राष्ट्रिय सभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाले एकैदिनमा छलफल सकाएर पारित गरेको हो।
छलफलका क्रममा राष्ट्रिय सभा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढाउन सरकार कटिबद्ध रहेको बताएका थिए।
सरकारले १०० बुँदे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री वाग्लेले बताए।
छलफलमा सहभागी सांसदहरूले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउँदै सरकारलाई सचेत गराएका थिए।
प्रकाशित: ३१ वैशाख २०८३ १९:२० बिहीबार





