नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकले पार्टीको अस्तित्व जोगाउन सभापति गगन थापालाई विगतको इतिहासबाट पाठ सिक्दै हदैसम्म लचिलो बन्न सुझाएका छन्।
पार्टीभित्र चुलिँदै गएको आन्तरिक मतभेद व्यवस्थापन गर्न तत्कालीन नेताद्वय गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाले देखाएको ऐतिहासिक एकताको दृष्टान्त नै अहिलेको संकटको अचुक औषधि भएको लेखकको दाबी छ।
संस्थापनइतर पक्षद्वारा आइतबार धनगढीमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै लेखकले नेतृत्वको कठोरताले पार्टीलाई दुर्घटनातर्फ धकेल्ने चेतावनी दिए।
उनले भने, ‘विगतमा कांग्रेस विभाजन भएर कांग्रेस (प्रजातान्त्रिक) बनेका बेला गिरिजाप्रसाद र शेरबहादुरजीले जुन स्तरको लचकता अपनाएर पार्टी एक गराउनुभयो, अहिलेका सभापति र पदाधिकारीले पनि त्यही संस्कार दोहोर्याउनुपर्छ।’
नेता लेखकले सभापति गगन थापासँग स्पष्ट दुईवटा सर्त राखेका छन्। पहिलो, पार्टीको बृहत्तर एकताका लागि नेतृत्वले दम्भ त्यागेर सबै पक्षलाई समेट्न लचिलो हुनुपर्ने र दोस्रो, निवर्तमान सभापति शेरबहादुर देउवाको लोकतन्त्र र राष्ट्रियताका लागि रहेको ऐतिहासिक योगदानको पार्टीले यथोचित कदर गर्नुपर्ने।
‘कांग्रेस कमजोर हुँदा देशको राष्ट्रियता र लोकतन्त्र नै कमजोर हुन्छ भन्ने तथ्य इतिहासले पुष्टि गरिसकेको छ,’ लेखकले भने, ‘कांग्रेसमा विग्रह आउँदा लोकतन्त्र अपहरित र समाप्त भएको इतिहास छ। त्यसैले १५ औं महाधिवेशनलाई निष्पक्ष र धाँधलीरहित बनाउन अहिलेदेखि नै पार्टी एकढिक्का हुनु अनिवार्य छ।’
प्रकाशित: १० जेष्ठ २०८३ १८:५० आइतबार





