फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली–५को प्रत्यक्षतर्फ नेपाली कांग्रेसको क्षेत्रीय समितिले पूर्व परराष्ट्र मन्त्री डा. डा. आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरेको छ। कांग्रेस कैलाली क्षेत्र नं. ५ को क्षेत्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले आरजुसहित चार जनाको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेर पठाएको छ।
आरजुसँगै सोही क्षेत्रमा २०७९ को प्रतिनिधिसभामा निर्वाचित डिल्लीराज पन्त, कांग्रेसका केन्द्रीय सदस्य एवं धनगढी उपमहानगरपालिकाका पूर्व मेयर नृपबहादुर वड र सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री नरनारायण शाह ‘मनु’को नाम सिफारिस गरिएको क्षेत्रीय कार्यसमितिले जनाएको छ।
सिफारिस भएका चारै जना धनगढीका लागि ‘हेबिवेट’ उम्मेदवार नै मानिन्छन्। कांग्रेस सभापति शेरबहादुर देउवाकी धर्मपत्नी रहेकी आरजु २०७४ मा पहिलो पटक सोही क्षेत्रबाट लडेकी थिइन्। तर, एमालेका नारदमुनि रानासँग पराजित भइन्। त्यसयता उनले धनगढी–५लाई आफ्नो निर्वाचन क्षेत्र मान्दै विकासे काममा बढी प्राथमिकता दिँदै आएकी छन्। तर २०७९ मा प्रत्यक्षतर्फ नलडेर समानुपातिकमा बसेकी थिइन्।
आरजुसमेतकै समर्थनमा त्यहाँ २०७९मा डिल्लीराज पन्त उम्मेदवार बनेका थिए। पन्तले एमालेकै रानालाई पराजित गरेर निर्वाचित भए।
केन्द्रीय सदस्य वड धनगढीमा लामो समय राजनीति गरेका युवा मानिन्छन्। २०७४ मा उनले स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई हराएर मेयर निर्वाचित भएका थिए। मेयर रहँदा धनगढीमा राम्रा काम गरेको विश्लेषण हुन्छ।
तर, २०७९ को स्थानीय तह निर्वाचनमा फेरि स्वतन्त्र लडेका गोपाल हमालसामु उनको प्रभाव कमजोर देखिएको थियो।
अर्का सिफारिसमा परेका आकांक्षी प्रदेश महामन्त्री शाह कैलाली कांग्रेसको राजनीतिका शक्तिशाली खेलाडी मानिन्छन्। कैलाली कांग्रेसको सभापति भइसकेका उनको त्यहाँ पुस्तैनी प्रभाव छ।
यस्तै क्षेत्रीय समितिले समानुपातिक तर्फ केन्द्रीय सदस्यहरू जीवन राना र सुशीला मिश्र भट्टको नाम सिफारिस गरेको छ। सँगै गौरीकुमारी लामा, मनिराम देवल, सुनिता राना, पुष्पा जोशी भट्ट, निपा चोखाल, जागृति बोगटी, टेकबहादुर रैका, प्रमिला लम्साल र नरबहादुर बमको नाम पनि समानुपातिक तर्फका लागि सिफारिस गरएको छ।
प्रकाशित: २३ मंसिर २०८२ १६:१४ मंगलबार





