२४ मंसिर २०८२ बुधबार
image/svg+xml
राजनीति

रवीन्द्रको दाबी- दलहरूले सेनालाई पनि ‘प्रहरीकरण’ गर्ने योजना बुनेका छन्

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पुराना राजनीतिक दलहरूले अब नेपाली सेनालाई पनि प्रहरीकरण गर्ने दाबी गरेका छन्।

मंगलबार काठमाडौंमा राप्रपाले आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै मिश्रले राज्यका सबै अंगलाई पार्टीकरण गरिसकेका दलहरूले अब अन्तिम संस्थाका रूपमा रहेको नेपाली सेनामाथि आँखा लगाएको दाबी गरे।

मिश्रले भने, ‘अदालत, विश्वविद्यालय, कर्मचारीतन्त्र, र मन्दिर व्यवस्थापन समितिसम्म दलीयकरण गरिसके। अब उनीहरूले नेपाली सेनालाई पनि विधिपूर्वक हस्तक्षेप गरेर प्रहरीकरण गर्ने योजना बुनेका छन्।’

उनले यदि सेना पनि प्रहरी संगठनजस्तै राजनीतिक हस्तक्षेपको शिकार भयो भने नेपालको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिए। ‘जुन दिन सेनामा राजनीति छिर्छ, यो देश अफ्रिकाको कुनै गृहयुद्ध फसेको मुलुकजस्तो द्वन्द्वको मैदान बन्नेछ,’ मिश्रले भने।

नयाँ पुस्तालाई सम्बोधन गर्दै मिश्रले चुनाव नै सबै समस्याको हल हो भन्ने भाष्यबाट मुक्त हुन आग्रह गरे।

उनले भने, ‘नवीन समझदारी बेगर चुनावमा गएर फेरि तिनै दल शक्तिमा आए भने जेन्जी भाइबहिनीको भविष्य के हुन्छ ? के यो व्यवस्थाको निरन्तरताले तपाईंहरूको आउँदो ६०–७० वर्ष सुरक्षित हुन्छ ?’

उनले मिसन ८४ वा चुनावले मात्र पात्र फेरिए पनि प्रवृत्ति नफेरिने भन्दै राजासहितको नयाँ समझदारी आवश्यक रहेको जिकिर गरे।

मिश्रले राष्ट्रपतिमाथि पनि प्रश्न उठाउँदै राष्ट्रिय संकटका बेला उनीहरूले अभिभावकत्व ग्रहण गर्न नसकेको आरोप लगाए।

‘देशमा राष्ट्रिय संकट पर्दा, राष्ट्रियताका खम्बाहरू हल्लिँदा तपाईंका राष्ट्रपति कहाँ थिए ? राष्ट्रले अभिभावक खोज्दा सेनापति अघि सर्नुपर्ने अवस्था आयो,’ मिश्रले प्रश्न गरे, ‘के भोलि फेरि देशमा संकट आउँदा सेनापतिले नै अभिभावकत्व लिनुपर्ने तपाईंहरूको चाहना हो ? होइन भने सोच्ने बेला आयो।’

उनले बुल्गेरिया, ग्रीस, अफगानिस्तान लगायतका देशको उदाहरण दिँदै राजसंस्था हटेपछि ती देशहरू कसरी अस्थिरताको भुमरीमा फसे भन्ने कुराको स्मरण गराएका थिए।

प्रकाशित: २३ मंसिर २०८२ १५:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App