जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र आन्दोलनरत पक्षबीच हुन लागेको सम्झौता प्रक्रियाबारे चासो राखेका थिए।
भेटका क्रममा गुरुङले जेनजी आन्दोलनलाई आधिकारिकता र वैधता प्रदान गर्नका लागि सरकारसँगको सम्झौता प्रक्रियालाई तत्काल टुंग्याउनुपर्नेमा जोड दिए।
उनले उक्त सम्झौता शीतलनिवासमा राष्ट्रपतिसमक्ष हस्ताक्षर गरिनुपर्ने प्रस्ताव समेत प्रधानमन्त्रीसमक्ष राखेका छन्।
छलफलका क्रममा गुरुङले आन्दोलनमा सहभागी भएकै कारण प्रहरीले युवाहरूलाई धरपकड गरेको र कानुनी जटिलतामा फसाएको विषयमा प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराए।
‘आन्दोलनमा गएकै कारण कतिपय युवालाई प्रहरीले पक्राउ गरेको छ, उनीहरूसँग अदालतले मागेको धरौटी तिर्ने रकम नहुँदा पुर्पक्षका लागि थुनामा जानुपर्ने बाध्यता सिर्जना भयो,’ गुरुङले गुनासो पोखे।
उनले कानुनी झमेलामा परेका युवाहरूको सहजीकरणका लागि आग्रह गरेका छन्।
प्रकाशित: २३ मंसिर २०८२ १७:०७ मंगलबार





