२६ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रीहरूको वरीयताक्रम हेरफेर, सुधन पाँचौं र महावीर आठौं स्थानमा

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषद्मा दुई नयाँ मन्त्रीको नियुक्ति र शपथ ग्रहणसँगै मन्त्रीहरूको मर्यादाक्रम हेरफेर गरिएको छ।

राष्ट्रपति कार्यालयले मंगलबार नयाँ मन्त्रीहरूको कार्यविभाजनसहितको संशोधित मर्यादाक्रम सार्वजनिक गरेको हो।

संशोधित मर्यादाक्रमअनुसार गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका सुधन गुरुङ पाँचौं स्थानमा रहेका छन्। उनी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठभन्दा पछाडिको वरीयतामा रहेका छन्।

त्यस्तै, नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आठौं वरीयतामा राखिएको छ। उनी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमभन्दा पछाडिको मर्यादाक्रममा रहनेछन्।

मन्त्रिपरिषद्को नयाँ वरीयताक्रमको शीर्ष स्थानमा प्रधानमन्त्री बालेन शाह रहेका छन् भने दोस्रोमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रहेका छन्।

तेस्रो स्थानमा परराष्ट्रमन्त्री शिशिर खनाल र चौथोमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ रहेका छन्।

यसैगरी, छैटौँ स्थानमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र सातौँमा कानुनमन्त्री सोविता गौतम रहेका छन्। आठौँ स्थानमा रहेका महावीर पुनपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सिता बादी नवौँ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल दशौँ वरीयतामा रहेका छन्।

प्रधानमन्त्री बालेनले अघिल्लो मन्त्रिपरिषद्मा रहेका केही मन्त्रीहरूको जिम्मेवारी यथावत राख्दै रिक्त रहेका र नयाँ गठन गरिएको मन्त्रालयमा नियुक्ति गरेपछि यो हेरफेर भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम मन्त्रिपरिषद् गठन, नियुक्ति र कार्यविभाजन गरी नयाँ मर्यादाक्रम तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नवनियुक्त मन्त्रीहरू सुधन गुरुङ र महावीर पुनले मंगलबार नै शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। मन्त्रिपरिषद्मा हाल १७ जना सदस्य रहेका छन्।

वरीयताक्रमको अन्तिम स्थानमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव रहेका छन्। सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन विज्ञता र राजनीतिक सन्तुलनका आधारमा मर्यादाक्रम तोक्ने गर्छ।

प्रकाशित: २६ जेष्ठ २०८३ १८:०० मंगलबार