धरान उपमहानगरपालिकाका मेयर एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपालका पुराना राजनीतिक दल र तिनका नेताहरूसँग देश बनाउने कुनै भिजन नभएको आरोप लगाएका छन्।
निर्वाचन आयोगमा दल दर्ता भएपछि पहिलो पटक काठमाडौंको सिफल चौरमा आयोजित पार्टीको पहिलो औपचारिक सभालाई सम्बोधन गर्दै साम्पाङले वर्तमान नेतृत्वप्रति आक्रोश पोखेका हुन्।
‘संगठन बिस्तार तथा पार्टी प्रवेश कार्यक्रम’ नाम दिइएको उक्त सभामा बोल्दै उनले देश अहिले अभिभावकविहीन र नेतृत्वविहीन अवस्थामा पुगेको टिप्पणी गरे।
साम्पाङले अहिलेसम्म जनताले चुनेका नेताहरू ‘भिजन विहीन’ र ‘टाइम पास’ गर्ने खालको मात्र भएको बताए।
उनले भने, ‘हामीले अहिलेसम्म कस्ता नेता चुन्यौं भनेर गहिरो समीक्षा गर्ने बेला आएको छ। नेतृत्व भन्नेबित्तिकै भिजन हुनुपर्छ, गन्तव्य थाहा हुनुपर्छ। तर, पुराना नेताहरूलाई आफू कहाँ जाने भन्ने नै थाहा छैन, देशलाई कहाँ पुर्याउँछन् ?’
उनले वर्तमान नेताहरूले विदेशी प्रभुलाई ढोग्ने, अनुदान र ऋण लिने तर त्यसको सदुपयोग नगरी आफ्नै सम्पत्ति जोड्ने काम मात्र गरेको आरोप लगाए।
‘देशको सिमाना कहाँसम्म हो भन्ने थाहा नपाउने, जनताको जिउधनको सुरक्षा गर्न नसक्ने, सहकारी ठगी र बेथिति रोक्न नसक्नेहरू नेता हुन लायक छैनन्,’ साम्पाङले गर्जिए।
अहिलेका युवा र जनतामा निराशा छाउनुको मुख्य कारण नेतृत्वको नालायकीपन भएको बताउँदै साम्पाङले अबको विकल्प ‘श्रम संस्कृति पार्टी’ भएको दाबी गरे। उनले आफ्नो पार्टीसँग देशलाई जरादेखि नै परिवर्तन गर्ने स्पष्ट उपाय र भिजन भएको जिकिर गरे।
‘जनताको दुःख र समस्यालाई आफ्नै समस्या ठान्ने नेतृत्व अबको खाँचो हो,’ उनले भने, ‘अन्तिम विकल्पको रूपमा हामी आएका छौं। हामीसँग देश बनाउने भिजन छ।’
प्रकाशित: २२ मंसिर २०८२ १५:५९ सोमबार





