२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
राजनीति

गगन–विश्वमाथि खनिए मोहन: विशेष महाधिवेशनमा आफ्ना लागि माग्दै छन्, युवाका लागि होइन

‘आफ्नो अकर्मण्यता छोपछाप गरेर नेतृत्वमा जम्प गर्ने दाउ मात्रै’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि ‘युवा पुस्ताका लागि भनेर पार्टीभित्र आफू मात्रै युवा रहन खोजेको’ आरोप लगाएका छन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकारसँग कुराकानी गर्दै नेता बस्नेतले महामन्त्रीहरूले विशेष महाधिवेशन पनि युवाका लागि नभएर आफ्ना लागि मागिरहेको दाबी गरे। 

‘युवा पुस्ता भन्ने, आफू मात्र युवा हुने? पुस्तान्तरणको कुरा गर्ने अनि विशेष महाधिवेशन भन्ने?,’ बस्नेतले भने, ‘हाम्रो विधानले विशेष महाधिवेशन भएको खण्डमा केन्द्रीय समितिको मात्रै पदाधिकारी र केन्द्रीय सदस्यको चुनाव हुन्छ। त्यो पनि १४ औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिले मात्रै चुन्न पाइन्छ। भनेपछि विशेष महाधिवेशन नयाँ पुस्ताका लागि छँदै छैन। यो प्रजातान्त्रिक पनि छैन।’ 

अहिले जेन–जी पुस्ताको कुरा पनि धेरै उठिरहेको बेला वडादेखि केन्द्रसम्मै महाधिवेशन गर्नुपर्ने बेला रहेको उनले बताए। त्यो नियमित महाधिवेशनमा मात्रै सम्भव हुने पनि बस्नेतले टिप्पणी गरे। उनले भने, ‘नियमित महाधिवेशनमा मात्रै वडा अधिवेशन, पालिका,  प्रदेश, क्षेत्र, जिल्ला, फेरि प्रदेश, अनि केन्द्रमा चुनाव हुँदा खेरी सबैले अधिवेशनमा भाग लिन पाउँछन्। चार वर्ष अगाडि उमेर नपुगेकाहरूले पनि अहिले उमेर पुगेर भाग लिन पाउँछन्।’ 

सभापति शेरबहादुर देउवाले आफू अब महाधिवेशन नलड्ने भनिरहेको र विधानले पनि नदिने बेलामा महामन्त्रीहरू बकवास गरेको पनि बस्नेतले टिप्पणी गरे। ‘उहाँले भनिराख्नुभएको छ बारम्बार–म चुनाव लड्दिनँ, विधानले पनि दिन्न भनेर भनिराख्नुभएको छ भने सभापतिलाई हत्या गर्ने हिसाबले खुकुरी गर्धनमा हानेर भक्रक्क मार्छु लागेर हस्पिटलमा सुतिराखेको बेलामा यो धेरै कुरा बकवास गरेर हुन्न,’ उनले भने। 

अब नियमित महाधिवेशनमा जानुपर्ने तर त्यसका लागि महामन्त्रीहरू नै तयार नभएको बस्नेतले आरोप लगाए। ‘अझ नियमित महाधिवेशन गर्नका लागि जोजो अहिले विशेष महाधिवेशन भनेर कराइराख्नुभएको छ उसैलाई क्रियाशील सदस्यता छान्ने, व्यवस्थापन र अधिवेशनमा जानका लागि तयारी गर्ने प्रक्रियाको उहाँलाई जिम्मेवार संयोजक बनाएको छ,’ उनले भने। यो कुरा उनले महामन्त्री गगन थापालाई लक्षित गरेर भनेका हुन्। 

‘आफूलाई लागेको जिम्मेवारी पूरा गर्न नसक्ने, नियमित महाधिवेशन गर्नका लागि क्रियाशील सदस्यताको प्रक्रिया नटुङ्ग्याउने, अहिलेसम्म जिल्ला जिल्लाको विवाद यथावत् राख्ने, अनि त्यहाँबाट जम्प गरेर विशेष महाधिवेशन भन्ने?,’ बस्नेतले भने। 

विशेष महाधिवेशनले दुइटा कुरा गलत हुने उनले बताए। उनले भने, ‘एउटा युवा पुस्ताले भाग लिन पाउँदैनन्, दोस्रो आफ्नो अकर्मण्यतालाई छोपछाप गरेर नेतृत्वका लागि जम्प गर्न सकिन्छ कि भन्ने प्रवृत्तिको विकास हुन्छ।’ 

प्रकाशित: २८ आश्विन २०८२ १३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App