२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा ९१ हजार ८३८ मतदाताको प्रारम्भिक सूची सार्वजनिक, सबैभन्दा कम याङ्‍मामा ६२ जना

फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा ताप्लेजुङमा ९१ हजार ८३८ मतदाताको प्रारम्भिक सूची सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज(विपिन) दुलालका अनुसार थपिएका ५ सहित ८० मतदानस्थल र १ सय २८ मतदान केन्द्र कायम भएका छन्।  

दुलालले आयोगबाट २०८२ साल फागुन २० गते १८ वर्ष पूरा भई मतदानका लागि योग्य भएकाहरुको प्रारम्भिक सूची तयार भएको र त्रुटी सच्याउने सहितका कार्य जारी रहेकोले अन्तिम नामावली प्रकाशित हुँदा अहिलेको संख्या केही थपघट हुने सम्भावना औंल्याए ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार कुल मतदातामध्ये प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ५१ हजार ५० र निर्वाचन क्षेत्र नं २ मा ४० हजार ७ सय ८८ मतदाता देखिएका छन् । यसअघि निर्वाचन आयोगले २०८२ साल कात्तिक १६ गते १८ वर्ष पूरा हुने मतदाताको संख्यामध्ये प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा ४९ हजार ४ सय ९७ र निर्वाचन क्षेत्र नं २ मा ३९ हजार ९ सय ९३ रहने अनुमान गरेको थियो ।  

निर्वाचन आयोगले असोज १० गतेदेखि मंसिर ५ गतेसम्म फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने गरी गरेको व्यवस्था गरेको थियो। ताप्लेजुङमा २ हजार ३ सय ४८ मतदाता थपिएको प्रारम्भिक विवरण जिल्ला निर्वाचन कार्यालयले दिएको छ। सो क्रममा १ हजार ८ सय ५६ जनाले फोटो सहितको मतदाता नामावलीमा सोझै नाम दर्ता गराएका थिए भने १ हजार १ सय ४९ जनाले राष्ट्रिय परिचयपत्रको विवरणबाट नाम दर्ताको निवेदन दिएका थिए । राष्ट्रिय परिचयपत्रको विवरणबाट नाम दर्ताका लागि आवेदन दिनेमध्ये दोहोरो र तेहेरोसम्मको निवेदन दर्ता भएकोमा आयोगले उक्त विवरण अद्यावधिक गरेको थियो ।  

जिल्ला निर्वाचन कार्यालयका अनुसार फुङलिङ नगरपालिकाको प्रारम्भिक मतदाता संख्या २० हजार ८९ देखिएको छ । पाथीभरा याङवरक गाउँपालिकाको ९ हजार ९ सय ५५, सिदिङ्वाको ९ हजार ९ सय ३१, सिरिजङ्गाको ११ हजार ८ सय ७५, आठराई त्रिबेणीको ९ हजार ६ सय ७४, फक्ताङलुङको ७ हजार ७ सय १८, मिक्वाखोलाको ७ हजार ९१, मेरिङदेनको ८ हजार ७ सय २५ र मैवाखोलाको ७ हजार ५ सय ८० प्रारम्भिक मतदाता संख्या रहेको छ ।  

प्रारम्भिक सूचीमा सबैभन्दा बढी नाङखोल्याङ र सबैभन्दा कम याङ्मामा

मतदाताको प्रारम्भिक सूची सार्वजनिक हुँदा ताप्लेजुङमा पाथीभरा याङवरक गाउँपालिकाको वडा नं १ स्थित कालिका मावि नाङखोल्याङमा सबैभन्दा बढी मतदाता देखिएका छन् । त्यहाँ २ हजार ६ सय ६४ मतदाता छन् । सरस्वती मावि हाङपाङ मतदान स्थलमा २ हजार ६ सय ४५ मतदाता रहेका छन् । सबैभन्दा कम फक्ताङलुङ गाउँपालिकाको याङ्मा आधारभूत विद्यालयमा ६२ जना र ग्याब्ला आधारभूत विद्यालयमा ६९ जना मतदाता देखिएका छन् ।  

परिवर्तन माग गरिएका मतदानस्थल साविककै कायम

मतदानस्थल तथा मतदान केन्द्र पुनरावलोकन जिल्ला स्तरीय समितिमार्फत दुई मतदानस्थल साविक भन्दा केहि वरपर गर्न निर्वाचन आयोगमा गरिएको सिफारिस आयोगले तत्काललाई साविक अनुसार कायमै हुने संकेत गरेको छ । समितिले फुङलिङ नगरपालिका वडा नं २ स्थित याङलीजुङ आधारभूत बिद्यालयमा रहेको मतदान स्थललाई २ नं वडा कार्यालयमा र फुङलिङ नगरपालिका वडा नं ५ स्थित सामुदायिक भवनमा रहेको मतदान स्थललाई ताप्लेजुङ उद्योग बाणिज्य संघको भवनमा सार्नेगरी आयोगमा सिफारिस गरिएको थियो ।  

सामुदायिक भवन अहिले पुर्ननिर्माणको क्रममा भत्काईएपछि बाणिज्य संघको भवनतर्फ केन्द्रित गरिएको थियो । आयोगले ५ मतदानस्थल थप गर्न गरेको सिफारिस मात्र कार्यान्वयमान लगेको अवस्था देखिएको छ ।  

 

प्रकाशित: २३ मंसिर २०८२ १६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App