राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारसँग नवीन सम्झौताका लागि माग गरेको छ।
राजसंस्था, राजनीतिक दल र जेनजी पुस्ताबीच नवीन सहमतिको नेतृत्व प्रधानमन्त्री सुशीला कार्कीले लिनुपर्ने भन्दै सरकारको ध्यानार्कषण गराएको हो।
मंगलबार राजधानीमा राप्रपाद्वारा आयोजित प्रदर्शनी एवं सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले घोषणा गरेको निर्वाचनअघि नै नयाँ समझदारी आवश्यक रहेको बताए। यी तीन पक्षबीचको सहमतिबाट मात्र अघि बढनुपर्ने उनको माग छ।
लिङ्देनले भने, ‘हामीले देश दुर्घटनामा पर्दैछ, राजा र दलबीच नयाँ समझदारी गरौं भन्दा तिमीहरूले हाँसोठट्टामा उडायौ। तर याद राख, यदि तिमीहरू सच्चिएनौ र सुध्रिएनौ भने भाग्नुपर्ने दिन आउँछ।’
अध्यक्ष लिङ्देनले अहिलेको व्यवस्था र संरचना नफेरी २०८४ सालमा वा त्योभन्दा अगाडि गरिने चुनावले देशलाई निकास नदिने जिकिर गरे।
‘यही व्यवस्था र प्रणाली अन्तर्गत चुनाव गर्नु भनेको समस्यालाई पर धकेल्नु मात्र हो,’ लिङ्देनले भने, ‘जेनजीको आन्दोलन र आक्रोश भनेको ८४ को चुनाव ८२ मा गराउन वा एउटा पात्र फेर्नका लागि होइन। यो त देशमा आमूल परिवर्तन र आफ्नै देशमा गरिखाने वातावरणका लागि हो।’
उनले प्रधानमन्त्रीलाई आग्रह गर्दै भने, ‘चुनाव भन्दा अगाडि नै राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच सर्वपक्षीय सम्मेलन गरेर नयाँ समझदारी कायम गरौं।’
प्रकाशित: २३ मंसिर २०८२ १७:२८ मंगलबार



-600x400.jpg)

