै भएर हुँदैन, एक हौँ भनेर अहोरात्र मेहनत गर्ने, सम्पूर्ण समूहसँग कुरा गर्न खोज्ने, कुरा गर्नेमध्येको एक म पनि हुँ,’ दर्शनाले भनिन्। आफूले त्यसमा कोसिस एकदमै धेरै गरिएको उनले बताइन्।
‘कहिले के कुराले नमिल्ने, कहिले के कुराले नमिल्ने। नमिल्ने कुरा प्रकाशमा आउँदैन रैछ,’ उनले भनिन्, ‘तर आज विवेकशील साझा पार्टी र रास्वपा मिल्दै गर्दा खेरी मिल्नका लागि त्यति कठिन पनि रहेन रहेछ भन्ने सन्देश हामीले प्रवाह गर्न खोजेका थियौँ।’
र, त्यो प्रवाह पनि भएको उनले बताइन्। ‘किनभने म, मेरो भन्दा पनि हाम्रो, लोकतन्त्र, हाम्रो देश भन्ने बेला आएको छ,’ दर्शनाले भनिन्। देश नै कठिन अवस्थामा रहेका बेला मेरो भन्नु निकै ‘सेल्फिस’ हुने उनले टिप्पणी गरिन्।
प्रकाशित: १४ मंसिर २०८२ १६:२५ आइतबार





